भर्खरै :

भारतको चीन युद्ध, सीमा युद्ध (डाँडाकाँडा र खोलानाला)

अपरेसन लेगहर्न
अक्टोबर ८ मा कौलले अपरेसन लेगहर्नका काम थाले । उनले राजपुत र गोर्खालीहरूलाई साङधरबाट तल खोलामा आउन भने । वास्तवमा साङधर प्रतिरक्षाको लागि उपयुक्त स्थान थियो । त्यहीँ ब्रिगेड ७ का लागि सैन्य साधन ओराल्ने ठाउँ पनि थियो । नाम्का चूलाई पछि कौलले “भारतीयहरूका लागि खोँचको खतरनाक पासो” भनेका थिए । तैपनि उनले टुकडीहरूलाई त्यही पासोमा उतारे । भोलिपल्ट दुई बटालियन सेना तल खोलामा पुगे र पुल नम्बर ३ र ४ मा तैनाथ भए ।
अक्टोबर ९ मा कौलले प्रसाद, डाल्भी र अन्य अफिसरलाई जेजस्तो समस्या आइलागे पनि अक्टोबर १० को दिन केही त गर्नैपर्छ भने । (हाम्रो जोड– सं.) यो मितिलाई मन्त्रिमण्डलले पनि अनुमोदन गरेको उनको तर्क थियो । अनि उनले राजपुतहरूलाई अर्को दिन युम्सोला भञ्ज्याङतिर अघि बढ्न आदेश दिए । यो भञ्ज्याङ थागला डाँडाको पश्चिममा १६ सय फिटको उचाइमा थियो । त्यहाँ पुगेर चिनियाँहरूमाथि हाबी हुने निर्देशन थियो । यसपछि भारतीयहरू थागला डाँडाको टुप्पोमा पुग्थे । त्यहाँबाट एउटा बलियो शक्तिको भरमा पहाडको दक्षिण पाखामा बसेका चिनियाँहरू पछि हट्न बाध्य हुने थिए । तर, राजपुतहरू माथि लाग्न नै समस्या थियो । बाटाभरि चिनियाँहरू तैनाथ थिए । त्यो अवरोध पार गरेर डाँडामा चढेमा पनि उनीहरू भोकभोकै मर्नुपथ्र्यो किनभने त्यहाँ रसद पु¥याउने कुनै उपाय थिएन । यो आदेश सुन्ने अफिसरहरू आश्चर्यमा परे । कौललाई जस्तै तिनीहरूलाई पनि चिनियाँहरूले बलियो प्रतिकार गर्नेछन् भन्ने थाहा थियो । उनीहरूले बारम्बार भारतीयहरूलाई खोलापारि आउन नदिने चेतावनी दिइसकेका थिए । डाल्भीले लेखेका थिए, “जनरल कौलले पहिले त प्रसन्न भएर खरायोको कान समात्ने जादुगरले जस्तै हेरे अनि कसैले आफ्नो आदेशमाथि प्रश्न उठाउला कि भन्ने भावमा आँखा चनाखो पारे ।”

जोन डाल्मी


डाल्भी र प्रसादले १६ सय फिट अग्लो ठाउँमा जाडोको लुगा पनि नलगाएको टुकडीलाई रासन पु¥याउने समस्या देखाए । साथै कुनै सहायक गोलाबारी (कभर) बिना राजपुतहरू सबै मारिनेछन् भनी औँल्याए । यसलाई बेवास्ता गरे पनि सग्लो बटालियन पठाउनुअघि एउटा गस्ती टोली पठाउने उनीहरूको विचार भने कौलले माने । सो टोलीले खोलापारि जाने उपयुक्त बाटो पत्ता लगाउनुपथ्र्यो र भोलि सखारै बाटो लाग्ने राजपुतहरूलाई सहायक गोलाबारीले सघाउनुपथ्र्यो । टोलीको गन्तव्य भने सेङजोङ थियो । टोलीमा ५० जना तन्दुरुस्त पञ्जाबीहरू थिए । उनीहरूले अक्टोबर ९ दिउँसोपख खोला तरे र साँझसम्ममा सेङजोङ पुगे । टोली नाइकेले केही सिपाहीँलाई बन्दुक दिएर सहायक गोलाबारीको लागि पठाए । चिनियाँहरूले पञ्जाबीहरूलाई केही पनि गरेनन् । त्यस दिन कौलमाथि नै सरकारको भरोसा टिकेको थापरको सन्देश आएको थियो । कौल फुर्किए । फरक विचार राख्नेहरूलाई मूर्ख ठह¥याइएको थियो । त्यस रात कौलले अर्को लामो सन्देश टिपाए । त्यसमा उनले साहसी र द्रुत रणनीति लागू गरेको र शत्रुलाई छक्याउँदै थागला डाँडामा शत्रुलाई साफ गर्ने काममा गतिलो सुरुआत गरेको बताएका थिए । पञ्जाबी टोली सेङजोङ पुगेको घटनालाई उनले आफ्नो टुकडी डाँडाको टुप्पो कब्जा गर्न हिँडिसकेको बताएका थिए । सन्देशमा कुनै अनिष्टको चिह्न थिएन । उनले घटनालाई रोमाञ्चक शैलीमा प्रस्तुत गरेका थिए ।
अर्को बिहान अक्टोबर १० को दिन थियो । राजपुतहरूले समूह बनाए र युम्सोला जान पुलहरूतिर लागे । अन्तिममा चिनियाँहरूले प्रतिकार गरे । यसले कौलको योजना भताभुङ्ग पा¥यो । साथमा चिनियाँहरूले प्रतिकार गर्नेछैनन् भन्ने गरम नीतिको आत्मा पनि भताभुङ्ग भयो । कौलको वर्णनअनुसार बिहान साढे चार बजेको थियो र उनी पुल नम्बर ४ को बङ्करमा दा¥ही खौरँदै थिए । त्यति नै बेला खोलापारि गोली चल्यो । एउटा चिनियाँ बटालियन खोलामा रहेका भारतीयहरूलाई बेवास्ता गर्दै डाँडाबाट ओर्ले र सेङजोङमा हमला गर्नतिर लागे । त्यति नै बेला त्यहाँ रहेका भारतीयहरू ठुला मोर्टारको मारमा परे । लडाइँमा नायक भएर फर्किने कौलको सपना चकनाचुर भयो । खोलावारिबाटै एक भारतीय बराबर २० चिनियाँ स्पष्ट देखिन्थे । त्यो देखेर कौलले डाल्भीलाई भनेका थिए, “हे भगवान्, तिमी सही रहेछौ, उनीहरू गम्भीर रहेछन् ।” कौलले पछि लेखे, “साँच्चै भन्ने हो भने मैले हाम्रो फसादका सम्पूर्ण परिणाम बुझेँ । मैले यस मामिलामा हाम्रो समग्र अडानबारे पुनर्विचार गर्नुपर्छ भन्ने विचार गरेँ ।”
नेहरूको घरमा
कौलले लडाइँको जिम्मा डाल्भीलाई सुम्पे । डाल्भी र प्रसादसँग कुरा गर्दै उनले नेहरूसँग भेटेरै घटनाबारे बताउनुपर्ने निधो गरे । चिनियाँहरूलाई खेद्ने काम एक कल्पना भएको र ब्रिगेडलाई नाम्का चूबाट फर्काएर सरसामान पु¥याउन सकिने स्थानमा तैनाथ गर्नुपर्ने विषयमा उनी प्रसाद र डाल्भीसँग सहमत भएका थिए । तर, दिल्लीबाट ठोस निर्देशन नआउँदासम्म उनले सेनालाई नाम्का चू र साङलेमै राख्न भनेका थिए ।
सेङजोङको लडाइँमा चिनियाँ पक्षले मात खाएको थियो । चिनियाँहरू सहायक गोलाबारी गर्ने हिस्साबारे सचेत थिएनन् । भारतीयहरू कमजोर देखिए पनि सिपालु लडाकु रहेको चिनियाँहरूले महसुस गरे । लडाइँको क्रममा विपत्तिबाट आफ्नो टुकडी जोगाउन पञ्जाबीहरूले खालोपारिबाट मोर्टा र मेसिनगनको सहायक गोलाबारीको लागि अनुरोध गरे । डाल्भीले यसो गर्न मानेनन् । उनको समस्या पीडाजनक थियो । मेसिनगन हातमा लिएका अफिसरले खोलापारि गोलाबारी गर्न आदेश मागिरहेका थिए, पञ्जाबीहरू सहयोगको लागि गुहार लगाइरहेका थिए । तर, सानो लडाइँमा मुख्य सेना परिचालन गरेको भए चिनियाँहरूले सेङजोङलाई धुलो पार्न सक्थे । डाल्भीले पञ्जाबीहरूलाई गोलाबारी बन्द गर्न भने र खोलातिर फर्किन भने । यो देखेर चिनियाँहरूले पनि गोलाबारी रोके । लडाइँमा भारततिर ७ जना मरे, ७ जना हराए र ११ जना घाइते भए । चीनतिर भने मर्ने र घाइते हुनेहरूको सङ्ख्या ३३ पुग्यो । चिनियाँहरूले मर्ने भारतीयहरूलाई आफ्नै सिपाहीँहरूनजिक ससम्मान गाडे ।
सेङजोङको सानो लडाइँको ठुलो अर्थ थियो । पहिलोचोटि चिनियाँहरूले भारतीयहरूको प्रतिकार गरेका थिए । उनीहरूले भारतले बनाएको चौकीमाथि हमला गरेका थिए । गरम नीतिको मूल मर्ममाथि चोट परेको थियो । वास्तवमा चिनियाँहरूले प्रतिकार गर्नेछैनन् भन्ने विचारकै आधारमा पूर्वदेखि पश्चिमसम्म भारतीय सेनाले सीमा चौकीहरू थप्दै अघि बढिरहेको थियो ।
दिल्ली फर्किँदै गर्दा कौलले स्थितिमा अचानक आएको नयाँ मोडबारे बताउन राजधानी आउन अनुमति मागे । उनले नेहरू सिलोन वा श्रीलङ्का जानुभन्दा पहिले आफूले नेहरूसँग भेट्नैपर्ने बताए । हाथुङलामा कौलले बडो सकसले रात बिताए । उचाइले गर्दा उनको स्वास्थ्य बिग्रेको थियो । उनलाई पहिलेजस्तै भरियाले बोकेर नजिकको हेलिप्याडमा पु¥याए । त्यहाँबाट तेजपुर र तेजपुरबाट अक्टोबर ११ को राति ८ बजे उनी दिल्ली नेहरूको घरमा पुगे । त्यहाँ सीमा सङ्कटबारे हालसम्मकै सबैभन्दा ठुलो बैठक हुँदै थियो । नेहरू, मेनन, परराष्ट्र र रक्षा मन्त्रालयका सचिवलगायत अन्य अफिसर, सेनाबाट थापर, सेन, कौल र जनरल स्टाफका अफिसर र हवाई सेनाका प्रमुख थिए । अझै पनि नेहरूले मन्त्रालय वा रक्षा समितिलाई छलफलका लागि बोलाएका थिएनन् ।
विस्तृत बैठक
बैठक सेङजोङको लडाइँसम्बन्धी कौलको विवरणबाट सुरु भयो । बैठकमा उपस्थित सबैको फरक–फरक बयान थियो । त्यसकारण सबैका साझा कुरा राख्नु उचित हुन्छ । घटनाको बयान गरिसकेपछि कौललाई उनको सुझावबारे सोधियो । यसमा उनले ब्रिगेड ७ लाई नाम्का चूबाट फर्काउने कुरा भनेनन् । (बरु उनले अमेरिकासँग छिट्टै र ठुलो मात्रामा सैन्य सहयोग लिनुपर्ने प्रस्ताव राखे । हाम्रो जोड– सं.) नेहरूले यो प्रस्ताव अस्वीकार गरे । त्यसपछि कौलले चिनियाँहरूलाई हटाउने योजना स्थगन गर्नुपर्ने सुझाव राखे । कौलको भनाइअनुसार उनले ब्रिगेड ७ लाई नाम्का चूबाट सारेर अलि सुरक्षित स्थानमा राख्न सुझाव दिएका थिए । तर, बैठकमा उपस्थित अन्य सहभागीहरूले कौलले त्यसो नभनेको पुष्टि गरेका थिए । मन्त्रालयका सचिव एसएस खेडाका अनुसार कौलले नाम्का चू र साङलेमै अडिरहन भनेका थिए र अगाडि बढ्ने मौका देखिएमा आफूले खबर गर्ने जनाएका थिए । अपरेसनलाई स्थगित गर्ने बुझाइ बन्यो तर ठोस निर्देशन बनेन । औपचारिक निर्देशन नबन्ने निश्चित नै थियो । जनरल थापर र सेनले सेनाले नाम्का चू छोड्नुहुँदैन भने । कौलले भने आफूले तीनवटा विकल्प अघि सारेको उल्लेख गरेका थिए । चीन बलशाली भए पनि आवश्यक तयारी गरेर फेरि हमला गर्ने, हमलाको योजना खारेज गरेर सेनालाई खोलामै राख्ने वा सेनालाई अझ सुरक्षित स्थानमा सार्ने । अपरेसनसँग कर्मचारीतन्त्र र सेनाका धेरैजनाको इज्जत जोडिएको थियो । त्यसैले दोस्रो विकल्प उचित देखियो । सेनाका अधिकारीहरूमा विभिन्न विचार देखिएकोले नेहरूले यस्तो निर्णय सेनाले लिनुपर्ने भएकोले एक मत बनाई सरकारलाई सुझाव दिन भने ।

निरञ्जन प्रसाद


अर्को दिन बिहान थापर र सेनले मेननसँग आफ्नो राय दोहो¥याए । यही विचार नेहरू आफँैले युद्धपछि संसद्मा दोहो¥याएका थिए । उनले सेनाका विज्ञहरूको सल्लाहमा नेफाका सीमामा तैनाथ सेनालाई पछि नसार्ने निर्णय लिइएको बताएका थिए । साथै नाम्का चूमा रहेका कमान्डरहरूकै सुझावमा त्यहाँको ब्रिगेड नहटाउने प्रधानमन्त्रीको कुराबाट थाहा हुन्छ । उनले भनेका थिए, “अधिकारीहरूले सेनालाई आफूलाई पायक नपर्ने ठाउँमा बस्न भनेका थिएनन् बरु हाम्रा सैनिकहरूले आफैँ पछाडि फर्किन अस्वीकार गरे र आवश्यक मूल्य चुकाएर बसिरहे ।” त्यसैले नेहरूले सेना पछाडि फर्किने मामिलामा सेनामाथि भर परेको देखिन्छ । तर, कौललाई फुक्र्याएर सैनिक हाइ कमान्डको मनोबल गिराइसकेका नेहरूलाई सल्लाह दिनेहरू पेशेवर विज्ञ थिएनन् बरु उनका भारदारहरू थिए । त्यसैले उनले विज्ञहरूबाट सल्लाह माग्दा आफूले सुन्न चाहेका सुझावमात्र सुन्न सक्थे । उनीहरूले चीनले ठुलो केही गर्नेछैन भन्दा नेहरूले उनीहरूलाई राजनीतिक निर्देशन दिन्थे । एकआपसमा भ्रम साट्ने यो प्रक्रियाले गर्दा अक्टोबर ११ को बैठकले ब्रिगेड ७ जहीँको तहीँ रहनुपर्ने टुङ्गोमा पु¥यायो ।
नेहरू चिप्लिँदा
अक्टोबर १२ को बिहान नेहरू तीनदिने भ्रमणमा श्रीलङ्का गए । सीमामा सङ्कट आइलागेको कुरा बाहिर नलग्न सतर्कता अपनाइएको थियो । विमानस्थलमा नेहरू पत्रकारहरूसँग कुरा गर्न रोकिए । तर, यो भेटघाट पत्रकार सम्मेलनमा फेरियो । चिनियाँहरूले म्याकमाहोन रेखा पार गरेको बताइएको १ महिना बितेको थियो र उनीहरूलाई हटाउन सेना परिचालन गर्ने निर्णय लिइएको १५ दिनभन्दा बढी नाघिसकेको थियो । सीमामा छिटफुट तनाव भइरहेको र भारतले चिनियाँहरूलाई मात दिइरहेका समाचार प्रायः छापिन्थे । अघिल्लो दिन चिनियाँ हमलाका कारण सेङजोङमा कठोर लडाइँ भएको समाचार छापिएको थियो । त्यसैले सरकारले सेनालाई वास्तवमै आक्रमण गर्न आदेश दिएको थियो वा थिएन भन्ने विषयमा आशङ्का उत्पन्न भएको थियो ।
नेफाका टुकडीहरूलाई के आदेश दिइएको छ भनी प्रधानमन्त्री नेहरूलाई प्रश्न सोधियो । उनले भने, “हाम्रो भूभाग मुक्त गर्नू भन्ने नै हाम्रो निर्देशन हो ।” अर्को प्रश्न ग¥यो, “कहिले ?” नेहरूले भने, “समय मैले तोक्न सक्दिनँ, त्यो कुरा सेनाले तय गर्ने हो ।” मौसमको समस्या र चिनियाँहरू ठुलो सङ्ख्यामा अग्लो स्थानमा रहेको पनि उनले औँल्याए । साथै थागलामा चिनियाँहरू रहेसम्म दुई देशबीच कुनै कुराकानी नहुने पनि बताए । युद्धपछि चिनियाँहरूलाई खेद्ने आदेश बाहिर ल्याएको र देशलाई जानाजान झुक्याएकोमा नेहरूको आलोचना भयो । आफ्नै शब्दले समस्या ल्याउने नेहरूले बुझे । त्यसैले भारतीय टुकडीको क्षमताबाहिर हुनाले सेनालाई दिइएको आदेश हाललाई स्थगित गरिएको र लामो समयसम्म स्थितिमा नफेरिने उनले थपे । तर, यसमा बढी जोड दिनाले नेहरूले पहिले सेनाको बलियो स्थितिको बारेमा बताएका सबै कुरा झूटा हुने थिए । अघिल्लो रात कौलले चाँडै नै चिनियाँहरूलाई हटाउने योजना कार्यान्वयन हुने जनतामाझ बताउन नेहरूलाई हौस्याएको बैठकका एक सहभागीले सुनेका थिए । यसको आधार पनि छ । विमानस्थलको आफ्नो भनाइको बचाउ गर्दै र त्यो आफ्नो एकल निर्णय नभएकोमा जोड दिँदै नेहरूले पछि भनेका थिए “त्यो सैनिक अधिकारीहरूको पनि दृष्टिकोण थियो । उनीहरू त्यसो गर्न चाहन्थे । नत्र मैले त्यस्तो कुरा भन्ने दुस्साहस गर्ने थिइनँ ।” स्वभावअनुसार विमानस्थलमा उनले आफ्नो विचार सन्तुलित देखाउन भारतीय सेनाका अप्ठ्याराहरू जोडेका थिए । नेहरूले यसो भन्दैमा जनता उनको पछि लाग्ने थिएनन् । सरकारी प्रवक्ताले पहिले नै नेफामा स्थिति आफ्नो नियन्त्रणमा रहेको बताइसकेका थिए ।
पत्रकार भेटघाटमा अघिल्लो रातको बैठकलाई नेहरूले आफ्नो विचार पुनः पुष्टि गर्न बोलाएको अर्थमा लिइयो । उनी फेरि आफ्नै विचारमा फर्किएपछि उनले सैनिक समस्याहरूलाई गम्भीर नठानेको स्पष्ट भयो । केही घण्टापछि उनले सबै व्यथाको एउटै उपचार भने । कोलम्बोमा एक भारतीय पत्रकारसँग उनले नेफामा स्थिति भारतको पक्षमा रहेकोमा जोड दिए । विमानस्थलको नेहरूको भनाइमा भारतीय जनताले युद्धको हुङ्कार सुने । भारतका ठुला अखबारले अर्को दिन यस्तै समाचार छापे । तिनको भाषा यस्तो थियो, “प्रधानमन्त्री नेहरूले जनताले सुन्न चाहेको कुरा भन्नुभएको छ । सेनलाई चिनियाँ आक्रमणकारीहरू धपाउन आदेश दिइएको छ र भारतीय भूमि साफ नगरुञ्जेल चीनसँग कुनै कुराकानी नहुने बताउनुभएको छ । नेहरूको भनाइको देशभरि स्वागत हुनेछ ।” (नेहरूको राजनीतिक जीवनमा उनले नसोची बोलेका कैयन् कुराले भारतको आधुनिक इतिहासमा विपत्ति ल्याएका घटनाहरू पाइन्छन् । हाम्रो जोड– सं.) यसैगरी उनले १९४६ मा एउटै स्वतन्त्र भारतसम्बन्धी काङ्ग्रेस र मुस्लिम लीगबीच बनेको संवेदनशील समझदारीको खण्डन गरेका थिए । चुप लागेर धेरैथोक हासिल गर्नुपर्ने बेला चालिएको एउटै गलत चालले १९४६ र १९६२ दुवैमा सन्तुलन बिगारेको थियो ।
गोवा अपरेसनमा सेनाले देखाएको ‘बहादुरी’ का कारण नाम्का चूमा सेना बलियो रहेको तर लर्तरो सरकारका कारण सेनाले केही गर्न नसकेको भारतीय आम बुझाइ थियो । एउटा अखबारले त थागलामा रहेको चिनियाँ सेना तेस्रो दर्जाको सैनिक भएको सम्पादकीय छापेको थियो । यो खबर सम्भवतः मलिकको दिमागबाट निस्केको थियो । डाल्भीले थागलाका चिनियाँहरूका बारेमा लेखेका थिए, “भन्नैपर्छ म चिनियाँ सिपाहीँहरूबाट प्रभावित भएको छु । उनीहरू मैलाधैला सीमा सुरक्षाकर्मी होइनन् । उनीहरू हट्टाकट्टा, हतियारबद्ध र प्रतिबद्ध सैनिक देखिन्छन् ।” विमानस्थलको नेहरूको घोषणाले अन्ततः लडाइँको ढोका खोलेको थियो र भारतीयहरू थागलामा आफ्नो सेनाको विजयको समाचार सुन्न आतुर थिए ।
नेहरूको भनाइमा युद्धको गन्ध विदेशीहरूले पनि चाल पाए । न्युयोर्क हेराल्ड ट्रिब्युनले सम्पादकीय लेखे, “चीनविरुद्ध नेहरूको युद्धघोष ।” गार्जियनले नेहरूको भनाइलाई “अल्टिमेटम” भने । चीनमा पिपल्स डेलीले लेख्यो, “प्रधानमन्त्री नेहरूले औपचारिकरूपमा भारतीय सेनालाई चीनको तिब्बत क्षेत्रमा आक्रमण गर्न भनेका छन् । भारतीय सेनाले जुनसुकै बेला नेहरूको निर्देशन पालन गर्नसक्छ ।” पूर्वी सीमा क्षेत्रमा चाँडै नै आक्रमण हुने निश्चित भएकोले चिनियाँ सेनालाई पत्रिकाले सावधान गराएको थियो । पत्रिकाले नेहरूलाई खतराको मुखबाट पछि फर्किन र भारतीय सेनालाई आफ्नो जुवाको खालमा नउतार्न सल्लाह दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *