भर्खरै :

भदौमा परीक्षा अव्यवहारिक

काठमाडौँ, १९ साउन । विश्वद्यालयहरूको भदौदेखि परीक्षा सञ्चालन गर्ने निर्णयप्रति ध्यानाकर्षण गर्दै नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिले सोमबार प्रेस विज्ञप्ति जारी गरेको छ । सङ्घका अध्यक्ष सविन ख्याजूको हस्ताक्षरसहित प्रकाशित विज्ञप्तिमा भनिएको छ –
“सरकारको उचित बन्दोबस्तको अभाव भएकोले कोभिड–१९ सङ्क्रमित र मृतकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । सरकारले साउन ७ गतेबाट लकडाउन अन्त्य भएको घोषणा गरेयता सङ्क्रमितको सङ्ख्या बढ्दो छ । नेपाल–भारत खुला सीमा पनि सङ्क्रमण बढ्नुको कारण हो । यो स्वास्थ्य सङ्कटको अवस्थामा त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयहरूको भदौदेखि परीक्षा सञ्चालन गर्ने निर्णयप्रति नेक्राविसङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।
यतिबेला विद्यार्थीहरूलाई आफ्नो क्याम्पस र कोठामा पुग्न सहज छैन । विद्यार्थीहरू सबै सुरक्षित स्थानमा छैनन्, जोखिमपूर्ण क्षेत्रमा पनि धेरै छन् । लामो दुरीको यातायात सञ्चालन प्रत्याभूति हुने स्थिति छैन । यस्तो परिस्थितिमा परीक्षा सञ्चालनकै कारण कोभिड–१९ सङ्क्रमण भयावह हुने सम्भावना छ । विद्यार्थीहरूको कोभिड–१९ को बीमा सरकारले गर्नु आवश्यक छ ।
नेक्राविसङ्घले सङ्क्रमणको खतरा भएसम्म भारतसँगको सीमा बन्द गर्न आवाज उठाउँदै आएको छ । यतिबेला कोरोना बिरामी चेक–जाँचमा संलग्न स्वास्थ्यकर्मी एवं कर्मचारीहरूको लागि अत्यावश्यक स्वास्थ्य सामग्रीहरूको बन्दोबस्त गर्न र सचेतनाका गतिविधिहरूलाई व्यापकता दिन आवश्यक छ ।
त्रिविलगायतले भदौमा परीक्षा लिने निर्णय गरेको पूर्णतः अव्यवहारिक छ । अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयहरूबाट नेपालका विश्वविद्यालयहरूले पाठ लिएर वैकल्पिक माध्यमबाट परीक्षा लिन नेक्राविसङ्घ जोडदार माग गर्दछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *