भर्खरै :

पश्चिमभन्दा अब्बल पूर्वी एसिया

महामृतक सङ्ख्याले झूट बोल्दैन । कोभिड–१९ को कारण मृतक सङ्ख्यामा सबभन्दा अचम्म लाग्ने अन्तर पूर्वी एसियाली देश र पश्चिमा देशहरूबीच छ । अहिलेसम्म पूर्वी एसियाली देशहरूको प्रतिदस लाख बासिन्दामध्ये कोभिड–१९ को कारण मर्नेको सङ्ख्या दस छ भने पश्चिमका देशमा यो अनुपात सयौँ पुगेको छ । उदाहरणको लागि, जापानमा प्रतिदस लाख जनसङ्ख्या कोभिड–१९ को मर्नेको सङ्ख्या ७.८ छ । दक्षिण कोरियामा ५.८, सिङ्गापुरमा ४.६, चीनमा ३.२ छ । सबभन्दा उल्लेखनीय सङ्ख्या त भियतनाम हो । भियतनाममा अहिलेसम्म कोभिड–१९ को कारण एक जना मानिसको निधन भएको छैन । तर, बेल्जियममा प्रतिदस लाख जनसङ्ख्या ८४६ जनाको निधन भएको छ । बेलायतमा ६६९, स्पेनमा ६०८, इटालीमा ५८० र संरा अमेरिकामा ४२९ जना मानिसको निधन भएको छ ।
यो अस्वाभाविक भिन्नताको कारण के हुनसक्छ ? यो प्रश्नको उत्तर दिन सजिलो छैन । तर, यसका सम्भावित तीन कारण हुनसक्छन् । पहिलो कारण, पूर्वी एसियाका कुनै पनि देशले फ्रान्सिस फुकुयामाको ‘इतिहासको अन्त्य’ मा उल्लेखित मानिसले हासिल गर्नसक्ने अधिकतम सम्भावनाको उचाइमा आफू पुगेको कुरामा विश्वास गर्दैनन् ।
दोस्रो कारण, पूर्वी एसियाका देशहरूले सरकारी संस्थालाई कमजोर बनाउनुको सट्टा बलियो बनाउन लामो समयदेखि लगानी गरिरहेका छन् । अहिले उनीहरू त्यसैको प्रतिफल चाखिरहेका छन् । तेस्रो, चीनको भव्य उदयले उसका क्षेत्रीय छिमेकी देशहरूलाई अवसरका साथै चुनौती पनि थपिएको छ ।
अति सरलकीकरण जहिले पनि खतरनाक हुन्छ । तथापि, प्रमाणहरूले युरोपेलीहरू राज्य प्रायोजित सामाजिक सुरक्षामा विश्वास गर्छन् भने पूर्वी एसियालीहरू सङ्घर्ष र त्यागले भरिपूर्ण जीवनमा विश्वास गर्छन् । फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंलाई त्यहाँको पेन्सन प्रणालीमा सुधार र अवकाशपछि दिइने सुविधा कटौती गरेर अपरिहार्य बनेको बजेट घाटा टाल्न ठुलै जोखिम उठाउनुप¥यो । त्यसैकारण फ्रान्स महिनौँसम्म ‘एल्लो भेस्ट’ विरोध प्रदर्शनमा अल्झिनुप¥यो । तर, सन् १९९७–९८ मा दक्षिण कोरिया जब ज्यादै गम्भीर खालको वित्तीय सङ्कटमा फस्यो, त्यहाँका बुढी महिलाहरूले सहायतास्वरूप केन्द्रीय बैङ्कलाई आफ्ना गरगहना चन्दा दिएका थिए ।
पूर्वी एसियालीहरू पछिल्ला दशकमा आफ्नो समाज समृद्ध बन्दै गएको अनुभव गरिरहेका छन् । तथापि, तीव्रगतिमा परिवर्तन भइरहेको विश्वमा लगातार अनुकूलित बन्दै जानुपर्ने अवस्था छ । सार्वजनिक संस्थामा ती देशका सरकारले गरिरहेको बढ्दो लगानीले उनीहरूलाई यो अवस्था सामना गर्न सहज बनेको छ ।
संरा अमेरिकासँगको अन्तर फराकिलो नहुनसक्थ्यो । सन् १९८१ मा राष्ट्रपति निर्वाचित भएर रोनाल्ड रेगनले दिएको पहिलो भाषणमा ‘सरकार सबै समस्याको समाधान होइन, बरु सरकार नै समस्या हो’ भन्ने भनाइ पछि अमेरिकामा ‘असल शासन’ शब्द नै विरोधाभासपूर्ण बनेको छ । यस्तो मनस्थितिको परिणाम हामीले पछिल्ला सातामा फेरि देख्यौँ । संरा अमेरिकी सङ्घीय उड्डयन विभाग, संरा अमेरिका खाद्य तथा औषधि विभाग र संरा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रजस्ता संसारभर गनिएका संस्थाहरू कमजोर बन्दै गएबाट यस्तो मनस्थिति उजागर भएको छ । अनेकन सङ्कटले थलिएको अवस्थामा पनि आज कोही पनि संरा अमेरिकी नेताहरूले ‘सरकार नै समाधान हो’ भन्ने हिम्मत गर्दैनन् ।
अर्कोतिर पूर्वी एसियाली समाज असल शासनको गहिरो र बलियो विश्वासमा अडेको छ । यसले सरकारी संस्थाप्रति आदर गर्ने एसियाली परम्परा प्रतिबिम्बत गरेको छ । उदाहरणको लागि भियतनामले महामारीलाई प्रभावकारी तरिकाले व्यवस्थापन गर्न सक्नुको कारण त्यहाँको सरकार संसारकै सबभन्दा अनुशासित सरकारमध्येको एक भएरमात्र होइन, बरु सरकारले स्वास्थ्य क्षेत्रमा गरेको बुद्धिमत्तापूर्ण लगानीको कारणले पनि हो । सन् २००० देखि २०१६ सम्ममा त्यहाँको प्रतिव्यक्ति जनस्वास्थ्य क्षेत्रमा लगानी प्रतिवर्ष औसत ९ प्रतिशतले बढेको छ । यसले सन् २००२–००३मा सार्सको महामारी फैलिंदा भियतनामलाई राष्ट्रिय जनस्वास्थ्य आपत्कालीन केन्द्र र अनुगमन प्रणाली बनाउन सक्षम बनायो ।
भियतनामले निकै तल्लो तहबाट सुरु ग¥यो । त्यस आधारमा उसले गरेको प्रगति चकित पार्ने खालको छ । तीन दशकअघि शीतयुद्ध समाप्त हुँदा र झन्डै ४५ वर्ष लगातार लडाइँ लडेर अन्ततः लड्न छोड्दा त्यो देश संसारकै सबभन्दा गरिब मानिस बस्ने देशमध्ये थियो । तर, उसले चीनको आर्थिक ढाँचाबाट सिक्यो । वैदेशिक व्यापार र लगानीलाई भित्यायो । भियतनाम अन्ततः संसारकै सबभन्दा तीव्रगतिमा विकास भएको अर्थतन्त्रमा गनिएको छ ।
सन् २०१६ मा विश्व बैङ्कका तत्कालीन सभापति जिम योङ किमले बितेका २५ वर्षमा भियतनामको औसत वार्षिक आर्थिक वृद्धिदर झन्डै ७ प्रतिशत हुनुले त्यो देशलाई एकै पुस्तामा मध्यम आयको आर्थिक स्तरमा पु¥याउने फड्को मार्नसक्ने बनायो । त्यही बेला किमले भियतनामले अति गरिबी दर ५० प्रतिशतबाट मात्र ३ प्रतिशतमा झार्ने ‘विशेष उल्लेखनीय उपलब्धि’ हासिल गर्न सम्भव बनाएको भनी प्रशंसा गरेका थिए ।
तर, भियतनामको यो सफलता आकाशबाट खसेको पक्कै होइन । सोभियत सङ्घको विघटनपछि भियतनाम पूर्व एसियामा अस्तित्वमा रहेका विभिन्न क्षेत्रीय सङ्गठनहरू जस्तै दक्षिणपूर्वी एसियाली देशहरूको सङ्गठन आसियान र एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) मा सामेल बन्यो । त्यस्ता सङ्गठनमा गएर उसले चीनलगायत आफ्ना छिमेकी देशबाट धेरै कुरा सिक्यो । हालसालै मात्र भियतनाम एघार देशहरूबीच भएको विस्तृत तथा प्रगतिशील अन्तरप्रशान्त साझेदारी सहमतिमा सामेल बनेको छ ।
चीन र भियतनामबीच पछिल्लो पटक सन् १९७९ मा लडाइँ भएको थियो । त्यसकारण, चीनको पुनरोदयलाई लिएर भियतनामले स्वभावतः असुरक्षा पनि महसुस गर्नसक्छ । तर, यस्तो असुरक्षाभावले भियतनामका नीतिनिर्मार्ताहरूलाई अझ बढी रणनीतिकरूपमा अनुशासित र सावधान बनाएको छ । यसले महामारीको समयमा भियतनामलाई विशेष भूमिका खेल्नसक्ने बनाएको छ । चीनको उदयले जापान र दक्षिण कोरियालगायत केही छिमेकी देशलाई यसरी नै बलियो बन्न मद्दत गरेको छ ।
सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले प्रायशः इन्टेलका प्रमुख कार्यकारी अधिकारी (सीइओ) एन्डी ग्रुभको मन्त्र– ‘शङ्कालुमात्र टिक्नसक्छ’ दोहो¥याउने गर्छन् । शङ्कालु हुनु सामान्यतः नकारात्मक कुरा हो । तर, यसले प्रतिकूलतासँग भिड्न र आफू जोगिन बलियो शक्ति भने प्रदान गर्छ । ठुलठुला प्रतिकुलतासँग लड्ने बलियो प्रतिबद्धताले पनि पश्चिमा देशको तुलनामा पूर्वी एसियाली देशले महामारीविरुद्ध प्रभावकारी तरिकाबाट लड्न सक्नुको कारण हो । अनि यदि ती क्षेत्रीय आर्थिक शक्ति चाँडै पुनःस्थापना भए निराशामा डुब्दै गरेको आजको संसारलाई थोरैमात्र भए पनि आशाको किरणले उज्यालो बनाउनेछ ।
सिङ्गापुरको नेसनल विश्वविद्यालयअन्तर्गत एसिया अध्ययन प्रतिष्ठानका वरिष्ठ प्राध्यापक किशोर महबुबानी ‘ह्याज चाइना वन ?’ नामको पुस्तकका लेखक हुनुहुन्छ ।
स्रोत ः प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवाद ः सुमन 

Leave a Reply

Your email address will not be published. Required fields are marked *