संविधान बहुसङ्ख्यक जनताको हक हितमा हुनुपर्ने
- आश्विन ५, २०८३
लकडाउनको औपचारिक समाप्तिसँगै काठमाडौँ उपत्यकालगायत देशभर सार्वजनिक सवारी साधन चल्न थालेका छन् । सरकारले सामाजिक दुरी र अन्य सावधानीका उपाय अवलम्बन गरी सार्वजनिक सवारी साधन चलाउन खुला गरेको हो । तर, व्यवहारमा भने सार्वजनिक सवारी साधन सञ्चालनमा त्यस्ता कुनै सावधानीका उपाय उतारिएको छैन । यसले सङ्क्रामक कोभिड–१९ को महामारी भयावह बन्ने सम्भावना बढाएको छ ।
विभिन्न देशका अनुभव हेर्दा सुरूमा कोभिड–१९ नियन्त्रित भए पनि समयान्तरमा सावधानीका उपाय खुकुलो गर्दा भयावह रूप लिएका छन् । इजरायल, ब्राजिल र बेलायत यसका केही दृष्टान्त हुन् । ती देशको अनुभवले सङ्क्रमणको सङ्ख्या कम भएको भन्दै सावधानीका उपाय थोरैमात्र खुकुलो बनाउँदा महामारीले बिस्फोट रूप लिएको देखिन्छ । सङ्क्रमणको तह सामान्य भएको भन्दै खुला गरिएका क्षेत्र नै सङ्क्रमणको लागि मलिलो माटो बनेको देखिन्छ । त्यसकारण लगातार सावधानीका उपाय नअपनाउँदा भविष्यमा सङ्क्रमण दर बढ्नसक्छ ।
नेपालको सार्वजनिक यातायातको अव्यवस्थाबारे हामी सबै विदित्तै छौँ । महामारीअघि सार्वजनिक यातायात क्षेत्रमा रहेका बेथितिबारे बरोबर चर्चा भएकै थियो । चार महिनासम्म गोदाममा थन्काइएका सवारी साधन सडकमा गुड्न थालेका छन् । कदाचित् हामीले अहिले पनि महामारीअघिकै गल्ती सार्वजनिक यातायातका साधनमा दोहो¥याए हामीसँग भविष्यमा पछुताउनुबाहेक अर्को विकल्प हुनेछैन ।
सार्वजनिक यातायातमा पालना गर्न भनिएका सावधानीका उपायको कडा पालनामा यातायात व्यवसायी र यातायात मजदुरहरूले सबभन्दा महत्वपूर्ण भूमिका खेल्नुपर्छ । महामारी नियन्त्रण सरकार वा प्रहरीको लागि गर्ने होइन, हाम्रै जीवनको लागि ती नियमको पालना गर्न जरूरी छ । यातायात मजदुरहरू पनि अहिले जोखिम क्षेत्रमा छन् । सावधानीका उपायमा यातायात मजदुरहरूले ध्यान नदिने हो भने यसको शिकार उनीहरूमात्र होइन, सिङ्गो समाज नै बन्नुपर्ने हुनसक्छ । प्रश्न यतिबेला नाफा र नोक्सानको होइन । केही पैसा बढी कमाउने लोभले आफू र सिङ्गो समाज नै रोगी बन्नुपर्ने अवस्था कसैले निम्त्याउनु हुन्न । सार्वजनिक सवारी साधनभित्र पनि आपसी दुरी कायम गर्ने, यात्रु र यातायात मजदुरले मास्कको प्रयोग गर्ने, ह्यान्ड स्यानिटाइजर र व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग र ज्वरोको मापनजस्ता आधारभूत अनुशासनको पालना सबैबाट हुन आवश्यक छ ।
हिजोका दिनमा सार्वजनिक यातायातमा यात्रु गुन्द्रुक कोचेजस्तै कोचिने गलत व्यवहारलाई आगामी दिनमा पनि निरन्तरता दिँदा त्यसको परिणाम हिजोभन्दा फरक र भयावह बन्नेछ । अब सार्वजनिक यातायातमा स्वास्थ्य सुरक्षालाई ध्यान दिएर आपसी दुरी कायम गरी यात्रा गर्नुलाई नै ‘न्यु नर्मल’ को रूपमा स्वीकार्नुपर्छ ।
राज्यका सम्बन्धित निकाय ट्राफिक प्रहरीले सार्वजनिक यातायातका साधनमा सावधानीका उपायको अभ्यासको निम्ति अग्रसरता देखाउनुपर्छ । सञ्चारमाध्यमले सावधानीका उपाय पालना गर्ने विषयमा जनतालाई सचेत बनाउन भूमिका खेल्नुपर्छ । चार महिना लामो लकडाउनले जसोतसो नियन्त्रणमा राखेको महामारीलाई अहिले सार्वजनिक क्षेत्रको उचित व्यवस्थामा कमजोरी गर्दा महामारीले अप्ठ्यारो मोड लिनसक्छ ।
सार्वजनिक जीवनलाई हिजोजस्तै नसोचौँ । कोभिड–१९ को महामारीले संसारको वास्तविकतासँगै हाम्रो दैनिक सार्वजनिक जीवनमा पनि केही परिवर्तनका डोब छोडेका छन् । यसलाई अङ्गीकार गरौँ ।
Leave a Reply