नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको आजबाट ६५ वर्ष प्रवेश गरेको छ । सन् १९५५ को अगस्ट १ मा नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध गाँसिएको थियो । त्यसो त नेपाल र चीनबीचको सम्बन्ध औपचारिक कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा धेरै पुरानो हो । चिनियाँ भिक्षु फासियान नेपाल आएर सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनी पुगेका थिए । नेपालका बुद्धभद्र चीन पुगेर बौद्ध कृतिहरू चिनियाँ भाषामा अनुवाद गरेका थिए । चीनमा ताङ वंशको पालामा नेपाली राजकुमारी भृकुटीको विवाह तिब्बतका राजा सोङसेन ग्याम्पोसँग भएको थियो । भृकुटीमार्फत चीनका विभिन्न भूभागमा बुद्ध धर्मको प्रचार भएको मानिन्छ । चीनमा युआन वंशको पालामा नेपालका कलाकार बलबाहु तिब्बत हुँदै चीन पुगेका थिए । अरनिको नामले कहलिएका कलाकार बलबाहुले चीनको राजधानी पेइचिङ पुगेर श्वेत गुम्बा बनाएका थिए । तत्कालीन राजदरबार ‘फरबिडन प्यालेस’बाट श्वेत गुम्बा आज पनि प्रस्ट देखिन्छ । अरनिकोले पेइचिङमा मात्र नौ वटा बौद्ध चैत्य स्थापना गरेका थिए । काठमाडौँ उपत्यकाका नेवार व्यापारीहरूको तिब्बतसँगको व्यापारिक र सांस्कृतिक सम्बन्ध निकै पुरानो हो । पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामा हमला गरे यता पनि त्यो व्यापारिक सम्बन्ध चालू नै रह्यो । तत्कालीन तिब्बती समाजसँग काठमाडौँ उपत्यकाका नेवारी समुदायको सामाजिक र सांस्कृतिक घनिष्ठताले दुई देशबीचको ‘हिमालको उचाइले छेक्न नसकेको’ सम्बन्ध प्रस्ट पार्छ ।
सन् १९४९ अक्टोबर १ मा चीनमा जनवादी गणतन्त्र स्थापना भयो । संसारभरका उपनिवेश देशहरूमा उठेको स्वतन्त्रता र मुक्ति आन्दोलनले चीनमा नयाँ जनवादी क्रान्तिको रूप लियो । झन्डै त्यही समयमा दक्षिण एसियाबाट बेलायतलगायत उपनिवेशवादी शक्तिहरू फर्किन बाध्य भए । सन् १९४७ मा बेलायती उपनिवेशबाट हालको भारत, पाकिस्तान र बङ्गलादेश मुक्त भए । बेलायती उपनिवेशकै जगमा उभिएको नेपालको राणाशासन त्यही हुरीमा ढल्न धेरै समय लागेन । बेलायत दक्षिण एसियाबाट फर्केपछि यहाँको शक्ति सन्तुलन भने प्रभावित बन्यो । भारतको नयाँ शासक वर्गले बेलायती विरासतलाई नै निरन्तरता दिन खोजे । उपनिवेशवादविरोधी सङ्घर्षमा जीवन अर्पण गरेका भारतीय नेताहरूले पनि दक्षिण एसियाका स–साना देशहरूलाई आफ्नो ‘नयाँ उपनिवेश’ बनाउन खोजे । “हिमालयवारि रहेका स–साना देशहरूको अस्तित्व कालान्तरमा सांस्कृतिक अस्तिवमा सीमित रहने” नेहरूको भनाइबाट भारतीय नेतृत्वमा गहिरो जरा गाडेर बसेको उपनिवेशवादी चिन्तन प्रस्ट हुन्छ । विशेषतः नेपाल, भुटान र सिक्किमको अलग राजनीतिक अस्तित्व के हुने भनी प्रश्न भारतीय शक्ति केन्द्रहरूमा त्यत्तिबेला बहसको विषय बनेको थियो । त्यस्तो परिस्थितिमा नेपाललाई आफ्नो अलग राजनीतिक अस्तित्व जोगाउन कम चुनौतीपूर्ण थिएन । विसं २००७ को आन्दोलनमा भारतीय संस्थापनको प्रस्ट नियन्त्रण थियो । आन्दोलनको सफलतापछि सत्तामा आएको राजनीतिक नेतृत्व पनि भारतीय प्रभावमा थियो । सिक्किममा जस्तै नेपालको मन्त्रिमण्डलमा भारतको प्रतिनिधिले सचिवको भूमिका खेल्ने तहसम्मको कमजोर बिन्दुमा थियो त्यत्तिबेलाको नेपाल ।
भौगोलिक र राजनीतिक कारणले पनि त्यत्तिबेलाको चीन नेपालबाट केही टाढा थियो । चीन आफैँ पनि नयाँ आरम्भको तयारी गरिरहेको थियो । त्यसकारण भारतको उत्तरमा रहेका भौगोलिकरूपमा साना देशको अवस्था चीनको प्राथमिकता पक्कै थिएन । त्यसकारण, नेपाललगायत कूटनीतिक सम्बन्ध विस्तारको निम्ति चीनले अग्रसरता लिन सकेको थिएन । यद्यपि, नेपालको तत्कालीन नेतृत्वले नेपालको अलग अस्तित्व जोगाउन उत्तरी छिमेकीसँग सम्बन्ध जोड्न आवश्यक ठाने । एक सार्वभौम र स्वतन्त्र देश हुनुको नाताले नेपालले आफ्नो छिमेकी देशसँग सम्बन्ध स्थापना गर्नु कुनै अनौठो कुरा थिएन । तर, बेलायती उपनिवेशवादी चिन्तनको विरासत धानेका भारतीय नेताहरूलाई नेपालले आफूबाहेक अरू कुनै पनि देशसँग सम्बन्ध स्थापित गरेको स्वीकार्य थिएन । त्यसकारण, चीनसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापनामा भारतले सक्दो भाँजो हाल्ने काम गरिरह्यो । उपनिवेशवादविरोधी शक्ति हुनुको कारण सुरुमा चिनियाँ नेतृत्वले भारतलाई चिढाउन चाहेको थिएन । काठमाडौँले तिब्बतसँग मात्र सम्बन्ध राखोस् र पेइचिङमा नेपालको कुनै कूटनीतिक नियोग स्थापना नगरी तिब्बतमा मात्र सीमित होस् भन्ने चिनियाँहरूले प्रस्ताव गरेका थिए । तत्कालीन नेपालका प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको आत्मसंस्मरणात्मक पुस्तक ‘ज्यँुदा सहिद’ मा यसबारे चर्चा गरिएको छ । तर, नेपाली नेतृत्व पेइचिङसँगै सीधा सम्पर्क राख्ने पक्षमा थियो । नेपाल सार्वभौमसत्ता सम्पन्न अलग देश भएकोले चीनकै एउटा भूभाग तिब्बतसँग मात्र कूटनीतिक सम्बन्ध स्थापना गर्नु उपयुक्त थिएन । दुई स्वतन्त्र र सार्वभौम देश नेपाल र चीनबीच नै औपचारिक सम्बन्ध स्थापनाका प्रयास भए ।
तिनताका जनस्तरमा पनि चीनसँग सम्बन्ध स्थापनाका विभिन्न प्रयासहरू भइरहेका थिए । पूर्णबहादुर एमए नेतृत्वको नेपाल–चीन मैत्री सङ्घले दुई देशबीच सरकारी तहमा औपचारिक सम्बन्ध स्थापना हुनुअघि नै जनस्तरको सम्बन्ध स्थापना गरेको थियो । तात्कालीन परिवर्तित राजनीतिक परिस्थितिले पनि चीनलाई दक्षिण एसियाली देशहरूसँग सम्बन्ध विस्तारको निम्ति अग्रसर गरायो । फलतः सन् १९५५ को अगस्ट १ मा नेपाल र चीन दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भयो ।
नेपालले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेपश्चात् नेपाललाई भारतले हेर्ने दृष्टिकोणमा अनिवार्यतः परिवर्तन आयो । पहिलेजस्तै नेपालको मामिला सजिलै आफ्नो वशमा पार्न भारतलाई सहज भएन । सन् १९७५ मा भारतले सिक्किमलाई आफ्नो नयाँ प्रान्त घोषणा ग¥यो । भुटानको परराष्ट्र र सुरक्षाको जिम्मेवारी भारतको नियन्त्रणमा रहने प्रावधान अद्यापि कायम छ । तर, नेपालको सन्दर्भ भने सिक्किम र भुटानभन्दा फरक रह्यो । चीनसँगको कूटनीतिक सम्बन्धले नेपालको सार्वभौम अस्तित्व रक्षाको निम्ति ठुलो भूमिका खेलेको इतिहासलाई फर्केर हेर्दा थाहा हुन्छ ।

इतिहासकै संवेदनशील समयमा नेपालको स्वतन्त्र अस्तित्व रक्षादेखि नेपालको पूर्वाधार विकास र जनताको जीवनस्तर उकास्न चीनसँग नेपालको सम्बन्धले गहन भूमिका खेलेको छ । कूटनीतिक सम्बन्धको ६५ वर्षगाँठमा अब नेपाल र चीन दुवै देशका सरकार र जनताले आपसी सम्बन्ध अझ प्रगाढ बनाउन आपसी सहयोग र समन्वयको बाटो लिन जरुरी छ । सबै पक्षको जीत हुने विन–विन सिद्धान्तमा आधारित सम्बन्धले चीनसँगको हाम्रो सम्बन्ध अझ फराकिलो बनाउनेछ ।

कूटनीतिक सम्बन्ध स्थापना भएयता चीनले नेपालप्रति सधैँ असल छिमेकीको भूमिका खेल्दै आएको छ । नेपाल र चीनबीचको मैत्री सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित छ । पञ्चशीलमा आधारित वैदेशिक सम्बन्धमा नेपाल र चीनबीचको सम्बन्धलाई उदाहरण मानिन्छ । चीनले नेपालको आन्तरिक मामिलामा कहिल्यै पनि हस्तक्षेप गरेको छैन । नेपाली जनताको अभिमतलाई चीनले सधैँ सम्मान गरेको छ । नेपालको आकार सबै कोणबाट चीनभन्दा सानो छ । तर, चीनले आफू ठुलो हुनुको घमण्डी व्यवहार नेपालप्रति गरेको देखिँदैन । नेपालमा सबभन्दा पहिलो वैदेशिक सहायता गर्ने देश चीन हो र आज पनि नेपालमा सबभन्दा बढी सहायता गर्ने देश चीन नै छ । नेपालको विकासका पूर्वाधार निर्माणमा चीनको सहायता गनेर साध्य छैन । चीन आज संसारकै दोस्रो ठुलो अर्थतन्त्र हो । त्यसकारण, आज चीनले नेपाललाई सहायता गर्नु स्वाभाविक पनि हो । तर, जब चीन स्वयम् प्रतिकूलताको पहाड छिचोलिरहेको अवस्थामा समेत नेपालप्रति उसले सहयोगी हात बढाउँदै आएको थियो । कुनै बेलाका देशका सबभन्दा ठुला कलकारखानाको नाम लिँदा अधिकांश कलकारखाना चीनकै सहयोगमा बनेका थिए । विडम्बना ¤ पञ्चायतपछि स्थापना भएका विभिन्न दल नेतृत्वको सरकारले ती कलकारखानालाई क्रमशः असफल बनाए र कौडीको मोलमा बेचे । नेपालमा औद्योगिक विकासको जग चीनले बनाइदिएका ती नै कलकारखानाले राखेको थियो । पछिल्लो समय चीन र नेपालबीचको
सम्बन्ध अझ बढी फराकिलो बन्दै गएको छ । संसारकै प्रमुख आर्थिक शक्तिको रूपमा चीनको उदयसँगै दुई देशबीचको सम्बन्धका आयाम बढ्दै छन् । हिजो मूलतः विकासको पूर्वाधार निर्माण, राजनीतिक भ्रमण, अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य र व्यापारमा सीमित नेपाल–चीन सम्बन्ध आज शैक्षिक, सामाजिक, आर्थिक, प्राविधिकलगायत क्षेत्रमा पनि फैलिएको छ । आज नेपालमा चिनियाँ भाषा बोल्न जान्ने मानिस भेटाउन हिजोजस्तो गाह«ो काम रहेन । पर्यटकीय स्थलमा चिनियाँ पर्यटकहरूकै बाहुल्यता बढ्दै छ । (यद्यपि यतिबेला नोबेल कोरोना भाइरसको महामारीको कारण पर्यटन क्षेत्र प्रभावित छ ।) आज वर्षमा हजारौँ नेपाली विद्यार्थी चीनका विभिन्न विश्वविद्यालयमा विभिन्न विषय अध्ययन गर्न जान्छन् । उनीहरूमध्ये अधिकांश छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गर्छन् । चिनियाँ संस्कृति, जनजीवन, कला र साहित्यप्रति नेपाली जनता क्रमशः परिचित बन्दै छन् । हिजो राजनीति, अझ विशेषतः वाम राजनीतिमा लागेका मानिसले मात्र चीनबारे चासो राख्थे । आज सबै तप्काका जनता चीनप्रति चासो राख्न थालेका छन् । चीनबारे धेरै कुरा बुझ्न उनीहरू उत्सुक छन् । नेपालका हजारौँ सरकारी अधिकारी, शैक्षिक क्षेत्रका व्यक्तिहरू, राजनीतिक कार्यकर्ता, गैरसरकारी संस्थाका पदाधिकारी, सांस्कृतिक क्षेत्रका कलाकार र साहित्यकारहरू चीनको भ्रमण गरेर चीन बुझ्न खोज्दै छन् । चीनमा पनि अङ्ग्रेजी भाषाको सहजताले भाषिक समस्या अब ठुलो समस्या रहेन ।
चीनको व्यवहारले नेपालको ऊ वास्तवमै हाम्रो असल छिमेकी भएको अनुभव हुन्छ । २०७२ सालको भूकम्पको बेला चिनियाँ सरकार र जनताले नेपाली जनतालाई गरेको सहायताबाट नेपाली जनता निकै प्रभावित छन् । अरूलाई देखाउन होइन, वास्तवमै दुखेको घाउमा मल्हम लगाउन नै चिनियाँहरूले नेपाललाई सहयोग गरे । नेपाली जनतालाई आफ्नै दाजुभाइ दिदीबहिनी मानेर चिनियाँहरूले सहयोगी हात बढाए ।
कोभिड–१९ को महामारी नियन्त्रण र रोकथामको निम्ति चीनले नेपालमात्र होइन, संसारलाई नै गरेको सहयोगबाट संसार प्रभावित छ । आफैँ महामारीको कारण थला परेको देशले संसारभर यो रोग नियन्त्रणको निम्ति देखाएको उदार मनले संसारमा अझै पनि मानवता ज्युँदो रहेको देखाएको छ । आफैँ महामारीको चपेटामा फसेको चीनले नेपालमा लगातार यो रोगविरुद्ध लड्न मद्दत गरिरहेको छ । आज हाम्रो सरकार धेरै थरी मागको पूर्तिको लागि ‘उत्तर’तिर हेरिरहेको छ ।
नेपालले पनि छिमेकी देशको नाताले चीनलाई आवश्यक पर्दा सहयोगी मन देखाउँदै आएको छ । चीनलाई संयुक्त राष्ट्र सङ्घको सदस्य बनाउन नेपालले मद्दत गरेको थियो । नेपाली भूमि चीनविरुद्ध प्रयोग गर्न नदिने पञ्चशीलको सिद्धान्तअनुसार नेपालले चीनको विरोधमा हुने गरेका गतिविधिलाई नियन्त्रण गरिरहेको छ । चीनको तिब्बतमा भएको खम्पाहरूको उपद्रव नियन्त्रणको निम्ति नेपालले चीनलाई सहयोग गरेको थियो । तिब्बती पृथकतावादीहरू नेपालमा बेलाबेला चीनविरोधी गतिविधि गर्ने कोसिस गर्छन् । कति त्यस्ता गतिविधि खुला र कति गोप्य हुने गरेका छन् । त्यस्ता गतिविधिमाथि नियन्त्रण गर्न नेपाल सरकारले सधैँ साथ दिँदै आएको छ । नेपालले ‘एक चीन नीति’ लाई समर्थन गरेको छ र सोहीअनुसार व्यवहार पनि गर्दै आएको छ ।
सन् २०१७ मा नेपालले चीनको बेल्ट एन्ड रोड परियोजनामा हस्ताक्षर ग¥यो । त्यसयता दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनेको छ । बीआरआईमार्फत नेपालले पूर्वाधार निर्माणमा फड्को मात्र मार्नेछैन बरु विश्व मञ्चमा आफ्नो उपस्थिति अझ बलियो बनाउनेछ ।
इतिहासकै संवेदनशील समयमा नेपालको स्वतन्त्र अस्तित्व रक्षादेखि नेपालको पूर्वाधार विकास र जनताको जीवनस्तर उकास्न चीनसँग नेपालको सम्बन्धले गहन भूमिका खेलेको छ । कूटनीतिक सम्बन्धको ६५ वर्षगाँठमा अब नेपाल र चीन दुवै देशका सरकार र जनताले आपसी सम्बन्ध अझ प्रगाढ बनाउन आपसी सहयोग र समन्वयको बाटो लिन जरुरी छ । सबै पक्षको जीत हुने विन–विन सिद्धान्तमा आधारित सम्बन्धले चीनसँगको हाम्रो सम्बन्ध अझ फराकिलो बनाउनेछ ।

सुमन image
सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *