राम्रो समाज निर्माण समर्पित भावनाले मात्र सम्भव हुने
- श्रावण १०, २०८३
नेकपाको सरकार कम्युनिस्ट सरकार हुँदो हो त यतिबेला सिङ्गो पार्टीका सबै तहका नेता र कार्यकर्ता कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणको लागि सबै आ–आफ्ना पालिकामा जनताको सेवा गर्दै हुने थिए । जनताको घर घरमा गएर कोभिड–१९ बाट जोगिने र सावधानीका उपाय सिकाउँदै हुन्थे । नेताजति सबै काठमाडौँमा बसेर सामाजिक सञ्जालमार्फत अर्ती उपदेश र पार्टीको नीतिको व्याख्या गर्दै बस्ने थिएनन् ।
नेकपाको सरकार कम्युनिस्ट सरकार हुँदो हो त सङ्क्रमण रोकथामको निम्ति देशभित्रै उत्पादन गर्न सकिने आकस्मिक स्वास्थ्य सामग्री उत्पादन गर्न सम्भव उपायको खोजी गरी कार्यकर्ताको परिचालन गथ्र्यो । भारतबाट भित्रिएका नेपालीलाई सीमा क्षेत्रमा अस्थायी क्वारेन्टिन स्थलको व्यवस्थामा नेकपाका नेता–कार्यकर्ता व्यस्त हुने थिए । लुकीछिपी नेपालभित्र पस्ने नेपाली जनताको स्वास्थ्य परीक्षणको निम्ति स्वयम्सेवकको रूपमा दसौँ हजार कार्यकर्ता परिचालित भएको समाचार आउने थियो । सरकारी अस्पतालको निसङ्क्रमणको लागि सयौँ कार्यकर्ता रातदिन लागेका हुन्थे ।
विश्वविद्यालयको पदाधिकारी र कुनै पनि लाभको पदमा नियुक्तिको लागि छिनाझम्टी हुने नेकपाका प्राध्यापक र बुद्धिजीवीहरू यतिबेला कागजमा घोषणा भइसकेको तर व्यवहारमा अझै पनि प्राप्त हुन नसकेको नेपालको मिचिएको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा नयाँ खोज अनुसन्धान गर्दै भारत सरकारलाई बौद्धिक र रचनात्मक तहमा दबाब दिइरहेको हुने थियो । विभिन्न अन्तर्राष्ट्रिय भाषामा अन्तर्राष्ट्रिय भिडियो सम्मेलनहरूको आयोजना हुने थियो । नेपाली जनताले हरेक वर्ष झेल्दै आएको डुबानको समस्याको मूल कारण भारतले सीमा क्षेत्रमा बनाएका बाँध र तटबन्ध भत्काउने अन्तर्राष्ट्रिय कानुन र नजिरको आधारमा विभिन्न भाषामा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा लेख, रचना र अन्तर्वार्ताहरू आउने थियो । कोभिड–१९ ले कसरी पुँजीवादी व्यवस्था असफल भयो र आगामी विश्वको निम्ति समाजवादी व्यवस्था नै ‘नयाँ वास्तविकता’ (न्यु नर्मल) को रूपमा बौद्धिक मन्थनको केन्द्र नेपाल हुने थियो । बाढी पहिरो पीडित क्षेत्रमा जनताको राहतमा आफ्नो क्षमता परिचालन गथ्र्यो ।
तर, नेकपा कम्युनिस्टको प्रमाण ‘ठुलो’ सत्तारुढ दल भएर पनि यस्ता कुनै पनि जनताको सेवा गर्ने काममा पार्टी परिचालित छैन । बरु, आपत्मा परेका जनतासँग कुनै सरोकार नराख्ने विषयमा अनावश्यक समयको अपव्यय गरिरहेको छ । जनता आपत्मा फसेको बेला सत्ताको घिनलाग्दो खेल उछालेर नेकपालाई जनतासँग नभिजेको पार्टी पुष्टि गरेको छ । नेकपा समय समयमा चिनियाँ कम्युनिस्ट पार्टीसँग अनुभव आदानप्रदानका कार्यक्रम आयोजना गर्दछ । धेरै सङ्ख्यामा नेकपाका नेताहरू चीनको भ्रमण गर्छन् । त्यहाँ कम्युनिस्ट पार्टीले गरिरहेका कामबाट अध्ययन गर्छन् । तर, तिनले त्यसबाट केही पनि पाठ सिकेको देखिएन । चिनियाँ कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ता जनताको सेवामा समर्पित भावनाका साथ लाग्ने वास्तविकताबाट उनीहरूले किमार्थ सिक्न सकेनन् । नेकपाका नेता कार्यकर्ताको निम्ति कम्युनिस्ट पार्टीको सदस्य बन्नु जनताको सेवाको निम्ति समर्पण र त्याग गर्नु होइन, बरु पार्टी सरकारमा रहेको बेला सकेसम्म बढी फाइदा उठाउनको अर्थमा बुझेका छन् । नेपालको आजको परिस्थितिको गम्भीर अध्ययन गर्ने कोही पनि विश्लेषकले नेपालमा कुनै कम्युनिस्ट पार्टीको सरकार भएको कहीं कतै पनि अनुभव गर्नसक्दैन । बरु कम्युनिस्ट नाम भजाएर जनतालाई झुक्याएर आफ्नो दुनो सोझ्याउनेहरूको शासन भएको प्रस्ट देखिएको छ ।
कोही पनि व्यक्ति वा दल कम्युनिस्ट हो वा होइन भन्ने कुराको निक्र्योल उसको नाम के हो र उसले के भन्छ भन्ने आधारमा होइन, यो विषम परिस्थितिमा जनताका समस्या समाधान गर्न कसरी मद्दत गर्छ भन्ने आधारमा हुन्छ ।
Leave a Reply