भर्खरै :

अमेरिकाको बन्दुक राजनीति र हत्याको सिलसिला – १३

जिमी कार्टर संरा अमेरिकाको डेमोक्रेटिक पार्टीका ३९ औँ राष्ट्रपति हुन् । उनले सन् १९७७ देखि १९८१ सम्म त्यस मुलुकको राष्ट्रपतिको बागडोर सम्हालेका थिए । यसअघि सन् १९६३ दखि १९६७ सम्म उनले जर्जिया राज्यबाट सिनेटर भएर कार्य गरे । सन् १९७१ देखि १९७५ सम्म सोही राज्यको ७६ औँ गभर्नरको पदमा रहे । सन् १९२४ मा जन्मिएका कार्टर कृषि व्यवसायमा अब्बल मानिन्थे । कार्टरले आफ्नै निजी सम्पत्तिमा सामाजिक क्षेत्रसँग सरोकार राख्ने विविध सेवामूलक कार्यक्रम र योजनाहरूमा सहयोग गर्ने अभिप्रायले सन् १९८२ मा कार्टर सेन्टरको स्थापना गरेका थिए । तापनि, समाजवादी मुलुकप्रतिको संरा अमेरिकी सरकार र कार्टर सेन्टरको दृष्टिकोणमा तात्विक भिन्नता छैन ।

प्रजग कोरिया भ्रमणको बेला राष्ट्रपति किम इल सङको उपहार ग्रहण गर्दै संराअ राष्ट्रपति जिम्मी कार्टर


आफ्नो पिताको देहावसानपछि जलसेनाको जागिरबाट फर्केर पुर्खाले गर्दै आएको कृषि व्यवसायमा लाग्नु कार्टरको लागि निकै असहज थियो । पहिलो वर्षमै ठुलो खडेरीका कारण बदामको खेती चकनाचुर भयो । पुर्खाको कृषि व्यवसायलाई जीवित राख्न ऋणका लागि उनी कैयौँ बैङ्क धाए । विज्ञान र प्राविधिक विषयमा राम्रो ज्ञान भए तापनि एक सफल व्यावसायिक कृषक बन्न पन्डुब्बीमा जलसेना भएर कार्य गरेको अनुभव खासै उपयोगी भएन । त्यसैले कार्टर कृषिसँग सम्बन्धित थुप्रै कक्षाहरूमा सहभागी भए । उनले कृषि विज्ञानका पुस्तकहरूको गहिरो अध्ययन गरे । आफ्नो जीवनसङ्गिनीले व्यापार व्यवसायको खातापाता कसरी व्यवस्थित राख्ने भन्ने विषयमा अध्ययन गरी लेखा एवम् हर हिसाबकिताबको पूर्ण जिम्मेवारी आफ्नो काँधमा बोकिन् । केही वर्ष नबित्दै पुर्खाको यसै कृषि व्यवसायलाई व्यवस्थितढङ्गले विस्तार गर्दै उन्नतिको शिखरतिर लगे । बदाम व्यापारमा कार्टरले ठुलो सफलता हासिल गरी कृषि व्यवसायबाट एक सफल धनाढ्य बने ।
तत्कालीन संरा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको आग्रहमा सन् १९९४ मा कोरियाली प्रायःद्वीपलाई आणविक अस्त्रको खतरामुक्त मुलुक बनाउन र प्रजग कोरियाको आणविक अस्त्र विकासको कार्यक्रमलाई स्थगन गर्न संरा अमेरिकी कूटनीतिक दूतको हैसियतले एउटा शान्ति मिसन बोकेर कार्टरले तत्कालीन राष्ट्रपति किम इल सङसँग शिष्टाचार भेटवार्ता गरेका थिए । हुन त यसलाई क्लिन्टनले कार्टरको निजी भ्रमणको संज्ञा दिएका थिए । वार्तानुसार प्रजग कोरियाले आणविक अस्त्र विकास योजना स्थगन गरेजस्तै संरा अमेरिकाले व्यवहारमा लागू हुने गरी आफ्नो इमानदारिता प्रस्तुत गरेन ।
अमेरिकी नागरिकहरूले बेलाबखत गैरकानुनीरूपले निर्दिष्ट योजनासहित कहिले दक्षिण कोरिया त कहिले चीनको भूमिबाट प्रजग कोरिया प्रवेश गरी राजनीतिक दृष्टिकोणले अत्यन्त आपत्तिजनक विभिन्न क्रियाकलामा संलग्न भएको दसी प्रमाणसहित कैद सजाय भोगिरहेका ती नागरिकहरूको रिहाइको लागि अमेरिकी मध्यस्थताका लागि प्रजग कोरियाको पटक–पटक भ्रमण गर्ने उच्चपदस्थ व्यक्तित्वहरूमा जिमी कार्टर नै थिए । सायद अमेरिकी सरकारको बेइमानी र कुटिल रवैयालाई मनन गरेर सन् २०१० को जिम्मी कार्टरको प्रजग कोरियाको पछिल्लो भ्रमणको बेला गैरकानुनीढङ्गले प्रजग कोरिया प्रवेश गरी शङ्कास्पद गतिविधि गरेका अमेरिकी नागरिक ऐज्यालोन म्याली गोम्सलाई कैद माफी गरी कार्टरको मध्यस्थतामा रिहाइ गरियो । तर, नेता किम जोङ इलले आफ्नो छिमेकी मुलुक चीनको अचानक भ्रमण तय गरी उनीसँग भेट्न अस्वीकार गरे । कोरियाली युद्धको बेला नौसेनाका उपसेनानी भई सामुद्रिक क्षेत्रमा खटिएका कार्टरको नेता किमलाई भेट्ने प्रवल इच्छा अधुरै रह्यो ।
सन् १९७९ मे १२ का दिन रेमोन्ड लि हार्भे नामको ३५ वर्षीय व्यक्तिलाई एउटा starter pistol (विभिन्न ट्राक एन्ड फिल्ड खेलकुद प्रतियोगितामा धावकहरूलाई आवाज आउनेबित्तिकै कुदिहाल्न सङ्केतको लागि प्रयोग गरिने ठुलो आवाज दिने गोली विनाको पिस्तोल) साथमा लिएर जिम्मी कार्टरको नजिक पुगेकै बेला सुरक्षाकर्मीले गिरफ्तार गरे । उनी र राष्ट्रपतिबीचको दूरी ५० फिटमात्र थियो । उक्त घटनाबारे गरिएको जाँचबुझ र दोषीले दिएको बयानअनुसार सो हतियार भुइँमा पड्काउँदा मानिस तितरबितर भएको कारण असली निसानाबाजउपर कसैको नजर नपर्नु नै राष्ट्रपतिमाथि सहज प्रहार गर्नसक्ने उनको लागि त्यो घम्साघम्सी राम्रो अवसर हुनसक्नेसम्मको षड्यन्त्र भएको तथ्य सङ्घीय अनुसन्धान विभागले सार्वजनिक ग¥यो । राष्ट्रपति कार्टरलाई हत्या गर्ने चारजना षड्यन्त्रकारीहरूले हार्भेलाई प्रयोगमात्र गरिएको थाहा लागेपश्चात् ती सबैजना पक्रिए । सन् २००२ को शान्ति नोबेल पुरस्कारबाट सम्मानित जिम्मी कार्टर ९६ वर्षमा पुगेका छन् ।


पूर्व संरा अमेरिकी राष्ट्रपति कार्टर तथा उनका जीवनसङ्गिनी रोजलिन कार्टर


संरा अमेरिकाको ४० औँ राष्ट्रपति रोनाल्ड विल्सन रेगनको जन्म सन् १९११ फेबु्रअरी ३ मा इलियोनोइज राज्यको ट्याम्पिकोमा भएको थियो । समाजशास्त्र र अर्थशास्त्रलाई मूल विषय बनाई स्नातक गरेका रेगन पौडी, फूटबल र भलिबलमा विशेष चाख राख्थे । कलेजमा अध्ययन जारी गर्दैगर्दा उनले अर्थाभावका कारण रोजगारीको सिलसिलामा मिसिसीपीकोे सहायक नदीमा (Rock river) लाइफ गार्डको जागिरी गरे । कलेजले प्रदान गरेको आंशिक छात्रवृत्ति र लाइफ गार्डको नोकरीबाट प्राप्त पारिश्रमिकको केही अंश बचत गरी पढाइ शुल्क तिर्न व्यवस्थापन गर्न जान्ने रेगनले विभिन्न रेडियो स्टेसनहरूमा उद्घोषक बनी काम गरे । सन् १९३७ मा चलचित्र क्षेत्रमा हात हालेसँगै पहिलोपटक उनलाई लभ इज अन द एयर (Love is on the air) नामक चलचित्रमा अभिनय गर्ने अवसर दिइयो । यो नै उनको चलचित्र जीवनचर्याको पहिलो कदम थियो । रेगनले लगभग ५० वटा चलचित्रमा प्रमुख भूमिका निभाएका थिए । भनिन्छ, भारतको राजनीतिमा सिने कलाकारहरूलाई विभिन्न राजनीतिक पार्टीहरूले प्रयोग गर्नु यसैको सिको हो । सन् १९४२ देखि १९४५ सम्म उनी अमेरिकी हवाई सैन्यमा कार्यरत रहे । क्यालिफोर्नियाको गभर्नरमा दुईपटक चुनिएपश्चात् रिपब्लिकन पार्टीको राजनीतिमा रोनाल्ड विल्सन रेगन नजिकिन थाले ।
संरा अमेरिकाको मुद्रास्फीति र बेरोजगारी समस्यालाई प्राथमिकतामा राखी त्यसको समाधानका लागि जिम्मी कार्टरले आवश्यक र महत्वपूर्ण कदम चाल्न नसकेको आरोप लगाउँदै सन् १९८० को राष्ट्रपतीय निर्वाचनमा अर्काे चार वर्षको लागि चुनावमा उत्रेका आफ्नो प्रतिस्पर्धी कार्टरलाई चुनौती दिंदै रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवारी दिएका रेगनले दोस्रो पटक निर्वाचित भई पुनः राष्ट्रपति हुने कार्टरको ठुलो अभिलाषामा पूर्ण विराम लगाएका थिए । आफ्नो दोस्रो राष्ट्रपतीय कार्यकालमा रेगनले संसारको जुनसुकै क्षेत्रमा रहेर कुनै पनि कम्युनिस्ट सरकारको विरुद्ध उभिएका पार्टी र विद्रोहीहरूलाई आवश्यक सबै प्रकारका सहयोग गर्ने र अन्य मुलुकको आन्तरिक मामिलामा नाङ्गो हस्तक्षेप गरी कम्युनिस्ट सरकारको विरोधमा उक्साउने नीति तर्जुमा गरे । यसलाई The Reagan Doctrine, 1985 भनेर चिनिन्छ । उक्त नीति तत्कालीन सोभियत सङ्घलाई जसरी भए पनि छिन्नभिन्न गर्नेतर्फ केन्द्रित रह्यो । सन् १९८५ मा आफ्नो राष्ट्रिय सम्बोधनमा उनले सोभियत सङ्घलाई “Evil Empire” सम्म भने । सम्बोधनकै क्रममा रेगनले सबै अमेरिकी नागरिक र गठबन्धन मुलुकहरूलाई सोभियत सङ्घका विरुद्धमा एक भई उभिन आह्वान गरे । यति भइरहँदा पनि सोभियत सङ्घका नेताहरूले विभिन्न शान्ति सम्झौता वा विनाशकारी हातहतियार न्यूनीकरण वा विनास गर्ने सन्धिका बहानामा धेरैपटक सोभियत सङ्घको औपचारिक भ्रमण गर्ने संरा राष्ट्रपति रोनाल्ड रेगनलाई आफ्नो मुलुकमा स्वागत गर्दै रहे ।
Intermediate-Range Nuclear Force  (INF Treaty) अन्तर्गत ५०० देखि ५,५०० किलोमिटरसम्मको दूरीमा मार हान्न सक्ने आणविक हतियार नष्ट गर्ने वार्ताको प्रस्ताव संरा अमेरिकाले सन् १९८१ अक्टोबरदेखि सुरु गरेको थियो । उपलब्धि हात नपरुञ्जेल धैर्यका साथ अमेरिकाले उक्त वार्तालाई लगातार निरन्तरता दिँदै रह्यो । अन्ततोगत्वा सन् १९८७ डिसेम्बर ८ का दिन वासिङ्टनमा भएको शिखर वार्तामा निश्चित प्रकारका परमाणु क्षेप्यास्त्र स्थायीरूपले नष्ट गर्ने र पुनः त्यसको विकास पनि नगर्ने भनी दुई महाशक्ति सोभियत सङ्घ र संरा अमेरिकाबीच समझदारी कायम भएअनुरूप राष्ट्रपतिद्वय मिखायल गोर्वाचोभ र रोनाल्ड विल्सन रेगनले लिखित सम्झौतामा हस्ताक्षर गरे जसलाई INF Treaty भनियो । यसलाई शीतयुद्ध समाप्त भएको भनियो । यसअन्तर्गत सोभियत सङ्घले मध्यम खालका २६९२ वटा क्षेप्यास्त्रहरू नष्ट ग¥यो ।
आफ्नो उद्देश्य पूरा भएसँगै सन् १९८७ जून १२ का दिन पूर्व र पश्चिम जर्मनी छुट्याउने बर्लिन पर्खालको ब्रदेनवर्गको गेटअगाडि भएको औपचारिक सम्बोधनमा राष्ट्रपति रेगनले आफ्ना समकक्षी गोर्वाचोभको नाम उच्चारण गर्दै भने, “महासचिव गोर्वाचोभ, यदि तपार्इँ शान्तिको खोजीमा हुनुहुन्छ भने, सोभियत सङ्घ र पूर्वी युरोपको समृद्धिको खोजीमा हुनुहुन्छ भने, यहाँनिर आउनुस् र यो ढोका खोल्नुस् । यो विशाल भनिएको पर्खाललाई भत्काउनुस् ।” संसारकै सबैभन्दा विशाल मुलुकको राष्ट्रपतिलाई यसरी एकपछि अर्काे अपमानजनक व्यङ्ग गरिरहे । सन् १९९१ मा बोरिस एल्सिनले सोभियत सङ्घ विघटन भएको घोषणा गरे । धेरै पश्चिमी र अमरिकी अखबारहरूले सोभियत सङ्घको कम्युनिस्ट शासनलाई सदाका लागि थला पार्नसक्ने व्यक्तिको संज्ञा दिंदै रेगनको औधी प्रशंसा गरे । देशभक्त, क्रान्तिकारी, दूरदर्शी, इमानदार र असल नेताको अभावमा बलमा, आकार र ढाँचामा ठुलो हुँदैमा मुलुकको गरिमा कायम गर्न नसक्ने रहेछ भन्ने दृष्टान्त सोभियत सङ्घको विघटनले देखाइदियो ।


गोली प्रहार हुनु केही क्षण अघि हात हलाउँदै राष्ट्रपति रेगन


हुन त सन् १९८० को चुनावमा जिम्मी कार्टरलाई हराउँदै संरा अमेरिकी राष्ट्रपति बन्न सफल भएका रोनाल्ड विल्सन रेगन आफ्नो राष्ट्रपतीय कार्यकालको ६९ दिनपछि अर्थात् सन् १९८१ मार्च ३० सोमबारका दिन वासिङ्टन हिल्टन होटलबाट आफ्नो गाडीमा बस्न अघि बिदाको हात हल्लाउँदै गर्दा नजिकैबाट उनीमाथि गोली प्रहार गरियो । जोन हिन्कले नामको अमेरिकी नागरिकले गरेको गोली प्रहारले रेगन गम्भीररूपमा घाइते भएका थिए । फोक्सो च्यातिएको र आन्तरिक रक्तस्रावका कारण जीवित रहने कम सम्भावना भए तापनि अत्याधुनिक औषधोपचारका कारण उपचारमा संलग्न जर्ज वासिङटन विश्वविद्यालय अस्पतालका शल्य चिकित्सकहरू गोली निकाल्न सफल भए । लगभग १२ दिनको अस्पताल उपचारपछि राष्ट्रपति रेगनलाई घर पठाइयो ।
राष्ट्रपति रेगन खतराबाट बाहिर भएको सूचना चिकित्सकहरूबाट सार्वजनिक भएपछि रेगनको राष्ट्रपतीय उत्तराधिकारको व्यवस्था गर्न आवश्यक ठानिएन । जोन हिन्कलेको ६ पटकको गोली प्रहारले राष्ट्रपतिका प्रेस सेक्रेटरी जेम्स ब्रान्डीलगायत अरू दुई जना सुरक्षाकर्मी सख्त घाइते भए । यसमध्ये जेम्स ब्रान्डी सदाका लागि पक्षघातबाट ग्रस्त भई ह्विलचेयरमा जीवन बिताउन बाध्य भए । उनका धर्मपत्नी साराले संरा अमेरिकामा बन्दुक बिक्रीमा रोक लगाउन पैरवीको सुरुवात गरिन् जसलाई राष्ट्रपति रेगनले सहयोग गर्ने वाचा गरे पनि त्यससम्बन्धी कार्यान्वयन अझैसम्म प्रभावकारी भएको छैन । आफ्नो सुरक्षाको लागि बन्दुक राख्ने पाइने अधिकारको वकालत गर्ने National Rifle Association of America NRA लाई साराको कानुनी लडाइँले अलिकति हल्लाउन सकेन । किनभने केन्द्रीय सरकारमा पहुँच भएका संरा अमेरिकी धनाढ्य बन्दुक उद्योगका सञ्चालकले काखी च्यापेको यो सङ्गठन सर्वसाधारणले सोचेकोभन्दा पत्रकारिता क्षेत्रमा मात्र होइन राजनीतिक हिसाबले पनि निकै बलियो छ । जनमानसको भ्रम हटाउन यो एसोसियशनले विभिन्नखाले सामाजिक कार्यक्रम र समारोहहरू सञ्चालन गर्नेछ ।
‘ट्याक्सी ड्रात्र’ नामको चलचित्रका नायिका जोडाइ फोस्टरबाट अति प्रभावित भएकै कारण आपराधिक मनोवृत्तिका जोन हिन्कले यो सिनेमा १५ पटकसम्म हेरे । उनी नायिका जोडाइ फोस्टरबाट यति विघ्न आशक्त भए कि उनको ध्यान आकर्षित गर्न अनेकौँ क्रियाकलाप गरे, नजिकिन खोजे, पत्रसमेत लेखे । यी सबैको प्रयास भए पनि केही हात नलागेपछि उनै नायिकाको दृष्टि आफूतिर तान्ने एउटामात्र बेकारको उद्देश्यले हत्याजस्तो असाधारण तर आपराधिक कार्य गर्न बाध्य भएको बयान जोन हिन्कले अदालतमा दिए । मानसिक रोगी भएको ठहर गरी अदालतले उनलाई वासिङटन डीसी मानसिक अस्पतालमा उपचारका लागि भर्ना ग¥यो । यिनको गोली प्रहारबाट शारीरिकरूपले केही हप्ता अशक्त भए पनि राम्रो आधुनिक औषधोपचारका कारण पूर्ण स्वस्थ भइसकेका रेगन दोस्रो पटकको राष्ट्रपतीय निर्वाचनमा पनि चुनिए । सन् २००४ जून ५ का दिन अल्जाइमर रोगले ग्रस्त संरा अमेरिकाको पूर्वराष्ट्रपति रोनाल्ड विल्सन रेगनको ९३ वर्ष उमेरमा निधन भयो । सोभियत सङ्घको विघटनपश्चात् संसारमा शान्ति बहाली हुने झूटो सपना देखेका रेगन हालसम्म जीवित रहेका भए उनकै मुलुकमा राष्ट्रपति ट्रम्पका कारण विद्यमान बन्दुक आतङ्कले मच्चाएको हाहाकारले डाँको छोडी रुनुपर्ने हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *