भर्खरै :

गाईजात्रा औपचारिकतामा सीमित गर्न भक्तपुर नपाको आह्वान

भक्तपुर, १३ साउन । भक्तपुर नगरपालिकाले कोभिड–१९ को महामारी अझै पनि नियन्त्रणमा आइनसकेको कारण साउन २० गते हुने गाईजात्रा पर्वलाई सामान्य औपचारिकतामा सीमित रहने गरी मनाउन नगरवासीलाई आह्वान गरेको छ ।
नगरपालिकाले मङ्गलबार आयोजना गरेको गाईजात्रा २०७७ सञ्चालन र व्यवस्थापनबारे जात्रासँग सम्बन्धित सरोकारवालाहरूबीचको बैठकमा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) रोग काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानहरूमा फैलिरहेको तथा नेपाल सरकारले वीरगञ्ज, राजविराज, विराटनगरलगायतका सहरहरूमा निषेधाज्ञा र कफ्र्युसमेत घोषणा गरिएको अवस्थामा रोग सङ्क्रमणको संवेदनशील परिस्थितिलाई मध्यनजर गरी गाईजात्रा पर्वलाई सामान्य औपचारिकतामा सीमित गर्न सर्वसाधारण जनता एवम् सरोकारवाला पक्षहरूलाई आग्रह गर्ने निर्णय भएको छ ।
बैठकमा नगर प्रमुख प्रजापतिले जात्रा र पर्वहरू स्थगन गर्नु व्यक्तिगत र संस्थागत चाहना नभई विश्वव्यापीरूपमा फैलिरहेको कोभिड – १९ को सङ्क्रमण नियन्त्रणको लागि भएको बताउनुभयो ।
उहाँले समुदायका नागरिकहरूलाई कोरोना भाइरसको सङ्क्रमणबाट बचाउने अभिप्रायले यस वर्षको गाईजात्रालाई औपचारिकतामा सीमित गर्नुपर्ने बताउँदै क्षणिक मनोरञ्जनले पूरै समुदायलाई सङ्क्रमणको खतराबाट जोगाउनु आजको आवश्यकता भएको बताउनुभयो ।
सर्वसाधारण जनताको जीवन थप कष्टकर नबनाउन नेपाल सरकारले लकडाउनको स्वरूप परिवर्तन गरी केही खुकुलोमात्र पारेको बताउँदै प्रमुख प्रजापतिले सबैले आ–आफ्नो क्षेत्रमा जात्रालाई औपचारिकतामा सीमित गर्नको लागि आग्रह गर्नुभयो ।
नपाका उपप्रमुख रजनी जोशीले कोभिड – १९ को असहज परिस्थितिमा रोगको सङ्क्रमण रोक्न जात्रालाई सामान्यरूपमा मनाउनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर जिल्लाका सहायक प्रजिअ दुर्गादत्त ढकालले भारतमा अहिले पनि कोरोनाको जोखिम बढिरहेको अवस्थामा लुकिछिपी भारतबाट नेपाल प्रवेश गर्नेहरूका कारण सङ्क्रमणको खतरा रहेको र यही समयमा धेरै भीड जम्मा हुने गरी जात्रा सञ्चालन गरिनु खतरनाक हुने बताउनुभयो ।
कार्यक्रममा गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्द कर्माचार्यले जात्रालाई विधिवतरूपमा सीमित औपचारिकतामा सीमित गरी मनाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो । कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, भैरवनाथ जात्रा सहयोग समितिका न्हुछेराम भेले र शिवराम किजु, आकाशभैरव नौबाजा समूहका ज्ञानेन्द्रमान कायष्ठले जात्रालाई औपचारिकतामा सीमित गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्यहरू, भैरवनाथ जात्रा सहयोग समिति, नौ दाफा भजन समूह, पुलां दाफा भजन, लाकोलाछेँ दाफा भजन, चपाल दाफा भजन, भैरवनाथ जात्रा सहयोग समिति, बाराही जात्रा संरक्षण समिति, दत्तात्रय मन्दिर संरक्षण समितिलगायतका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *