भर्खरै :

नेक्राकिसङ्घको ५३ औँ स्थापना दिवस

भक्तपुर, १४ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घको ५३ औँ स्थापना दिवसको अवसरमा जिल्लास्तरीय किसान भेला भएको छ । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा बुधबार भएको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले किसान आन्दोलनको जगमा नै नेमकिपा स्थापना भएको हो भन्नुभयो ।
समयको परिवर्तनसँगै किसानहरूको समस्या पनि फरक भएको उल्लेख गर्दै उहाँले हिजो शोषक सामन्तबीच किसान सङ्घर्ष भएको थियो भने आज किसान किसानबीच पुँजीवादी विचारविरूद्ध सङ्घर्ष हुँदै छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेकपा सरकारले काठमाडौँ उपत्यकामा ४ वटा स्मार्ट सिटी बनाउने नाउँमा १ लाख ४० हजार रोपनी उर्वर भूमि अधिग्रहण गरी स्थानीयवासीलाई उठीबास गर्ने योजना बनाएको छ, यसबाट कला–संस्कृति र सम्पदा ध्वस्त हुनेछ, यो जातीय दमन गर्ने कुचेष्टा हो ।”
उहाँले भन्नुभयो, “पैसा खर्च गरेर निर्वाचन जितेर आएका सांसद र मन्त्रीहरूले देश र जनताको हितभन्दा पैसा असुलउपर गर्नेतर्फ लागेकै कारण नेताहरू भ्रष्टाचार, कमिसनतन्त्र र भूमाफियाको चङ्गुलमा फस्दै गएका हुन् ।”
उहाँले पुँजीवादी देशहरूले जनताको स्वास्थ्यप्रति चासो नराखी कोरोना केही होइन भनी बेवास्ता गर्नाले अमेरिका, भारत र इटालीजस्ता देशहरूले दुर्गति भोग्नुपरेको चर्चा गर्दै कोभिड – १९ को महामारी नियन्त्रण गर्न संसारका समाजवादी देशहरूबाट हामीले सिक्नुपर्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका सांसद सृजना सैँजूले विगतको किसान आन्दोलनको महत्व अझ बढेको छ भन्दै इतिहासबाट सिकेर हामीजस्ता किसानकै छोराछोरीहरूले पनि देश र जनताको हितमा निःस्वार्थरूपले सेवा गर्ने हौसला मिलेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “विगतको किसान आन्दोलन र अग्रजहरूको योगदान खेर गएको छैन । खोकना र बुङ्गमतिका किसानहरूको समस्याप्रति ऐक्यबद्धता जनाउँदै सङ्घर्षमा साथ दिनु सकारात्मक पक्ष हो ।”
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले नेक्राकिसङ्घको स्थापना दिवस हरेक नगर र वडा वडामा मनाउँदै नयाँ पुस्तालाई विगतको किसान आन्दोलनबारे सचेत पार्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आयोजक समितिका अध्यक्ष गोविन्द दुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा किसान सङ्घका केन्द्रीय प्रतिनिधि विश्वनाथ प्रजापति, केशवप्रसाद तिमिल्सेना र नारायणभक्त न्हेम्हाफुकीले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो ।
काठमाडौमा प्रवचन
यसैबीच नेक्राकिसङ्घको स्थापना दिवसकै अवसरमा सङ्घको काठमाडौँ जिल्ला समितिको आयोजनामा बुधबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका वैकिल्पक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले नेक्राकिसङ्घको साँढे धपाउने आन्दोलन, बाली काट्ने आन्दोलन, भर्पाइ आन्दोलन, मोहियानी हक सुरक्षा आन्दोलनबारे जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचार हो । जनतालाई माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ्ग विचारधाराबारे सुसूचित गर्न सके समाजवादी आन्दोलन अगाडि बढाउन सजिलो हुन्छ ।”
कार्यक्रममा वीरबहादुर डंगोल, राजवीर डंगोल, नारायण महर्जन र विष्णुबहादुर खत्रीले पनि बोल्नुभएको थियो ।
सुर्खेतमा पनि किसान भेला
नेक्राकिसङ्घको स्थापना दिवसको अवसरमा बुधबार सुर्खेतमा पनि किसान भेला भयो ।
नेक्राकिसङ्घ सुर्खेत जिल्ला समितिको आयोजनामा भएको भेलामा नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले नेक्राकिसङ्घले स्थापनाकालदेखि सामन्त र भूमिपतिको ज्यादती र शोषणविरूद्ध सङ्घर्ष गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा प्रेमकुमार थापा, टीकाप्रसाद पोख्रेल, पुष्प राना, देवीराम सिजापती र जगत लामिछानेले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *