भर्खरै :

नेपाल, चीन, पाकिस्तान र अफगानिस्तानका विदेशमन्त्रीबीच अर्थपूर्ण बैठक

काठमाडौँ, १३ साउन । मङ्गलबार नेपाल, चीन, पाकिस्तान र अफगानिस्तानका विदेशमन्त्रीहरूबीच कोभिड–१९ को प्रतिरोध र अर्थतन्त्रको पुनः स्थापनामा सहकार्य गर्ने विषयमा सहमति भएको छ ।
भिडियो लिङ्कमार्फत चार देशका विदेशमन्त्रीहरूबीच भएको बैठकमा यस्तो सहमति भएको हो ।
चीनका विदेशमन्त्री वाङ यीको अध्यक्षतामा भएको बैठकमा नेपालका विदेशमन्त्री प्रदीपकुमार ज्ञवाली, पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मुद कुराशी र अफगानिस्तानका विदेशमन्त्री मोहम्मद हनिफ अतमर सहभागी हुनुहुन्थ्यो ।
बैठकको अध्यक्षता गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले चीन नेपाल, पाकिस्तान र अफगानिस्तानसँग कोभिड–१९ विरुद्ध अन्तिम विजय हासिल नहुँदासम्म कठिनाइ सामना गर्न, जनताको स्वास्थ्य रक्षा गर्न, उत्पादन कार्य प्रबद्र्धन गर्न र जनताको जनजीवन सहज बनाउन सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
वाङले कोभिड–१९ विरुद्धको सहकार्य बलियो बनाउन चार देशबीच आपसी सरसल्लाह, क्षेत्रीय हिसाबमा कोभिड–१९ को प्रतिरोधमा संयुक्त सहकार्य संयन्त्रको विकास, महामारीविरुद्ध र औषधि बनाउन सहकार्य बलियो बनाउने, महामारीपछि आर्थिक पुनःस्थापना र विकासलाई गति दिने प्रस्ताव गर्नुभयो ।
बैठकमा चार देशका विदेशमन्त्रीहरूले व्यापार र यातायात मार्ग सुचारु गर्ने, जनस्तर तथा व्यापार सम्बन्ध सहज बनाउने, ‘स्वास्थ्य रेशममार्ग’ को निर्माण र मानवताको लागि साझा भविष्यको समुदाय निर्माणमा सहकार्यको सहमति भएको बताइएको छ ।
भारतले चीनका थप ५० भन्दा बढी एपमाथि निषेधको घोषणा गरेको भोलिपल्ट चीनको अगुवाइमा दक्षिण एसियाका तीन देश समेटेर आयोजित भिडियो बैठकलाई कूटनीतिकरूपमा अर्थपूर्ण मानिएको छ । बैठकमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका भारत, बङ्गलादेश र माल्दिभको सहभागिता थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *