राजनीति, सरकार र सुशासनको नारा
- श्रावण ११, २०८३
हेटौँडा, ६ साउन । बाग्मती प्रदेशसभाको उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक मङ्गलबार सम्पन्न भयो । बैठकमा नेमकिपाका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुरको चाँगु नगरपालिका बागेश्वरीमा निर्माण सुरु गरिएको रग्बी रङ्गशाला वातावरणीय एवम् सामाजिक दृष्टिकोणले गलत भएको धारणा राख्नुभयो ।
सांसद गोसाईले भन्नुभयो, “नगरकोट बागेश्वरी मल्लकालदेखि हालसम्मकै जलाधार क्षेत्र एवम् पानीको मुहान हो । सो वन क्षेत्र तथा जलाधार क्षेत्रको संरक्षण आवश्यक छ । उपत्यकाकै वातावरणीय महत्व तथा सौन्दर्य विनाश गर्नु गलत हुने भएकोले प्रदेश सरकारले सो कार्यलाई प्रश्रय दिनु दीर्घकालीन दृष्टिले प्रत्युत्पादक हुनेछ । शासक दलकै केही पहुँचवालाको बहुठ्ठीपनका कारण जनताले दुःख पाउने स्थिति आउनु दुर्भाग्यपूर्ण हुनेछ ।”
उहाँले भन्नुभयो, “वातावरण संरक्षण विधेयकमा कुनै पनि जलाधार क्षेत्र या खानेपानीको मुहान भत्किने, बिग्रिने या म्हासिने गरी या प्रदूषित हुने गरी भौतिक संरचना निर्माण गर्न या कुनै पनि गतिविधि गर्न नपाइने गरी रोक लगाउने प्रावधान आवश्यक छ ।”
त्यस विषयमा जवाफ दिँदै वातावरणमन्त्री अरुण नेपालले वन क्षेत्रमा रङ्गशाला निर्माण भइरहेको बारे अध्ययन टोली शीघ्र पठाई जानकारी दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बैठकमा भाग लिँदै सांसद गोसाईले नगरपालिका तथा गाउँपालिकाभित्रको फोहरमैला व्यवस्थापन गर्ने कार्यमा भइरहेको निजीकरण बन्द गरिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “समाजवादउन्मुख’ शब्दावली संविधानमा उल्लेख छ । प्रदेश सरकारको घोषित नीति तथा योजना पनि हो । तर, फोहरमैलामा समेत निजीकरण गर्नु सैद्धान्तिकरूपमा गलत हो । हामी फोहर गर्ने तर सफा गर्न विदेशी गुहार्ने र एनजीओ–आईएनजीओमा भरपर्ने कार्य, यो विरोधाभासपूर्ण हो ।
सांसद गोसाईले वातावरणीय प्रदूषण फैलिनुमा अव्यवस्थित ढङ्गमा बनाइएका वधशाला, अस्पतालजन्य फोहरमैला तथा सामग्री खेर गएका विद्युतीय सामग्री तथा ब्याट्री आदि पनि नयाँ–नयाँ कारण या चुनौती हुन् भन्दै व्यवस्थापनको आवश्यकता जरुरी भइसकेको स्पष्ट पार्नुभयो ।
फोहरमैला व्यवस्थापनमा स्थानीय तहलाई जिम्मेवार बनाउनुपर्ने र निजी क्षेत्रमा भरपर्न नहुने अन्य सांसदले पनि राय राखेपछि वातावरणमन्त्री नेपालले सैद्धान्तिकरूपमा सहमत भएर पनि व्यवस्थापकीरूपमा थुप्रै कमीकमजोरी भएको र क्षमता अभाव भएको बताउनुभयो । सांसद गोसाईले वातावरण संरक्षण विधेयकमा संशोधन पेश गर्नुभयो ।
Leave a Reply