भर्खरै :

सांस्कृतिक स्तर उकास्न शिक्षा

भक्तपुर, १७ साउन । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालको प्रमुख आतिथ्यमा महाकाली क्षेत्र संरक्षण समितिका नयाँ पदाधिकारीहरूको पदस्थापन तथा पूर्वपदाधिकारीहरुलाई शनिबार सम्मान गरियो ।
महाकाली पीठ विकास समितिको आयोजनामा भएको उक्त कार्यक्रममा अतिथि सुवालले समाज सेवा नै धर्म भएकोले समाजसेवीहरूको संस्कार र संस्कृति उच्चस्तरको हुनु आवश्यक भएको बताउनुभयो ।
ठगी गर्ने, झूट बोल्ने, कमजोरलाई दबाउने, महिलालाई दुव्र्यवहार गर्ने, सार्वजनिक सम्पत्ति निजी बनाउने कुनै पनि व्यक्ति समाजसेवी हुन नसक्ने धारणा राख्दै उहाँले संस्कृति र संस्कारको लागि शिक्षा आवश्यक हुने भएकोले भक्तपुर नगरपालिकाले ख्वप कलेजहरू स्थापना र सञ्चालन गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा लागूपदार्थ सेवन गर्ने एक लाख ३० हजार पुगेको तथ्याङ्क छ । सरकारहरू नयाँ पुस्ताप्रति जिम्मेवार नहुँदा यो स्थिति उत्पन्न भएको हो । राजनीति र समाज सेवामा लाग्नेहरूले पदको दुरूपयोग गर्नु भ्रष्टाचार नै हो ।”
दुवाकोटको पर्ती जग्गा, बोडेको कमलपोखरी, झौखेलको कमलपोखरी व्यक्तिको नाममा दर्ता गर्ने र बेचबिखन गर्ने÷गराउने समाजसेवी नभई भ्रष्टाचारी भएको स्पष्ट पार्दै उहाँले धन–सम्पत्ति हुँदैमा मानिस सुसंस्कृत हुँदैन भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “भारतको सङ्घ र प्रदेशमा मन्त्री भएकाहरू ५० प्रतिशतभन्दा बढी फौजदारी अपराधमा संलग्न भएको समाचार छ । नेपालमा पनि ६० प्रतिशत जनप्रतिनिधिहरू कारोबारी भएको समाचार प्रकाशित भयो । निर्वाचनमा सामान र पैसा बाँड्ने, भोज खुवाउनेहरू जितेर सरकारमा पुग्दैमा देश र जनताको सेवा हुँदैन ।”
“देशको सन्तुलित विकास गर्नु आवश्यक छ । काठमाडाँै उपत्यकामा जनसङ्ख्याकेन्द्रित गराइँदा यहाँ खानेपानी, फोहरमैला प्रदूषणको समस्या बढ्दो छ । भक्तपुरको बागेश्वरीस्थित भँगेरी डाँडामा रङ्गशाला बनाउने भनी वन विनाश गरी डोजर चलाइएको हुँदा वर्षासँगै भक्तपुरका जनताको खानेपानीमा हिलो मिसियो । काठमाडौँ उपत्यकाको लाखौँ रोपनी जग्गा विनाश हुने गरी उपसहर विकास गर्नुहुँदैन । वन विनाश गरी भँगेरी डाँडामा रङ्गशाला बनाउनु पनि गलत हो”, उहाँले स्पष्ट पार्नुभयो ।
पञ्चायतको विरोधमा सङ्घर्ष गरी सरकारमा गएका पार्टीका सरकारहरू पनि भ्रष्टाचार र अनियमिततामा संलग्न हुनु आश्चर्यको विषय भएको चर्चा गर्दै सांसद सुवालले भन्नुभयो, “महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा कुल ६ खर्ब ६४ अर्ब रूपैयाँ बेरूजु पुगेको उल्लेख छ । अख्तियारले ठुला भ्रष्टाचारीलाई कारबाही गर्नसकेन । लोकसेवा आयोगको परीक्षा उत्तीर्ण कर्मचारीहरूको समेत नक्कली शैक्षिक प्रमाणपत्र भेटिनु अर्को आश्चर्य हो ।”
“कोभिड–१९ सङ्क्रमण नेपालमा पनि समुदायमा फैलिएको हुँदा हामी सचेत हुनु आवश्यक छ । संस्कृति र पर्वमा धेरै मानिस जम्मा हुन नमिल्ने भएकोले यो वर्ष गाईजात्रा, इदलगायतको पर्व औपचारिकतामा सीमित गर्नु परेको हो”, उहाँले भन्नुभयो ।
सांसद सुवालले भक्तपुर अस्पतालको सेवा गुणस्तरीय बनाउनुपर्ने विषयमा जनताले उठाएको चालीस वर्ष भइसकेको तर कुनै पनि सरकारले ध्यान नदिएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले देश र जनताको पक्षमा काम गर्ने मानिसहरू समाजमा कममात्र हुने भएकाले उहाँहरू सम्मानयोग्य हुने बताउनुभयो । शिक्षक गणेशराम थुसाले देश विकास गर्न समाज सेवकहरूको ठुलो भूमिका हुने बताउनुभयो । भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले महाकाली क्षेत्रको विकासको लागि गुरूयोजना बनाएर जनताको सहभागितामा अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा सांसद सुवालले महाकाली क्षेत्र संरक्षण समितिका पूर्वअध्यक्ष एवम् पदाधिकारीहरूलाई दोसल्ला, ताम्रपत्र र मायाको चिह्न प्रदान गरी सम्मान गर्नुभयो ।
कार्यक्रममा पुरूषोत्तम दथेपुथे र राजेश दिस्तीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *