भर्खरै :

महामारी रोक्न नसक्दा सरकारविरोधी प्रदर्शन

जेरुसेलम, २६ जुलाई । नोबेल कोरोना भाइरस महामारी रोकथाममा सरकारले प्रभावकारी भूमिका नखेलेको विरोधमा इजरायलका विभिन्न सहरमा सरकारविरोधी प्रदर्शनहरू भएका छन् । जेरुसेलम, तेल अभिभलगायत सबैजसो सहरमा आयोजित विरोध प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्यहुको राजीनामा माग गरेका छन् । जेरुसेलममा प्रदर्शनकारीहरूले नेतान्यहुको घरअगाडि नै प्रदर्शन गरेका थिए । उनीहरूले भ्रष्टाचारको विरोधमा प्लेकार्डहरू बोकेका थिए । प्रधानमन्त्रीमाथि जनवरीमा लागेको घूसखोरी, ठगी र विश्वासको सङ्कटका मुद्दालाई सङ्केत गर्दै उनीहरूले त्यस्ता प्लेकार्ड बोकेका थिए । नेतान्यहुले आफूमाथिका अभियोग अस्वीकार गर्दै आएका छन् ।
“भ्रष्टाचारबाट हामी वाक्कदिक्क भइसकेका छौँ”, प्रदर्शनकारीहरूले बोकेका प्लेकार्डमा लेखिएको थियो । केही प्लेकार्डमा लेखिएको थियो–नैतिकता खोइ ? मूल्यमान्यता खोइ ?
प्रदर्शनकारीहरूले यसै साता पारित एउटा कानुनको पनि विरोध गरेका थिए । सो कानुनले सन् २०२१ सम्मको लागि भाइरसको सङ्क्रमणविरुद्ध लड्न सरकारलाई विशेष अधिकार प्रदान गरेको छ ।
सुरुमा नोबेल कोरोना रोकथाम र नियन्त्रणमा इजरायलको प्रयासको सर्वत्र प्रशंसा गरिएको थियो । तर, अप्रिलको अन्त्यबाट विभिन्न क्षेत्रमा लगाइएका निषेध र रोक फुकुवा गरेपछि सङ्क्रमण बढ्न थालेपछि सरकारको विरोध हुँदै आएको छ ।
पछिल्ला सातामा इजरायलमा सङ्क्रमण दर दैनिक एक हजारभन्दा बढी पुगेको थियो । त्यसपछि सरकार बाध्य भएर केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । बार, रात्रीकालीन क्लब र व्यायामशाला खोल्न सरकारले रोक लगाएको छ ।
शनिबार तेलअभिभ सहरमा हजारौं प्रदर्शनकारीहरूले सरकारको विरोधमा प्रदर्शन गरेका थिए ।
भाइरस नियन्त्रणमा सरकारको कमजोर प्रयासबाट इजरायली जनता निराश भएका छन् । महामारीले त्यहाँको अर्थतन्त्रमा पनि गम्भीर प्रभाव पारेको छ । बेरोजगारी दर बढेको छ । परिवारको आम्दानी घटेको छ । सरकारले त्यस्ता समस्या समाधानको निम्ति पुग्दो प्रयास नगरेको इजरायली जनताको आरोप छ ।
इजरायलको बेरोजगारी दर फेब्रुअरीबाट अप्रिलसम्ममा ३.४ प्रतिशतले बढेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *