भर्खरै :

पद र पैसाको राजनीति पुँजीवादी चरित्र

काठमाडौँ, १९ साउन । नेकपाभित्रका नेताहरूको अन्तरकलह कुनै दिन सहमतिमा पुग्छ, यसमा कुनै शङ्का छैन । सहमति भएपछि नेताहरू एक आपसमा खुसी बाँड्छन्, कार्यकर्ताहरू रमाउँछन्, उफ्रन्छन् र एकले अर्काेलाई बधाई साटासाट गर्दै गर्व गर्छन् । विगतमा पनि नेकपाभित्रका शीर्ष नेताहरूबीच धेरै पटक अन्तरकलह भएको थियो, अन्तरकलह चर्केर उत्कर्षमा पुगेपछि अन्ततः सहमतिमै टुङ्गोमा पुगेको थियो । धेरै पटक अन्तरविवाद चर्कने र अन्ततः सहमतिको टुङ्गोमा पुगेको कति भयो कति ¤ लेखाजोखा नै छैन । हाल नेकपाका दुई अध्यक्षभित्र भइरहेको अन्तरकलह पनि सहमतिमा पुग्नेमा शङ्का छैन । सहमतिमा पुगेन भने पार्टी फुट्नु या फुटाउनुबाहेक अर्काे विकल्प छैन ।
नेकपाभित्रको आन्तरिक विवादको मूल जरो सिद्धान्त र विचारको होइन । केपी ओलीले दुई पद अर्थात् प्रधानमन्त्री या पार्टी अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ भन्ने प्रचण्ड पक्षको दाबी हो । केपी ओली कुनै हालतमा कुनै पनि पदबाट राजीनामा नदिने पक्षमा छ । पार्टीको कुरा प्रमले आत्मसात नगरेको र सरकारको राम्रो कुरा पार्टीले प्रचारप्रसार नगरेको भन्नु नै दुई अध्यक्षको आ–आफ्नो दाबी हो । त्यहीँ विषयमा ओली पक्षधर र दाहाल पक्षधरहरू पछि पछि दगुरेका हुन्, दगुरिरहेका छन् । पार्टीको विधि र प्रक्रियामा सरकार अघि नबढेको या सरकारले पार्टीको परामर्शविना प्रम ओलीले आफूखुसी काम गरिरहेको भन्ने विवादले उनीहरूको द्वन्द्व सिद्धान्त र विचारको होइन कुर्सी र भागबन्डाको लागि हो भन्ने कुरा प्रस्ट छ ।
पार्टीभित्रको अन्तरसङ्घर्षमा नेकपा माक्र्सवादी र लेनिनवादी सिद्धान्तअनुसार अघि बढिरहेको छ कि छैन, सरकार पार्टीको घोषणापत्र र संविधानमा उल्लेख भएअनुसार समाजवादउन्मुखतर्फ अघि बढिरहेको हो कि होइन भन्नेतर्फ केन्द्रित हुनुपर्ने हो । तर, त्यतातर्फ ध्यान नै गएको देखिँदैन । पद, पैसा र भागबन्डाको निम्ति होडबाजी गर्ने या राजनीति गर्ने चरित्र पुँजीवादी चरित्र हो । सरकारको नेतृत्व गर्ने प्रम ओली र पार्टीको नेतृत्व गर्ने दाहाल सच्चा कम्युनिस्ट भइदिएका भए ती दुईको अन्तरसङ्घर्ष त्यस्तै विषयमा केन्द्रित हुनुपथ्र्याे । पार्टीभित्रका सबै नेताहरू पुँजीवादी चरित्रका नहुन सक्छन् । हो, सच्चा कम्युनिस्ट पार्टीका नेताहरू पद, पैसा र भागबन्डामा लाग्दैनन् । वैज्ञानिक समाजवाद प्राप्त गर्न र देशलाई व्यवहारमा समाजवादउन्मुख देश बनाउन पार्टीभित्रै सङ्घर्ष गर्छन् । सङ्घर्ष गर्दा गर्दै, आलोचना गर्दा गर्दै कम्युनिस्ट सिद्धान्त र विचारअनुसार अघि बढ्दैन या पुँजीवादी राजनीति गरिरहन्छ भने या त त्यस्तो पार्टी छोड्छ या त त्यसबाट फुटेर अर्काे पार्टी गठन गर्छ । तर नेकपाभित्रका अधिकांश नेताहरू पद र पैसाका भोका छन् । पद र पैसाकै निम्ति पदको दुरुपयोग गरी अकुत सम्पत्ति कुम्ल्याउनेतर्फ लालायित हुन्छन् । कम्युनिस्टको नाउँमा कम्युनिस्ट पार्टीभित्र देखिएको यो दुर्दशा अन्त्य हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *