नयाँ रौनक
कौलले जहाजमा भनेको कुरा सही भयो । अर्को दिनको टाइम्स अफ इन्डिया र स्टेट्सम्यान दैनिकले कौललाई सरकारले चिनियाँहरूलाई थागलाबाट हटाउन विशेष सुरक्षाबलको नेतृत्व सुम्पिएको सगौरव लेखेका थिए । टाइम्स अफ इन्डियाले त उनलाई विलक्षण साहस र उत्साह भएका सैनिक भनेर प्रशंसा गरेको थियो । कौल र उनका साथीहरूले अखबारका संवाददातासँग यस विषयमा कुराकानी पनि गरेका थिए । जबकि कौलको नियुक्ति र नयाँ कोरको गठन अति गोप्य राखिनुपर्ने विषय थियो । रक्षा मन्त्रालयले अझ खुलारूपमा नयाँ कोर निर्माण नियमितरूपमा गरिएको र कुनै विशेष सुरक्षाबल नबनाइएको बतायो । बरु सेनाले छिट्टै चिनियाँहरूलाई नेफाबाट खेद्ने अचाक्ली आशा घटाउन मन्त्रालयले केही पनि गरेन ।

निकै जटिल भूगोलमा साँघुरो सडक छिचोल्दै भारतीय सिपाहींँ । तस्वीरः इन्डिया टीभी
अक्टोबर ४ मा कौल र उनका साथी अफिसरहरू तेजपुर पुगे । उनलाई भेट्न पूर्वी कमान्डका जनरल सेन आएका थिए । ओहोदाले सेनमाथि भए पनि व्यवहारमा कौल नै सर्वेसर्वा थिए । नेहरूले विशेष अपरेसन जिम्मा सुम्पेर उनलाई यहाँ पठाएका थिए र दिल्लीसँग उनको सीधा सम्बन्ध थियो । यसको अर्थ पूर्वी कमान्ड र सेन किनारा लागेका थिए । यहाँ आएलगत्तै कौलले आफूले कमाण्डको जिम्मा लिने बताए । तर, यसबेलासम्म पनि कोर ४ ले आकार पाइसकेको थिएन । उमराव सिंहले कोर ३३ बाट समस्याबारे जानकार केही अफिसर दिने प्रस्ताव गरे । यसलाई कौलले सीधै अस्वीकार गरे । यसबाट कोर ४ खालि अपरेसन लेगहर्न पूरा गर्न बनाइएको थियो । कौलले ब्रिगेड ७ को नेतृत्व गर्नुपर्ने थियो र काम सकेर दिल्ली फर्किनुपथ्र्यो । काम सकिएपछि कोर ४ भङ्ग हुने थियो वा नयाँ कमान्डरको मातहत रहने थियो ।
असन्तोष
सेन र उमरावबीच सम्बन्ध चिसिएको थियो । उमराव र कौल भने सेनाका सुरुआती दिनदेखि नै साथी थिए । उमरावले कौललाई अपरेसन लेगहर्न यति चाँडै कार्यान्वयन गर्न नसकिने बताए । कौलले सुनेको नसुनै गरे । यसबीच नेफामा एउटा पैदल बिग्रेड थपिएको थियो । त्यसलाई तीन बटालियनमा टुक्राएर विभिन्न ठाउँमा छरियो । गुप्तचरका मलिकले सेनाको नक्साका आधारमा सैनिक टुकडीहरू खटाइरहेका थिए । कुनै निश्चित सैनिक योजनाबिना नै यसो गरिएको थियो । जनरल सेनको ठाडो आदेशमा दुई बटालियन सेना थागला क्षेत्रमा जाँदै थिए । एउटा गोर्खा राइफल्स थियो र अर्को राजपुत २ थियो । यी दुवै बटालियनले नेफामा ३ वर्ष लगातार काम गरेका थिए र अहिले आराम गर्ने समयमा तिनलाई यता ब्रिगेड ७ मा खटाइएको थियो र लम्पु जान भनिएको थियो । गाडी दिराङ जोङसम्म मात्र जान्थ्यो । त्यहाँबाट राजपुतहरू हिँड्दै लम्पु पुगे । लगातार पानी परिरहेको थियो र उनीहरूले खालि सुतीको पातलो बर्दी लगाएका थिए । सेप्टेम्बर २४ सम्म उनीहरू लम्पु पुगे । त्यसैगरी २ दिनपछि गोर्खा राइफल्स पनि लम्पु पुग्यो । थकानले उनीहरू लखतरान भएका थिए र उनीहरूसँग हलुका हतियारमात्र थिए । यसरी लम्पुमा ३ बटालियन सेना जम्मा भएका थिए । ब्रिगेडियर डाल्भीले नाम्का चूमा पञ्जाबीहरूलाई सघाउन एउटा राजपुत कम्पनी पठाए ।
नेफाभरि सेनाको स्थिति यसप्रकार थियो । नाम्का चूमा पञ्जाब ९ बटालियन र राजपुत २ को एउटा कम्पनी थियो । साथै त्यहाँ मध्यम मेसिनगनसहितको एक पल्टन सेना थियो । लम्पुमा बिग्रेड ७ को हेडक्वाटर थियो । त्यहाँ राजपुत २ का दुइटा कम्पनी र गोर्खा राइफल्स थियो । साथै एउटा टुकडी मोर्टारको र एउटा मेसिनगनको कम्पनी थियो । केही इन्जिनियर पनि थिए । त्यहाँ अर्को एक पैदल बटालियन थपिँदै थियो । तवाङमा सिख १ र गढवाल ४ गरी दुई पैदल बटालियन थिए । बिग्रेड ७ बाहिरिएपछि त्यहाँ यी बटालियन आर्टिलरी ब्रिगेड ४ मुनि तैनाथ थिए । उनीहरूसँग केही बन्दुक र मोर्टार थिए । बाँकी नेफाभरि पैदल बिग्रेड ५ मुनि पाँचवटा बटालियन थिए । तिनीहरू समग्र नेफाभरि छरिएकोले शक्ति कमजोर थियो ।
नाम्का चूमा चारवटा पैदल कम्पनीहरूलाई खोलाको ७ माइल लम्बात्रि फैलाइएको थियो । दायाँ पुछारदेखि बायाँ पुछारसम्म पुग्न ३ दिन हिँड्नुपथ्र्यो । जनरल सेनले अक्टोबरको सुरुमै पश्चिमको साङले कब्जा गर्ने आदेश दिए । डाल्भी र उमराव सिंहले साङले कब्जा गर्न हतारो गरेमा चिनियाँहरू चनाखो हुने बताएका थिए । तर, सेनले उनीहरूका कुरा नसुनिकनै पञ्जाबीहरूको एउटा कम्पनीलाई साङले पठाए । त्यहाँ पुग्न अर्को २ दिन लाग्थ्यो । उमराव सिंहका कुरा लत्याएर सेनले १५ दिनको रसद मात्र जम्मा गर्ने आदेश दिए । सिंहले यसको विरोध गरे । त्यसपछि उनलाई नागाल्यान्ड र पूर्वी पाकिस्तानको जिम्मा दिइयो ।
अक्टोबर ४ मा सेन, कौल र सिंहबीच तेजपुरमा भेट्दा यता जनरल प्रसाद डाल्भीलाई भेट्न लम्पु पुगेका थिए । डाल्भीले आफूहरूले सिफारिस गरेको योजनाको बारेमा सोधे । जवाफमा प्रसादले भने, “हेर तिम्रो योजनामा कसैको रूचि छैन । तिनीहरूको चासो खालि चिनियाँहरूलाई खेद्ने आक्रमणको दिनमा छ ।” (हाम्रो जोड– सं.) त्यसपछि उनले उमरावको ठाउँमा कौललाई ल्याएको समाचारले रुष्ट भएका डाल्भीले भने, “माथिल्ला अफिसरहरूमा रातमा हिँड्ने चोरहरूमा जस्तै थोरै स्वाभिमान छ । हामी कोसँग डराइरहेका छौँ ? चिनियाँहरूसँग वा आफ्नै उच्च कमान्डरहरूसँग ?”
कार्यक्षेत्रमा कौल
अपरेसन लेगहर्न पूरा नगरी नफर्किने बताएका कौल अर्को दिन लम्पु पुगे । त्यहाँ उनी प्रसादलाई भेट्न चाहन्थे । तर, प्रसाद नाम्का चूतिर गइसकेका थिए । लम्पुमा साँझपख कौलले ब्रिगेडियर डाल्भीका एक अफिसरलाई भेटे । कौलको रवैया भोग्ने उनी यस क्षेत्रका पहिलो अफिसर थिए । उनले सो ब्रिगेडले दिल्लीको आदेश मान्न आनाकानी गरेको र आदेश पालन गर्न ढिलासुस्ती देखाउने हरेकलाई बर्खास्त गरिनेछ भनी हकारे र लम्पुमा रहेको टुकडीलाई अर्को बिहान थागला क्षेत्रमा जान निर्देशन दिए । नाम्का चूमा ब्रिगेडलाई पुग्ने रसद नभएको अफिसरको जवाफलाई ठाडै नकार्दै कौलले साङधरमा टनका टन सामग्रीहरू खसालिरहेको बताए । वास्तवमा मौसमको गडबडीका कारण ५ दिनदेखि त्यहाँ सामान पु¥याइएको थिएन । अफिसरले साङधरमा खसालिएकामध्ये ३० प्रतिशत सामग्री मात्र तल ओसारिएको बताउँदा कड्किँदै कौलले आदेश दिए, “ओसार नत्र भोकै मर ।” यसरी अक्टोबर ६ को बिहान गोर्खाली र राजपुतहरू नाम्का चूतिर लागे । उनीहरू सुतीकै बर्दीमा थिए । सबैलाई एकएक कम्बल दिइएको थियो । हातमा हलुका हतियार थियो । उनीहरू कार्पो ला १ भञ्ज्याङ हुँदै चढेर साङधरको बाटो ओर्लिरहेका थिए ।

सन् १९६२ को चीन–भारत युद्धमा हतियार बोकेको गाडी कठिन मार्गमा तान्दै भारतीय सिपाहींँ । तस्वीरः इन्डिया डिफेन्स रिभ्यु
१६००० फिट उकालो र १४५०० फिट ओरालो हिँड्दा गलेका केही सिपाहीँहरू बाटोमै मरेका थिए । (हाम्रो जोड– सं.)
सेरखिममा कौलका लागि रातारात हेलिप्याड बनाइएको थियो । त्यहाँ ओर्लेर उनले जनरल प्रसादलाई भेटे । प्रसाद र उमराव सिंहबाट थाहा पाएका सूचना समावेश गरेर अक्टोबर ६ मा कौलले सैन्य हेडक्वाटरमा लामो सन्देश पठाए । सन्देशमा उनले आफूले भोग्नुपरेका समस्याहरू उल्लेख गरेका थिए । साथै उनले चिनियाँहरूको स्थिति र उनीहरूसँग भएका ‘खतरनाक’ हतियारका बारेमा लेखेका थिए । त्यसैअनुरूप आफूले भारतीय सेना जम्मा पारिरहेको र अक्टोबर १० मा अपरेसन सुरु गर्न जुटेको जानकारी गराएका थिए । त्यसबेलासम्म थागलापारी एक रेजिमेन्ट (२ भारतीय बटालियनबराबर) सेना रहेको सूचना आएको थियो । यसकारण कौलले स्थितिलाई काबुमा राख्न हवाई सेना परिचालन गर्नुपर्ने राय दिएका थिए । अक्टोबर १० उमराव सिंहले प्रस्ताव गरेको समय थियो । तर, यसको लागि आवश्यक सरसाधनको जोहो गर्नु निर्णायक हुन्थ्यो । कौलले समय उहीँ लिए पनि आधार तयार गर्नेतिर भने ध्यान दिएनन् । कौलसँग ४ दिनमात्र बाँकी थियो । त्यसैले उनी नाम्का चूतिर लागे । तर, त्यहाँ हेलिकप्टर ओर्लिने ठाउँ थिएन । त्यसैले उनी र उनका साथीहरू अक्टोबर ६ तारिखमा सखारै हाथुङलाको बाटो हिँडे । उनी र उनका सिपाहीँहरू उचाइमा अभ्यस्त थिएनन् । त्यसैले केही समय हिँडेपछि उनी एक गठिलो तिब्बती भरियाको बुईँ चढे । स्याँस्याँ गर्दै भञ्ज्याङ पार गरिरहेका सिपाहीहरूले आफ्ना कोर कमान्डरलाई भरियाले बोकेको हेरिरहे ।
विवेकशून्य जुवाडे
अक्टोबर ७ मा दिउँसो कौल ढोला चौकी पुगे । नाम्का चू उर्लिरहेको थियो । दुन जङ्गलले ढाकिएको थियो । खोलाको किनारबाट भारततिर ४÷५ सय मिटर जमिन उठेको थियो । त्यसलगत्तै जमिन हाथुङला डाँडातिर अग्लिएको थियो । त्यसैगरी दुनको तल्लो भागबाट सामान ओराल्ने साङधर ४ हजार फिटमाथि डाँडाको थाप्लोमा थियो । खोलापारि चिनियाँहरू रहेको स्थानतिरको भाग अझ साँघुरो र थागलाको उठान झन् भिरालो थियो । एक ठाउँमा भने ९० मिटरजति फराकिलो किनार थियो । यसको नाम थियो सेङजोङ । यो ठाउँ ढोला चौकीभन्दा पारिपट्टि थियो । डाल्भीको योजनामा पहिलो आक्रमण त्यहीँ गर्नुपर्ने थियो ।
चिनियाँहरूको सङ्ख्या ठुलो थियो । उनीहरूले सजिलै जङ्गल फाँडेर बलिया बङ्करलगायतका सैनिक जोरजाम गरेका थिए । यता भारतसँग भने गतिला औजार पनि थिएनन् । भारतीय टुकडीले जमिन खन्ने औजारले मुढा काटेको देखेर चिनियाँ सिपाहीहरूले जिस्क्याएका थिए । अपरेसन गरिनुपर्ने स्थानको अवलोकन गरेपछि साँझतिर कौलले सिधै दिल्लीस्थित हेडक्वाटरलाई अर्को सन्देश पठाए । पत्रको लम्बाइका कारण त्यसलाई मेसिनबाट पठाउन ८ घण्टा लाग्यो र अति प्राथमिकता दिँदा पनि सन्देश दिल्ली पुग्न ३ दिन लाग्यो । सन्देशमा कौलले नाक्मा चूका समस्याहरू लेखेका थिए – रासन र लुगाका समस्या । तीन वटा बटालियनमध्ये दुई बटालियनका सिपाहीँ त गर्मीयामकै बर्दीमा थिए । १५ सय फिटको उचाइमा प्रत्येकलाई एउटा कम्बल र खुला आकाशमुनिको बास, यी सबैबारे उनले लेखेका थिए । तर, यो स्थिति आफ्नै आदेशका कारण उत्पन्न भएको कुरा भने उल्लेख गरिएको थिएन । वास्तवमा पहिलेदेखि नै नाम्का चूबाट आएका जानकारीलाई कौलले आफ्नो भाषामा टिपाएका मात्र थिए । उनले लेखेका थिए, “यी सबै समस्याहरू छँदाछँदै पनि मैले सरकार र हजुर (जनरल थापर) बाट पाएका निर्देशन पालन गर्न सम्पूर्ण सम्भव कदम चालेको छु । आगामी अपरेसनको सुरुआती चरण सफल भए पनि मैले जोड दिनैपर्छ चिनियाँहरूले हामीले कब्जा गरेको स्थानबाट हामीलाई हटाउन बलियो प्रत्याक्रमण गर्ने नै छन् । यसको सामना गर्न मसँग स्रोतसाधन छैन र यसकारण यहाँको अपरेसनको महत्वका आधारमा समस्त सैन्य र हवाई साधनहरू अहिलेदेखि नै स्थितिलाई हाम्रो पक्षमा ल्याउन केन्द्रित गर्न सिफारिस गर्छु ।”
कौलले अपरेसन नसकिँदासम्म ब्रिगेड ७ सँगै रहने बताएका थिए । चिनियाँहरूले जवाफी कारबाही गर्नेछैनन् भन्ने विचार अक्करमा परेको थियो । यसअघिसम्म युद्ध लड्न नचाहने अफिसरहरूले भनेका चिनियाँ शक्ति, तिनका हातहतियार, तिनीहरूको थपिन सक्ने क्षमता कौलले आफ्नै आँखाले देखेका थिए । चिनियाँहरूले यी कुरा लुकाउन पनि चाहेका थिएनन् । तैपनि कुनै आवश्यक तयारीबिना अक्टोबर १० सम्ममा अपरेसन पूरा गर्ने विचारमा कौल टाँसिएका थिए । हुन त उनको सन्देशबाटै विपत्तिको गन्ध थाहा पाउन सकिन्थ्यो । चीनले प्रत्याक्रमण गर्ने उनले स्पष्ट देखेका थिए । कौललाई यहाँ पठाउन केन्द्रमा ‘सैन्य र हवाई साधन छैनन्’ भन्ने थाहा थियो । साथै हवाई सहयोग यहाँ काम लाग्दैन भन्ने पनि थाहा थियो । केही गरी अपरेसन पूरा नभएमा यो सन्देश पठाएर कौलले हेडक्वाटर र सरकारलाई आफूले सचेत गराएकै थिएँ भन्ने बाटो राखे ।
अक्टोबर ७ मै कौलले सैन्य हेडक्वाटरको एउटा रिपोर्ट पाए । रिपोर्ट ल्हासास्थित भारतीय कन्सुल जनरलको थियो । यसमा चिनियाँहरू भारी हतियारसहित थागलापारि गएको र तवाङ हमला गर्ने सुरमा रहेको लेखिएको थियो । तर, सो रिपोर्टमा सरकार, सैन्य कमान्ड र गुप्तचर विभागका तर्फबाट कुनै टिप्पणी गरिएको थिएन । कौल विपत्तिको सम्भावना देख्दै थिए र दिल्ली भने यस विषयमा उनको साथमा थिएन । दिल्ली पनि हामीले त सचेत गराएकै थियौँ भन्ने ठाउँमा उभिएको थियो । रिपोर्टमा कुनै टीकाटिप्पणी नहुनुले दिल्ली जुवामा सबैथोक दाउमा राखेको विवेकशून्य जवाडेको स्थितिमा पुगेको देखाउँछ ।
Leave a Reply