चिनियाँ कम्युनिस्ट पार्टीका एक जना वरिष्ठ नेताले नयाँ युगको लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी चिनफिङ विचारधाराको अध्ययन, प्रचार र कार्यान्वयनमा जोड दिनुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका पोलिटव्युरो सदस्य वाङ हुनिङले सी चिनफिङले लेख्नुभएको ‘चीनको शासन व्यवस्था’ पुस्तकको हालै प्रकाशित तेस्रो खण्डबारे आयोजित कार्यक्रममा बोल्दै सो कुरा भन्नुभएको हो ।
उहाँले सीलिखित पुस्तकको पछिल्लो तेस्रो खण्ड नयाँ युगको लागि चिनियाँ विशेषतासहितको समाजवाद र सी चिनफिङ विचारधाराबारे सिङ्गो चिनियाँ कम्युनिस्ट पार्टीलाई सुसज्जित गर्ने र जनतालाई शिक्षित बनाउने पाठ्यपुस्तक भएको बताउनुभयो । उहाँले सीको सो कृति उत्तम जीवनको लागि जनतालाई सङ्गठित बनाउने र नेतृत्व गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको लागि महत्वपूर्ण पुस्तक भएको बताउनुभयो ।
वाङले सी विचारधारालाई बलियो माक्र्सवादी पार्टी निर्माणको निम्ति सैद्धान्तिक आधारको रूपमा व्याख्या गर्दै त्यसले पार्टीको दीर्घकालीन शासन र दिगो स्थायित्व सुनिश्चित गर्ने बताउनुभयो ।
उहाँले ‘चीनको शासन व्यवस्था’ को तेस्रो खण्ड एउटा नयाँ ऐतिहासिक प्रस्थानबिन्दुमा चिनियाँ विशेषतासहितको समाजवाद अङ्गीकार र विकासको लागि कार्यदिशा भएको प्रस्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *