सिद्धान्त र विचारलाई ख्याल नगर्ने नेताहरू अवसरवादी हुन्छन् भने कुरामा शङ्का नगरे हुन्छ । गुट–उपगुटमा रहेका नेताहरू त झन् आफूलाई जता फाइदा होलाजस्तो लाग्छ त्यतैतिर पल्किन्छन् या लाग्छन् । देशमा आमूल परिवर्तनको निम्ति राजनीतिमा लागेका नेताहरू पद पाउने आशामा कहिले कता कहिले कता लाग्नु लाजमर्दो कुरा हो । एक समय नेकपाका नेता वामदेव गौतम प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र थिए । उनै व्यक्ति समय क्रममा ओलीकै कट्टरविरोधी देखिए । त्यस्ता अवसरवादी पात्रलाई कहिले पुष्पकमल दाहालले त कहिले केपी ओलीले आफूतिर तान्नु अस्वाभाविक होइन । कसैले लोभ देखायो भनेर कहिले ओलीको त कहिले दाहालको पक्षमा लाग्नु कुनै पनि नेतालाई सुहाउँदैन ।
नेकपाभित्रको आन्तरिक द्वन्द्व नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीचको हो । आन्तरिक द्वन्द्वमा नेकपाका नेताहरू ओली र दाहाल पक्षतिर लाग्नु स्वाभाविक हो । तर, एकै व्यक्ति कहिले ओली र कहिले दाहालको पक्षमा लाग्दा उनीप्रति नेता, मन्त्री, सांसद, कार्यकर्ता र जनताको विश्वास घट्छ अर्थात् त्यस्ता नेताहरू विश्वास गर्नलायकका हुँदैनन् । अडान नभएका नेताहरूको विश्वास हुँदैन । अडान नभएका र विचारको ठेगान नभएका नेताहरूको भरमा न पार्टी चल्छ, न देश चल्छ । त्यस्ता कम्युनिस्ट भनिने नेताहरूले देशमा परिवर्तन गर्लान् भन्ने विश्वास त झनै गर्न सकिँदैन । नेकपाभित्र त्यस्ता अवसरवादी नेताहरूको झुण्ड नै छ ।
आफ्नो जीवन सङ्गिनीसँगै केपी ओली नेता वामदेवको घरमा जाँदैमा उनी केपी ओलीको पक्षधर हुन्छ भन्ने नापो त होइन । तर, केपी ओली उनको घरमा त्यसै पुग्दैनन् । त्यसभित्र राजनीतिक रहस्य अवश्य रहेको हुन्छ । नेता गौतमको रिस सेलाउन पनि हुनसक्छ । नेता गौतमले राखेको ६ बुँदे प्रस्तावबारे थाहा पाउन पनि भेटघाट गरेको हुनसक्छ । कारण भेटघाट जस्तो भए पनि त्यस भेटघाटभित्र राजनीतिक गुह्य रहेकै हुन्छ । सारमा नेताहरू लेनदेन या पद र पैसाको प्रलोभनमा कहिले कता कहिले कता पल्टिनु हुँदैन । त्यस्ता व्यक्तिहरू नेता भन्न लायकका हुँदैनन् । उनीहरूको भर पनि हुँदैन । लोभी, पापी, अवसरवादीहरूले भरेको नेकपाको नेतृत्वमा बनेको सरकारले देशलाई कसरी समृद्ध बनाउँछ ?

– गोपाल नगरकोटी image
– गोपाल नगरकोटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *