भर्खरै :

ट्रम्प – एक नकारात्मक राष्ट्रपति – २

प्रजग कोरियालाई ध्वस्त गर्ने धम्की
राष्ट्रपति ट्रम्पले १९३ सदस्य राष्ट्र भएको संयुक्त राष्ट्र सङ्घको महासभामा पहिलो पटक सम्बोधन गर्दा धम्कीपूर्ण अभिव्यक्ति दिए, “अमेरिकासँग ठूलो शक्ति र पर्याप्त धैर्य छ, तर ऊ (अमेरिका) आफ्नो र आफ्ना सहयोगीको रक्षा गर्न बाध्य छ । हामीसँग प्रजग कोरियालाई पुरै ध्वस्त गर्ने बाहेक कुनै विकल्प हुनेछैन ।”
सम्बोधनमा प्रजग कोरियाली नेतालाई ‘रकेट म्यान’ को उपमा दिँदै उनी आफू र आफ्नो देशको लागि आत्महत्याको अभियानमा रहेको बताए ।… युक्रेनदेखि दक्षिण चीन सागरसम्म सम्प्रभुताबारेका चुनौतीहरूलाई खारेज गर्ने बताए ।
उनले सिरियामा रहेको तनावको स्थिति हटाउन चाहेको र भेनेजुयलाको सरकारले देशवासीलाई दमन गरेकोमा अमेरिका कारबाही गर्न तयार रहेको बताए ।
(समाचारपत्र, ५ असोज २०७४)
ट्रम्पले किमलाई ‘बाँकी नराख्ने’
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रिपब्लिक दलले किन राष्ट्रपति उम्मेदवार बनाए वा अमेरिकी जनताले उनलाई कुन उद्देश्यले राष्ट्रपति पदमा पु¥याउन मत दिए भन्नेबारे झन्डै हरेक देशका बुद्धिजीवी र सचेत जनतामा छलफलको चर्चा चलेको थियो । निर्वाचनकै बेला उनको झगडालु स्वभाव, मनपरी बोल्ने, व्यापारी अर्थात् राजनैतिक प्राणी होइनन् भन्नेबारे धेरै चर्चा चलेको हो । तर, उनी नै चुनिए । यसकारण राजनीति शास्त्रका विद्यार्थीहरूको निम्ति ट्रम्पको निर्वाचन, उम्मेदवारी र परिणाम स्वयम् एक नसुुल्झिएको विषय बन्यो । तुलनात्मकरूपले ओबामाजस्तो राष्ट्रपति भएको देशमा ट्रम्पजस्ता राजनीतिक व्यक्तिभन्दा खेलाडी, कूटनैतिक भाषाभन्दा खस्रो बोल्ने र अशिष्ट, नम्रभन्दा अहङ्कारी ‘मास्टर’ लाई किन सत्तामा ल्याए ?
न्युयोर्क, सोल र बीबीसीको समाचारअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्र सङ्घीय महासभामा गरेको सम्बोधनमा कोरियाली नेता किम जङ उन र विदेशमन्त्री रि योङ होलाई ‘लामो समय बाँकी नराख्ने’ ‘चेतावनी’ दिए ¤
ट्रम्पको टिप्पणीलाई प्रजग कोरियाका विदेशमन्त्री रिले अमेरिकी राष्ट्रपति ट्रम्प आफैँले ‘आत्मघाती लक्ष्य’ लिएको बताए । ट्रम्पले महासभामा सम्बोधन गर्दा कोरियाली नेता किम जङ उनलाई ‘आत्मघाती लक्ष्यउन्मुख रकेटम्यान’ संज्ञा दिएका थिए ।
ट्रम्पले सम्पूर्ण प्रजग कोरियालाई अपमान गरेको हुँदा मानसिक सन्तुलन गुमाएका अमेरिकी राष्ट्रपतिको पछाडि फर्कनै नसक्ने गल्तीका कारण प्रजग कोरियाली क्षेप्यास्त्र अमेरिकी मूल भूमिमा प्रहार गर्नु अपरिहार्य बनेको छ । रिले भने, “ट्रम्पले उनको भाषणको महँगो मूल्य चुकाउनु पर्नेछ ।”
युद्धक विमानसहितको शक्ति प्रदर्शनले अमेरिका र प्रजग कोरियाबीच तनाव उत्कर्षमा पुगेको छ । प्योङयाङमा अमेरिकीविरोधी ¥यालीको आयोजना गरेको र हजारौँ युवाहरूको सहभागी भएको उक्त प्रदर्शनमा ‘अमेरिका राक्षसको मुख्यालय’ लेखिएको प्ले कार्ड बोकेका थिए । (कान्तिपुर–९ असोज २०७४)
प्रजग कोरियाको आणविक हतियार
अमेरिकी साम्राज्यवादको विरोधमा
अमेरिकामा पहिलेका राष्ट्रपतिहरूले २५ वर्षदेखि प्रजग कोरियासँग वार्ता गरिरहे तर त्यसको नतिजा निस्केन । त्यसकारण, प्रजग कोरियाका नेता किम जङ उनले ‘शक्तिशाली परमाणु विकास गर्ने निर्देशन’ दिएको केसीएन अर्थात् राज्य सञ्चालित समाचार समितिले जनायो ।
जटिल अन्तर्राष्ट्रिय अवस्थामा देशले उत्पादन गरेको आणविक हतियारले अमेरिकी साम्राज्यवादको सम्भावित आणविक चुनौतीबाट कोरियाली प्रायःद्वीप तथा उत्तर–पूर्वी एसियामा शान्ति र सुरक्षा कायम गरेको सम्बोधनको क्रममा किम जङ उनले आणविक विकासमा सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिए ।
देशको आर्थिक र आणविक हतियार विकासलाई समानान्तररूपमा लानु अत्यन्तै सही कदम भएको उनले बताए । (नागरिक–२३ असोज २०७४)
प्रजग कोरियासँग अमेरिकाले सम्बन्ध तोड्नु
उपयुक्त होइन– रुस 
अमेरिकाले प्रजग कोरियाविरुद्ध गरिरहेको गतिविधिबारे विश्वलाई प्रस्ट पार्नुपर्ने रुसको भनाइ थियो । अमेरिकाले प्रजग कोरियासँगको कूटनैतिक व्यापार सम्बन्ध तोड्न विश्वका सम्पूर्ण राष्ट्रलाई आग्रह ग¥यो । प्रजग कोरियाले अन्तरमहादेशीय व्यालिस्टिक मिसाइल परीक्षण गरेको भोलिपल्ट अमेरिकाले यस्तो आग्रह गरेको थियो ।
राष्ट्र सङ्घको सुरक्षा परिषद्लाई सम्बोधन गर्दै राष्ट्र सङ्घका लागि अमेरिकी दूत निक्की हेलीले अमेरिकाले द्वन्द्व नचाहेको तर युद्ध भड्किएमा कोरियाली शासन पूर्णरूपमा ध्वस्त हुने चेतावनी दिइन् । तर, रसियाले सम्बन्ध तोड्नु उपयुक्त होइन भन्ने मत राख्यो भने अमेरिकी दूत हेलीले उत्तरको गतिविधि रोक्न चीनले पहल गर्नुपर्ने बताइन् । (नयाँ पत्रिका, १५ मंसिर २०७४)
प्रजग कोरियाप्रतिको अमेरिकी व्यवहार डाँकुहरूको जस्तो छ
ट्रम्प र उनका विदेश सचिव माइक पोम्पेओ विदेशसँगको व्यवहार र भाषाबारे पर्यवेक्षक र विश्लेषकहरूको आँखामा कूटनैतिकभन्दा हतियार र सैन्य शक्तिको दम्भले मात्तिएका प्रशासक हुन् । हरेक राज्यको आ–आफ्नो दर्शन, संस्कृति, संवेदनशीलता र इतिहास हुन्छ । राज्यहरू ती सबै सिलसिला र आ–आफ्नो अनुभवले नयाँ निर्णयलाई निर्देशित गरेको हुन्छ ।
प्रजग कोरियासँगको अमेरिकी विदेशमन्त्री पोम्पेओको वार्तालाई प्योङयाङले ‘खेदपूर्ण शान्तिवार्ता’ र ‘अमेरिकी परमाणु निःशस्त्रीकरणको माग धम्कीपूर्ण’ भनी स्पष्ट ग¥यो । अमेरिकाले प्रजग कोरियाको आफ्ना सबै परमाणु हतियार नष्ट गर्नुपर्ने एकतर्फी दबाब दिन खोजेको थियो । यसकारण, प्रजग कोरियाली नेता किम जङ उनले अमेरिकी विदेशमन्त्रीलाई भेट दिएनन् । (अन्नपूर्ण, २५ असार २०७५)
अमेरिकी विदेश सचिव माइक पोम्पेओको सर्तलाई प्रजग कोरियाले ‘डाँकुको जस्तो’ भन्थे । प्रतिक्रियाबाट उनको तेस्रो प्योङयाङ भ्रमण असफल भएको थियो । तर, उनले ८ जुलाई २०१८ अर्थात् २४ असार २०७५ मा टोकियोमा भएको पत्रकार भेटघाटमा दुई दिनको वार्ता सकारात्मक र राम्रो विश्वासका साथ भएको बताए ।
उनले प्रजग कोरियाको टिप्पणीप्रति उत्तर दिँदै भने, “यदि हाम्रा अनुरोधहरू ‘डाँकुुहरूको जस्तो’ हुने भए संसार नै एक डाँकु दल हुनेछ ।” (द राइजिङ नेपाल, २५ असार २०७५)
‘ट्रम्पको धम्की कुकुर भुकेजस्तै’ः प्रजग कोरिया
मुखमुखै लाग्ने, जसलाई पनि, जुनसुकै देशलाई चानचुने सम्झेर मनपरी बोल्ने र हेप्ने बानी, धन मत्ताले जसलाई पनि प्वाक्क भन्ने र राष्ट्रपतिको पदअनुसारको वचन नबोल्ने राष्ट्रपति ट्रम्पको धम्कीले र ६०–७० वर्षदेखि शत्रुको व्यवहार गर्दै आएको, कोरिया युद्ध (१९५०–५३) मा लाखौँ कोरियाली जनताको हत्या गरेको, दोस्रो विश्वयुद्धमा खसालेजतिकै बम प्रजग कोरियामा खसालेको, किटाणु र जीवाणुसमेत प्रजग कोरियामा प्रयोग गरेको हुनाले कोरियाली जनतामा आक्रोश फैलिएको थियो ।
प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका एक अधिकारीले संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधनको क्रममा दिएको ‘प्रजग कोरियालाई ध्वस्त पार्न पनि सकिने’ धक्कीलाई मुखभरिको जवाफ दिए ।
कोरियाली राजनीतिज्ञले ‘ट्रम्पको धम्की’ लाई ‘कुकुर भुकेजस्तै’ भएको टिप्पणी गरे ।
ट्रम्पको त्यो धम्कीपछि बोल्दै प्रजग कोरियाली विदेशमन्त्री रि योङ होले उनको भनाइलाई ‘कुकुर भुकेजस्तै’ भएको टिप्पणी गरेका थिए । अमेरिकाको विरोधमा प्रजग कोरियाले आफ्नो परमाणु कार्यक्रम र हतियार विकसित बनाउने कार्यक्रमलाई झनै तीव्ररूपमा अघि बढाइरहेको छ । प्रजग कोरियाली विदेशमन्त्री रिले न्युयोर्कस्थित राष्ट्र सङ्घको मुख्यालय नजिकै संवाददाताहरूसँगको कुराकानीमा भने, “…कुकुर भुकिरहन्छ, काम अघि बढिरहन्छ ।” उनले भने, “आफ्नो धम्कीपछि प्रजग कोरिया डराएर आफ्नो कार्यक्रम रोकोस् भन्ने अमेरिकी सपना कहिल्यै पूरा हुनेछैन ।”
प्रजग कोरियाली नेतालाई रकेट म्यानको संज्ञा दिइएको विषयमा सोधिएको प्रश्नको उत्तरमा विदेशमन्त्री रिले प्रतिक्रियामा ‘अमेरिकी सहयोगीको लागि त्यो विषय अफसोसको विषय भएको उल्लेख’ गरे ।
विशेषज्ञहरूले प्रजग कोरियाली आश्चर्यजनकरूपमा लामो दुरीका मिसाइल र परमाणु हतियार बनाउन तीव्ररूपमा सफलता पाएको उल्लेख गरे । प्रजग कोरियाले हालसम्म छैटौँ परमाणु परीक्षण गरिसकेको छ । प्रजग कोरियाले दक्षिण कोरिया र संरा अमेरिकाको संयुक्त सैन्य अभ्यास र प्योङयाङमाथि राष्ट्र सङ्घको प्रतिबन्धले कुनै असर नपर्ने बरु परमाणु कार्यक्रमलाई थप तीव्ररूपमा अघि बढाउन सहयोग पुग्ने दाबी गरे । (राजधानी, ६ असोज २०७४)
ट्रम्प ‘अन्तर्राष्ट्रिय राजनीतिमा दुष्ट नव प्रवेशी’
इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘अन्तर्राष्ट्रिय राजनीतिमा दुष्ट नव प्रवेशी’ को संज्ञा दिए । संयुक्त राष्ट्रसङ्घको ७२ औँ महासभालाई सम्बोधन गर्ने क्रममा इरानी राष्ट्रपति रुहानीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कडा जवाफ दिँदै दुष्टको संज्ञा दिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले महासभालाई सम्बोधन गर्ने क्रममा इरानलाई दुष्ट शासन सत्ताको सानो समूहको रूपमा चित्रित गरेका थिए । परमाणु कार्यक्रम र अमेरिका तथा इरानबीच सन् २०१५ मा भएको सम्झौताको विषयलाई लिएर ट्रम्पले त्यस्तो बताएका थिए ।
ट्रम्पले परमाणु सम्झौता अमेरिकाको लागि लाजको विषय रहेको बताएका थिए । त्यसको लागि जवाफमा महासभामा सम्बोधन गर्दै रुहानीले आफ्नो देशले पहिले परमाणु सम्झौता उल्लङ्घन नगरेको दाबी गरेका थिए । तर, कसैले उल्लङ्घन गरेमा वा आफ्नो देशलाई हानि गर्न खोजेमा त्यसको जवाफ दिनै रुहानीले चेतावनी दिएका थिए । (ङातापोल एक्सप्रेस, ६ असोज २०७४)
आठ राष्ट्रका नागरिकलाई अमेरिका भ्रमण गर्न प्रतिबन्ध
असोज ९ को एजेन्सीको समाचारअनुसार अमेरिकालाई सुरक्षित बनाउनु राष्ट्रपतिको पहिलो प्राथमिकता भएको हुँदा आतङ्ककारी गतिविधि बढाउन सक्ने राष्ट्रका नागरिकलाई रोक्नु अनिवार्य भएको ट्रम्पले बताए । उनले ९० दिन इरान, लिबिया, सोमालिया, सिरिया र यमनका नागरिकलाई अमेरिका प्रवेश गर्न नपाउने घोषणा गरेका थिए । ९० दिनको अवधिपछि ट्रम्पले थप तीन राष्ट्र प्रजग कोरिया, चाड र भेनेजुयलालाई पनि अमेरिकामा प्रवेश निषेध गरे । (नयाँ पत्रिका, १० असोज २०७४)
पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा क्युवा र अमेरिकाबीच सम्बन्ध विकास भएको थियो । त्यसले दिनको झन्डै १०० देखि २०० उडान मायामीबाट–हवानामा भएको थियो । त्यसमा केही पर्यटकहरू हुन्थे भने धेरै स्वास्थ्य उपचारका पर्यटकहरू हुन्थे । अमेरिकी नागरिकहरू क्युवाको सस्तो स्वास्थ्य सेवाबाट सा¥है प्रभावित थिए भने अरू देशका नागरिकहरू पनि क्युवामा ओइरो लागेको बताइएको थियो ।
संयुक्त राज्य अमेरिकामै क्युवाको राम्रो बन्दोबस्त भएको जनताबीचको प्रचारले ट्रम्प प्रशासनमा खैलाबैला मच्नु स्वाभाविक हो । तर, यस्तो साँचो विषय प्रचार भएका अमेरिकामा समाजवाद राम्रो भन्दै क्युवाको प्रभाव बढ्दै जाने हुँदा केही महिनाअघि रहस्यमय ढङ्गले क्युवामा केही अमेरिकी कूटनीतिज्ञहरू बिरामी भएको निहुँमा असोज दोस्रो सातामा आधा दर्जन कूटनीतिज्ञहरूलाई अमेरिका फिर्ता बोलाइसकेको थियो । त्यसको बदलामा १५ जना क्युवाली कूटनीतिज्ञहरूलाई अमेरिकाले देश निकालाको घोषणा ग¥यो । अमेरिकी आरोप र निर्णयलाई क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिग्युजले ‘अस्वीकार’ गरे ।
क्युवाली विदेशमन्त्री ब्रुनो रोड्रिग्युजले अमेरिकी कूटनीतिज्ञहरूलाई कुनै प्रकारको हमला गरेको प्रमाण अमेरिकाले दिन नसकेको, सुरक्षा दिन नसकेको आरोप झूटा हो र बिरामी कूटनीतिहरू क्युवाका चिकित्सकहरूसँग उपचार गर्न नगएको बताए । यसप्रकार ट्रम्प प्रशासनले जानाजान हवाना र वाशिङ्गटनबीच तिक्तता बढाएको आरोपप्रति क्युवा क्रुद्ध हुनु स्वाभाविक हो । (नयाँ पत्रिका १९ असोज २०७४)
ट्रम्पको ट्वीटले बेलायतमा हङ्गामा
अमेरिका र बेलायत निकट सहयोगी राष्ट्र हुन् र उनीहरूबीच विशेष सम्बन्ध छ । ट्रम्प राष्ट्रपति पदमा निर्वाचित भएपछि अमेरिकामा भ्रमण गर्ने पहिलो विदेशी नेता प्रम थेरेसा मे नै थिइन् । ‘ब्रिटिश फस्ट’ नामको एक दक्षिणपन्थी समूहले मुस्लिमविरोधी तीनवटा उत्तेजक भिडियोलाई ट्वीट गरेको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गरी बेलायती समुदायमा द्वन्द्व पैदा गर्ने राष्ट्रपतिलाई बेलायतमा भव्य स्वागत गर्न नहुने (रातो कार्पेट बिछ्याउन नहुने) पूर्वमन्त्री वाइभिटी कुपरले बताए । साथै, अधिकांश सांसदले संसद्मा स्वीकार गरिसकेको प्रस्तावित भ्रमण रद्द गर्नुपर्ने माग गरे ।
बेलायती प्रधानमन्त्री थेरेसा मेका प्रवक्ताले राष्ट्रपति ट्रम्पले गलत कार्य गरेको बताएपछि थेरेसा मेले पनि आलोचना गर्दा ट्रम्पले उनलाई जातिवादविरूद्ध केन्द्रित हुुन आग्रह गरे । ट्रम्पको ट्वीटले दुई देशको सम्बन्ध चिसिने स्थितिमा पनि उनले हिंसा मच्चाइरहेका अतिवादी मुस्लिम समूहप्रति होस पु¥याउन भने ।
त्यसबारे बेलायती सांसदहरूले ट्रम्पको कडा आलोचना गर्दै प्रधानमन्त्री मेलाई ट्रम्पको राजकीय भ्रमण रद्द गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री थेरेसा मेले ट्रम्पको ट्वीटर एकाउन्ट डिलिट गर्ने विश्वास गर्दै ‘संसार बस्नलायक उपयुक्त स्थान हुने’ एक टोली
(दक्षिणपन्थी) को सांसदले भने । राष्ट्रपतिको जिम्मेवारीलाई नबुझी साधारण नागरिकले जस्तो अरूको देशको आन्तरिक मामिलामा बोल्ने अशिष्टताका कारण ट्रम्प अनेक पटक विवादमा तानिए । (नयाँ पत्रिका –१५ मंसिर २०७४)
ट्रम्पद्वारा जेरुसेलमलाई राजधानीको मान्यता
– विश्वभर निन्दा
वासिङटन संरा अमेरिकी राष्ट्रपति ट्रम्पले जेरूसेलमलाई इजरायलको राजधानीको रूपमा अमेरिकाले मान्यता दिएको घोषणा गरे । त्यसको विरोधमा प्यालेस्टिनी महिलाहरूले मात्र विरोध गरेको होइन अमेरिकाको परम्परागत गठबन्धन राष्ट्रहरू साउदी अरबले राष्ट्रपति ट्रम्पको घोषणालाई अप्रमाणित र गैर–जिम्मेवारीपूर्ण बतायो । फ्रान्स र बेलायतले ट्रम्पको त्यस निर्णयलाई समर्थन नगर्ने बताए ।
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्वासले ट्रम्पको घोषणा अत्यन्त दुःखदायी बताउँदै अब अमेरिका शान्तिको पक्षमा नभएको बताए । गाजा क्षेत्रका जनताका प्रदर्शनहरूमा संरा अमेरिका र इजरायलको झन्डा प्रदर्शनकारीहरूले जलाएका थिए । प्यालेस्टिनी इस्लामिक हमास समूहले बीबीसीको समाचारअनुसार नयाँ आन्दोलन र विद्रोहको घोषणा ग¥यो ।
प्यालेस्टिनी राष्ट्रपति अब्वासले संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद् र अरब लिगले राष्ट्र सङ्घको सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्न माग गरे । (नागरिक, २२ मंसिर २०७४)

Leave a Reply

Your email address will not be published. Required fields are marked *