नेपालका अनलाइन तथा युट्युब च्यानल (न्यु मिडिया) ले २०७६ माघ २९ गते बुधबार बिहानैदेखि एकाएक सिन्धुपाल्चोकमा भित्रियो कोरोना भाइरस भन्दै अफवाह फैलाए । त्योभन्दा धेरै त सामाजिक सञ्जाल फेसबुक–ट्वीटरका व्यक्तिगत भित्ताले उक्त अफवाहलाई सेयर र प्रमोट गरे । चिन्ता, चासो, सतर्कता प्रकट गर्ने नाममा हुँदै नभएको विषयलाई ठोकुवा गरेर अफवाह फैलाउन कहाँ पाइन्छ ? बडेमानका सनसनीपूर्ण हेडलाइन राखेर प्रकाशित सूचना कस्ता थिए ? ‘नेपालमा भित्रियो कोरोना भाइरस’, ‘सिन्धुपाल्चोकको गुम्बागाउँमा कोरोना’, ‘सिन्धुपाल्चोकमा घातक रोग कोरोना’ ‘दुईसय बढीलाई एकैपटक सङ्क्रमण’, ‘सय जनाभन्दा बढीमा कोरोना’ …. आदि ।
कोरोनाको महामारीबाट छिमेकी राष्ट्र पूर्णरूपमा प्रभावित छ । हजारौँ मरिसके, औषधि पत्ता लागेको छैन । यस्तैबेला सिन्धुपाल्चोकमा कोरोना फैलियो अरे ¤ भन्ने हल्लाले देशभर तनाव फैलायो । सामाजिक सञ्जाल फेसबुक, युट्युब तथा अनलाइनमा आएका समाचार केही घण्टामै असत्य सावित भयो ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. ३ गुम्बा गाउँमा फैलिएको मौसमी फ्लुलाई कोभिड–१९ को संज्ञा दिँदै जसरी आक्रामक हेडलाइनसहित समाचार सम्प्रेषण भए, त्यसमा न सत्यता थियो, न त तथ्यता । कुनैले दुई सत्न्दा बढी सङ्क्रमित भन्न भ्याए, कुनैले एकसय सात जनाभन्दा बढी बिरामी भएको उल्लेख गरे । कुनैले चीनसँग सीमाना जोडिएको कारण कोरोना फैलिएको बताए । जुगल गाउँपालिकाले माघ २८ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई लेखेको पत्रको हवाला दिँदै सन्दर्भ बङ्ग्याएर अतिरञ्जना गरेको पाइयो । फ्लु प्रभावित त्यो ठाउँमा चिनियाँ नागरिकको आवतजावत हुने अवस्था थिएन कोरोना फैलने अन्य कुनै भरपर्दो कारण पनि थिएन । सत्य होस् वा नहोस् सनसनीपूर्ण शीर्षक बनाएर अत्यधिक सेयर तथा भ्युज बढाउने गैरजिम्मेवार कार्य अधिकांश न्यू मिडियामा देखियो । विषयवस्तुको गाम्भीर्यता, सत्यताको क्रसचेक, दोहोरो परीक्षण परको कुरा, ब्रेकिङ् न्युजको हतारोमा शीर्षकदेखि समाचार सामग्री पूरै हुबहु गरियो । हातमा मोबाइल र झोलामा ल्यापटप भएपछि सञ्चालन गर्न सकिने, आमनागरिकमा सहज पहुँचको कारण प्रभावकारी माध्यमको रूपमा उदाएको न्यू मिडियाले मान्छेलाई जमिनबाट सगरमाथाको चुच्चोमा पु¥याउन, आकाशसम्म चुलेको मान्छेको प्रतिष्ठा क्षणभरमै जमिनमा थेचार्न बेर लाग्दैन । बन्दुक छ भन्दैमा गोली चलाउँदा वा कलम छ भन्दैमा मनपरी लेख्दा ज्यान जोखिममा पर्नसक्छ । यसो त युट्युब पत्रकारिताभित्र पर्दैन तथापि अनलाइनमार्फत सञ्चालित युट्युबको हकमा पत्रकार आचारसंहिता लागू हुनैपर्छ । पत्रकार आचारसंहिता २०७३ संशोधित – २०७६ को दफा (५) १४ अनुसार पत्रकार वा सञ्चारमाध्यमले व्यक्तिको स्वास्थ्य, महामारीलगायत जनस्वास्थ्यसँग सरोकार भएका विषयसम्बन्धी सामग्री पाठक, स्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुने गरी अतिरञ्जित तवरको सम्प्रेषण गर्नुहुँदैन । सामाजिक कल्याण, उद्धारलगायत कतिपय सन्दर्भमा प्रभावकारी भूमिका निभाइरहेका न्यू मिडियालाई दुरूपयोग हुन नदिन प्रभावकारी नियमनको खाँचो छ । आचारसंहिता, पत्रकारिताको मूल्यमान्यतासम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान लिएरमात्र मिडिया सञ्चालन गर्न पाउने नीति आवश्यक देखिन्छ ।
चीनको हुबेई प्रान्तको राजधानी उहान सहरमा पहिलोपटक सन् २०१९ डिसेम्बर ३१ मा कोरोना भाइरस डिजिज (कोभिड–१९) देखाप¥यो । सिन्ह्वा न्युज एजेन्सीअनुसार फेब्रुअरी २७ सम्ममा कोरोनाबाट २ हजार ७४४ जना चिनियाँ नागरिकको मृत्यु भएको छ भने सङ्क्रमित हुनेको सङ्ख्या ७८ हजार ४९७ पुगेको छ । उहान, सेनचेन, क्वाङतुङ्मा महामारीजस्तै फैलिएको कोरोनाको रोकथाम र नियन्त्रणको प्रयास प्रभावकारी बन्न सकेको छैन । सर्प तथा चमेरो प्रजातिका जीवबाट विकसित कोरोना सङ्क्रमणले १००.४ डिग्री फरेनहाइट ज्वरो आउने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या आउने र निमोनिया भई मानिसको ज्यान जान्छ । विश्वभर जनजीवन र अर्थतन्त्र असामान्य बन्दै गएको छ । नेपाल भ्रमण वर्ष, २०२० को उद्घाटन पूर्वसन्ध्यामा चीनमा फैलिएको कोरोनाले फिलिपिन्स, इजिप्ट, इरान, ताइवान, फ्रान्स, जापान, सिङ्गापुर, हङकङ, स्पेन, इटाली, जर्मनी, कोरियालगायत २८ बढी देशको जनजीवन प्रत्यक्ष प्रभावित भएको छ । हाम्रोजस्तो आर्थिक विपन्न राष्ट्रमा कोरोना भित्रियो भने हालत के होला ? कल्पना पनि गर्न सकिन्न ।
दफा (४) ११ अनुसार पत्रकार वा सञ्चारमाध्यमले प्राकृतिक विपद्, विशेष संवेदनशील अवस्था वा घटनाका सम्बन्धमा सूचना सामग्री सङ्कलन र सम्प्रेषण गर्दा संयमित भई व्यक्तिको जीवनमाथिको खतरा, मानवीय सम्वेदना, सार्वजनिक सुरक्षा, जनस्वास्थ्य, सामाजिक सद्भावजस्ता विषयमा विशेष सम्वेदनशीलता र सतर्कता अपनाउनुपर्दछ ।
न्युज २४ टीभीको सीधा कुरा जनतासँग नामक कार्यक्रम प्रस्तोता रवि लामिछाने आपूm पत्रकार नभएको दाबी गर्छन् । समाचार सङ्कलन गर्छन्, प्रशोधन गर्छन्, सम्प्रेषण गर्छन् । सञ्चारमाध्यममा प्रकाशित प्रसारित विषयवस्तुको अनुगमन गर्ने, कैफियत भेटिए वा उजुरी परेमा ध्यानाकर्षण गराउने, सचेत गराउने, बारम्बार अटेरी गरेमा कालोसूचीमा राख्ने, प्रेस पास निलम्बन वा सरकारी सुविधा रोक्का गर्न सिफारिस गर्ने काउन्सिलको कानुनी क्षेत्राधिकार हो । उजुरीको आधारमा पत्राचार गर्दा लामिछानेले लिखितम् जवाफमा भने, “काउन्सिलले दिने पास लिनुभन्दा जुत्ता पालिस गरेर बस्छु, मलाई दुःख दिने काम नहोस् ।” पत्रकारिताको कर्म गर्ने व्यक्तिलाई प्रेस पास कसले दिन्छ ? भन्नेसम्मको हेक्का नहुनु, पत्रकारिताको न्यूनतम मान्यता तथा काउन्सिलको क्षेत्राधिकारबारे जानकारी नहुनु दुःखद पक्ष हो । कानुनी राज्यमा कानुनको अज्ञानता दण्डनीय हुन्छ । प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम मिडियाका विभिन्न विधा र क्षेत्रमा क्रियाशील पत्रकारहरूको प्रतिनिधित्व हुने काउन्सिलमाथि उनी जसरी खनिए, लाञ्छना लगाए, समाचार बनाए, सामाजिक सञ्जाल र आफ्नो च्यानलमार्फत काउन्सिल पदाधिकारीमाथि तथानाम भन्न भ्याए । आज पनि ती विषय पुष्टि गर्न उनलाई गाह्रो छ । संस्थागत कामकारबाहीलाई व्यक्तिगत इगो साँधेर कतिपय प्रसङ्गमा नेतृत्वमाथि जे–जति आरोप लगाए, ती निरूपण भइसकेको विषय÷प्रसङ्ग थिए । प्रेस जगत्को अनुगमन गर्ने निकायमाथि च्यालेन्ज गर्ने उनले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला अदालतबाट सफाइ पाए पनि हरेक व्यक्तिले उक्त प्रकरणको सिलसिला बुझ्न जरुरी छ । प्रस्तोता लामिछानेको आक्रामक प्रस्तुतिको कारण सानातिना मुटुवाला पुर्लुक्कै ढल्छन् । कारण यही हो, लामिछानेका पूर्वसहकर्मी तथा पत्रकार पुडासैनी विवाहित पुरुष भइकनपनि अवैध सम्बन्धमा थिए । यही कारण प्रेमिकाले सम्बन्ध ब्रेकअप गर्ने अनेक कोसिस गरिन्, न्युज २४ बाट प्रसारण गरिदिने थ्रेट दिइन्, उक्त च्यानलमा पुगेको तस्बिर देखाइन् । लामिछानेको आक्रामक प्रस्तुतिमा समाचार आएपछि सामाजिक बहिष्कार, बेइज्जत हुने डरले पुडासैनीले आत्महत्याको बाटो रोजे । धरधरी रुँदै, बिलौना पोख्दै दाइ तिमीलाई पाप लाग्छ, तिम्रो कारणले म मर्दै छु, यो संसारमा मलाई बाँच्न दिएनौ ¤ भिडियोमा भनेका छन्, भएको यति नै हो, सङ्र्घष गर्नुको साटो ज्यान फाल्नु कायरता हो । यो फन्डामा सफाइ पाएलगत्तै रविले आफ्नो कार्यक्रममार्फत भने, “अनुसन्धानमा हुनुपर्ने भिडियो कसरी बाहिरियो ?” भिडियो बाहिरिनु वा भित्रिनु पत्रकारको लागि सामान्य विषय हो तर नक्कली हो या सक्कली उनी मौन देखिए, पूर्वसहकर्मीले आत्महत्याको पूरै दोष उनीमाथि छोडेर धर्ती छाडे । यसकारण निष्कलङ्क उनी रहेनन् । अहिले आएर लामिछानेलाई पुडासैनीको हत्यारा हो भन्दै जनआस्थाले समाचार प्रकाशित ग¥यो भने रवि लामिछानेकै पारा हुन्न र ?
सेलिब्रेटी पत्रकारिता गर्दै आएका लामिछाने अतिरञ्जना फैलाउनेमा पर्छन् । २०७५ भदौ १ गतेदेखि लागू हुने फौजदारी तथा देवानी संहिताको प्रावधान र मिडियामा पर्नसक्ने प्रभावबारे गहन छलफल गर्न मिति २०७५ असार ६ गते, बुधबार न्यायाधीश, मिडियाविज्ञ, सुरक्षाकर्मी, वरिष्ठ पत्रकारबीच अन्तरक्रिया भयो ।
संहिताका कतिपय प्रावधानबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यको नियन्त्रण रहने भन्दै मुख्य चासो चिन्ता लिई अभिभावक संस्थाको तर्फबाट उक्त कार्यक्रम आयोजना गरिएको थियो । उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा प्रस्तुत ९१ पृष्ठ लामो कार्यपत्रभित्र लामिछानेको कडा जवाफवाला २ पृष्ठको पत्र थियो । तीन घण्टा लामो कार्यक्रममा मुश्किलले ३० सेकेन्ड उनको जवाफले स्थान पायो । एकातिर प्रेस नियन्त्रित कानुन आउने, अर्कोतिर लामिछानेजस्ता संस्थामाथि चुनौती दिने व्यक्ति चिच्याउने । “रवि लामिछानेलाई तीन वर्ष कैद हुनसक्ने” शीर्षकमा घटना र विचार अनलाइनमा समाचार आएपछि असार ७ गते, बिहीबारको सिधा कुरा जनतासँग कार्यक्रममा उनी आक्रामकरूपमा प्रस्तुत भए । अनलाइनकै समाचारको आधारमा भने – मलाई जेल हाल्ने षडयन्त्र गरियो । यस्तै काल्पनिक, निरूपण भइसकेका विगतका प्रसङ्ग कोट्याउँदै काउन्सिल कार्यवाहक अध्यक्षविरुद्ध पूरै एपिसोड प्रसारण गरे । समाचार शीर्षक आक्रामक राख्ने र हेरुँ–हेरुँ लाग्ने बनाउने तरभित्र गुदी कुरो केही नहुने धेरैजस्तो अनलाइनको रोग नै हो । अनलाइनमा प्रकाशित शीर्षकजस्तो लामिछानेलाई जेल हाल्ने वा नियन्त्रण गर्नेबारे कार्यक्रममा कसैले भनेको वा चर्चा भएकै थिएन । कुनै पत्रिकामा देवानीसंहिताको प्रावधान कोट गरेर, लामिछानेलाई जोडेर आक्रमक शीर्षकमा समाचार आउँदा त्यसमा काउन्सिलको के दोष ? समाचारको मुख्य सार, सत्यता परीक्षण उनको धैर्यताभित्र पर्ने कुरै थिएन र आक्रामक साँढेजस्तै प्रस्तुत भए । पत्रकारिताको मूल्यमान्यता, काउन्सिलको कार्यक्षेत्रबारे लामिछाने अनभिज्ञ नै देखिए । कूटनीतिक रातो पासपोर्ट दुरूपयोग भन्दै किंवदन्ती प्रसारण गरे । दुईहप्ता बित्न नपाउँदै प्रधानमन्त्रीको निर्देशनमा २०७५ असार २० गते, कार्यबाहक अध्यक्ष श्रेष्ठको रातो पासपोर्ट खोसियो भनेर न्युज २४ ले समाचार प्रसारण गरेको मात्रै के थियो, पूर्वसचिव भीम उपाध्यायले फेसबुकमा र धेरै अनलाइनले यही प्रसङ्ग तँछाडमछाड गर्दै ‘न्युज ब्रेक’ गरे । उक्त पासपोर्ट कसैलाई बेचेको नि होइन, त्यसबाट आर्थिक लाभ लिएको नि होइन, राज्यलाई आर्थिक भार पारेको पनि होइन, कसरी दुरूपयोग भयो ? समाचार सुन्दा, अनलाइन पढ्दा अचम्म लाग्यो । जुन दिन यी समाचार छ्यापछ्याप्ती आए, त्यो दिन कार्यबाहक अध्यक्ष श्रेष्ठ मातृशोकमा हुनुहुन्थ्यो । रातो पासपोर्ट खोसिएको भन्ने ती समाचारहरू अतिरञ्जना थिए, गलत सावित भए । उहाँ त्यही पासपोर्ट प्रयोग गरेर अहिले पनि औपचारिक बैठकहरूमा विदेश गइरहनुभएको छ ।
काउन्सिलको पदाधिकारी हुनको लागि सर्वोच्च अदालतको न्यायाधीश हुन योग्य, न्याय तथा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान गरेको व्यक्ति हुने प्रावधान नै छ । साथै विश्व प्रेस काउन्सिलको प्रथम उपाध्यक्षको हैसियतमा उतिबेला अन्तर्राष्ट्रियस्तरमा सम्बन्ध विस्तारका प्रयासमा लागेको व्यक्तिमाथि पीआरधारी, विदेशी नागरिकताबाहेकले लगाएको आरोप मिथ्या भयो । अफवाहपूर्ण समाचार प्रकाशन भएदेखि अहिलेसम्म नेपाल सरकारले बकाइदा निर्णय गरेर दिएको रातो पासपोर्ट का.वा. अध्यक्षसँग नै छ, कोही माग्न आएको छैन, सरकारले खारेज गरेको पनि छैन ।
न्यु मिडियामा धेरैजसो भविष्यवाणी, सनसनीपूर्ण सामग्री देख्न पाइन्छ । २०७२ साल वैशाख १२ गते, ११ः५६ बजे, ७.६ रेक्टरको भूकम्प आउँदा आमसञ्चारमाध्यमहरूमा क्षतविक्षत मानव शरीर, बिग्रे–भत्केको भग्नावशेष संरचनासम्बन्धी समाचार सामग्रीमात्रै प्रकाशन प्रसारण भए । राजधानीलगायत केही जिल्ला पूरै ध्वस्त भएको, धेरै हताहती भएको सन्देश देशविदेश फैलियो । भूकम्पमा परेर जेनतेन ज्यान जोगाएकाहरू त्रासमा थिए भने मिडियाले प्रसारित गरेका सामग्रीले जनजीवन पूरै आतङ्कित बनायो । पश्चिम नेपाललगायत देशविदेशमा रहने सबैले बुझ्ने दृष्टिकोण यस्तो बन्यो कि काठमाडौँ खाल्डो सबै डुब्यो, ध्वस्त भयो, कोही बचेनन् । यसैबीच केही अनलाइनले ज्योतिषी पत्रकारितामार्फत थप आतङ्क सृजना गरे । ठुलो धनजनको क्षति व्यहोरिरहेको समाजलाई थप आतङ्कित पारे । एक अनलाइनले लेख्यो – “नेपालमा ९० सालको भूकम्पभन्दा तीस गुणा ठुलो भूकम्पको खतरा ।” लाइक, सेयर, भ्युज बढाउने नाममा आतङ्ककारी कार्य गर्न न्यु मिडियालाई कसरी छुट भयो ?
सबैलाई अर्ती उपदेश र शिक्षा दिने जिम्मेवार पत्रकारिता हल्लाको पछि कुद्ने, बिग्रेपछि कान समात्नुपर्ने – जिब्रो टोक्नुपर्ने पश्चातापको पेशा होइन । पुष्टि नहुने हल्लाहरू समाचार होइनन् । समाचार बन्नलाई कहिले, कहाँ, किन, कसरी, के भयो ? वस्तुनिष्ठ, सत्यतथ्य, सन्तुलित विवरण हुनुपर्छ । सामाजिक सञ्जालमा आजकाल प्रायः मान्छेहरू अभ्यस्त छन्, अनलाइनमा आएका समाचार सामग्रीको विश्वसनीयता परीक्षण गर्ने, अक्षरशः सामग्री अध्ययन गर्ने फुर्सद सबैलाई हुँदैन, मिल्दैन पनि । यसकारण मान्छेहरू शीर्षकमात्रै हेरेर धारणा बनाउँछन्, लाइक–कमेन्ट गर्छन् अनि सेयर गर्छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेब्रुअरी २४–२५ को दुईदिने भारत भ्रमणमा पनि त्यस्तै अतिरञ्जना फैलाउने सामग्री पोस्ट भए । भिजिट स्मार्ट डटकम, टुरिजम एरियाज डटकमलगायतले “ट्रम्प, मोदी र राजा ज्ञानेन्द्रको भेट–राजसंस्था फर्किने चर्चित अमेरिकी पत्रिकाको खुलासा ¤” “नेपालमा राजासहितको सैनिक शासन नआएसम्म देश विकास नहुने भयो– भीम रावल” लगायत सनसनीपूर्ण शीर्षक दिँदै तथ्यहीन सामग्रीले सञ्जाललाई दुर्गन्धित बनाए । क्लिक तथा सेयर गर्न मिल्ने, क्लिक गर्दा पर्दामा देखिएजस्तो सामग्री नहुने, अनलाइनको पेजमात्र खुल्ने, फोटोसप गरेर बनाइएका फेक सामग्री जुन न्युयोर्क टाइम्समा प्रकाशित भएकै छैनन् । तिनै फेक सामग्रीलाई सत्यता परीक्षण नगरी राजावादीदेखि थुप्रै पत्रकार, नागरिकले समेत सेयर गरेको पाइयो ।
दर्ता नभई मुलुकभित्र र बाहिरबाट सञ्चालित अनलाइनको नियमन गर्ने, अनुगमनको दायरामा ल्याउने सम्बन्धमा मिति २०७६÷०४÷३० गते प्रेस काउन्सिलको पहलमा पत्रकार महासङ्घ, दूरसञ्चार प्राधिकरण, सीआइबी, अपराध अनुसन्धानलगायत सरोकारवाला निकायका प्रमुखबीच छलफल भई त्यसरी दर्ता नभएका, ठाउँ ठेगान पत्ता नलागेका अनलाइनमाध्यमलाई मिति तोकेर दर्ता तथा सूचीकरण हुन आह्वान गर्ने, विषयवस्तुको गम्भीरता हेरी नेपालमा रोक लगाउने, सरोकारवाला सम्मिलित टास्कफोर्स कमिटी गठनमार्फत विशेष निर्णय हुनुपर्ने सुझाव आएको थियो । यसबारे प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ ।
बन्दुकको गोलीभन्दा कलमसँग बढ्दा ताकत हुन्छ । आर्थिक बिटमा पत्रकारिता गर्दा अनुभव सुनाउँदै नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्वअध्यक्ष गोकर्ण अवस्थी भन्छन्, “युनाइटेड विकास बैङ्क डुब्न थालेको जानकारीमा प्राप्त भयो । प्राविधिक त्रुटिवस् युनाइटेड फाइनान्स बस्न बैङ्क डुब्दै शीर्षकमा समाचार प्रकाशित भयो । बचतकर्ताले उक्त बैङ्कबाट एकैदिनमा करोडौँ रकम झिके, बैङ्क ठुलो घाटामा गयो । पत्रिकामा तुरुन्तै भूलसुधार गर्ने उपाय थिएन । अञ्जानवश हुन गएको गल्तीप्रति क्षमायाचनासहित मैले विज्ञप्ति त जारी गरेँ । तैपनि बैङ्किङ् कारोबारमा ठुलो क्षति भयो ।” उनी भन्छन्, यो अन्य पेशाभन्दा बढी जिम्मेवार हुनुपर्ने पेशा हो, हामी धेरै जिम्मेवारी र जवाफदेही बन्नुपर्छ । मेरो जीवनको अविस्मरणीय दुःखद घटना हो ।
स्रोत ः संहिता
चैत २०७६÷जेठ २०७७

महेन्द्रराज सिँह image
महेन्द्रराज सिँह
(लेखक प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासन सहायक हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *