भर्खरै :

गाईजात्रा चर्चा

गथामुगःच¥हेसँगै नेवार समुदायमा चाडपर्व सुरु हुन्छ । यसदिनपछि नेवार समुदायमा मात्र नभई उपत्यकामा नै गाईजात्राको रौनक सुरु हुन्थ्यो । टोलटोलमा धिमे बाजाका सुमधुर सङ्गीतका साथै गाईजात्रामा नाचिने विभिन्न नाचहरूको पनि आवाज सुन्न पाइन्थ्यो । तर, यो वर्ष भने उपत्यका पूरै सुनसान छ । न त बिस्केट जात्रा नै विधिपूर्वक मनाइयो न त अन्य चाडपर्वहरू नै । साउनमै (?) गरिने भनिएको मछिन्द्रनाथको रथ यात्रा पनि अहिलेसम्म हुन सकेको छैन ।
उपत्यकामा सबैभन्दा फरक र विशेष किसिमको गाईजात्रा भएको सहर हो भक्तपुर । तर, भक्तपुर नगरपालिकाले यो वर्ष कोभिड–१९ को प्रभावसँगै गाईजात्रा औपचारिकरूपमा मात्र मनाउने निर्णय गरेको छ । कोभिड–१९ को प्रभाव बढेसँगै धेरै भीडभाड नगर्न र घिन्ताङघिसी नाच प्रदर्शन नगर्न आग्रह गरेको छ ।
भक्तपुर नगरपालिकाद्वारा जारी सूचनामा गाईजात्रा मृत आत्माहरूको सम्झनाका लागि मनाउँदै आएको हौँ तर भिडभाड गर्दा आफैँ रोगको सङ्क्रमणमा पर्नसक्ने हुँदा भक्तपुर नगरपालिकाले गाईजात्रा औपचारिकरूपमा मात्र गर्नेे निर्णय लिएको हो ।
साउनशुक्ल पूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र शुक्ल प्रतिपदाको दिन मनाइने चाड हो गाईजात्रा । गाईजात्रालाई ‘द फेस्टिभल अफ काउ’ पनि भनिन्छ । यसलाई नेपालभाषामा ‘सापारु’ भनिन्छ । जहाँ ‘सा’ को अर्थ गाई र ‘पारु’ को अर्थ जात्रा हो । गाईजात्रा काठमाडौँ उपत्यकामा नेवार समुदायमा मनाइने चाड हो । तर, यो चाड काठमाडौँ उपत्यकामा मात्र सीमित नभई बाहिरी जिल्लामा पनि मनाउने गरिन्छ । मृत्युलाई स्वाभाविक र साश्वत सत्यको रूपमा आत्मसात् गर्दै मानिस जन्मेपछि एकदिन मर्नैपर्छ भन्ने सन्देशका साथ यो पर्व मनाउने गरिन्छ । जुन लुनार क्यालेन्डरअनुसार कहिले मनाउने भनेर तय गरिन्छ ।
गाईजात्राको इतिहास
सापारु भनेर मनाउने यस पर्व नेवारहरूको मौलिक पर्व हो । पितृको सम्झनामा नेवार समुदायले यो जात्रा मनाउने गर्दछन् । दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि सापारु पर्व मनाउने गरिन्छ । यस पर्वका बारेमा हिन्दुधर्मशास्त्र पद्मपुराणमा पनि उल्लेख छ ।
वर्षभरि बन्द रहको यमलोकको मुख्य ढोका पृथ्वीलोकमा सापारु निकालेपछि खुल्ने र मृतआत्माहरूले यमलोकमा प्रवेशपाई मुक्ति पाउने कुरा गरुडपुराणमा उल्लेख गरिएको छ ।
गाईलाई नगरपरिक्रमा गराउनाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी नदी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

‘भक्तपुरमा भने गाईजात्रा जयस्थिति मल्लको पालाभन्दा अघि नै सुरु भएको हो भनी’ इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठ भन्नुहुन्छ । उहाँको अनुसार भक्तपुर नेपालको प्रशासनिक र आर्थिक राजधानीमात्र थिएन भक्तपुर सारा नेपालमण्डलको सांस्कृतिम नगर थियो । पछि यक्ष मल्लको निधनसँगै वा भनौँ राय मल्ल शासनमा आएपछि भक्तपुर, काठमाडौँ र ललितपुर छुट्टिन पुगेको हुँदा भक्तपुरमा भने गाईजात्रा पहिले देखिलेको हुनसक्ने उहाँको भनाइ छ ।

ने.सं. ५७५ कालीन राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा सापारु निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएका थिए । यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रम पनि गर्न र अनित्य संसारको सत्य ज्ञात गराउनको निम्ति आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ ।
भनिन्छ, यसै समयदेखि राजादेखि रङ्कसम्मको विकृतजन्य कार्यको खुलेआम हास्यव्यङ्ग्य प्रस्तुत गर्न थालिएको हो ।
गाईजात्रा परम्परा राजा प्रताप मल्लको पालादेखि सुरु भएको जस्तो लागे तापनि मृतकको नाममा जात्रा निकाल्ने परम्परा गोपाल राजवंशावलीमा उल्लेख भएअनुरूप राजा जयस्थिति मल्लको राज्यकालमा अर्थात् ने.सं. ५०० तिर नै राजखानदानका व्यक्तित्वको मृत्युमा गीत गोविन्दावली भजन गाउँदै देश परिक्रमा गराउने परम्परा रहेको पाइन्छ ।
‘भक्तपुरमा भने गाईजात्रा जयस्थिति मल्लको पालाभन्दा अघि नै सुरु भएको हो भनी’ इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठ भन्नुहुन्छ । उहाँको अनुसार भक्तपुर नेपालको प्रशासनिक र आर्थिक राजधानीमात्र थिएन भक्तपुर सारा नेपालमण्डलको सांस्कृतिक नगर थियो । पछि यक्ष मल्लको निधनसँगै वा भनौँ राय मल्ल शासनमा आएपछि भक्तपुर, काठमाडौँ र ललितपुर छुट्टिन पुगेको हुँदा भक्तपुरमा भने गाईजात्रा पहिले देखि चलेको हुनसक्ने उहाँको भनाइ छ ।
“ललितपुरको लुभुमा भने नयाँ घर निर्माण गरिंदासमेत धाःधिमे बाजा बजाउँदै सो दिन देश परिक्रमा गर्ने परम्परा अहिले पनि रहेको पाइन्छ । अझ बौद्ध परम्परानुसार मृतकका नाउँमा गुँलागा द्वितीया अर्थात् सापारु गाईजात्राको भोलिपल्ट ललितपुरको मङ्गलबजारबाट निकालिने मतयाः दीपयात्रा नेकू वा श्रृङ्गभेरी जात्राको इतिहास राजा गुणकामदेवको राज्यकालमा भएको मानिन्छ ।
समष्टिगतरूपमा सापारु गाईजात्रालाई स्थान विशेषको आधारमा काठमाडौँ सःया÷सापारु
(गाईजात्रा), पाटन ललितपुरमा मतया नेकूजात्रा र भक्तपुरमा घिन्ताङकिसी जात्राको रूपमा चिनिन्छ । धर्मको आधारमा शैव, वैदिक, बौद्ध र शाक्त चार सम्प्रदायका नेवारले छुट्टाछुट्टै ढङ्गमा मनाउने गर्दछन् । गाईजात्रा जातीय आधारमा श्रेष्ठ ज्यापू समुदायले निकाल्ने गाईजात्रा उस्तै–उस्तै हुन्छ भने शाक्य, बज्राचार्य, चित्रकार, तुलाधर, मानन्धरमा सापारु भनिए तापनि बुद्धस्त्रोत्र पाठ गर्दै मतया निकाल्ने गर्दछन् । त्यसै गरी वैदिक नेवार राजोपाध्याय, शर्मा, आदिले सापारुका दिन नृसिँह जात्रा प्रदर्शन गर्ने परम्परा छ ।
भक्तपुरमा सापारु
हरेक ठाउँका सापारुमा केही न केही विशेषता रहेका छन् । भक्तपुरमा पनि सापारुका छुट्टै रौनक र आकर्षण रहेका छन् । प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदाको दिन मनाइने यस पर्व भक्तपुरमा आठदिनसम्म चल्दछ ।
भक्तपुरमा सापारुका दिन वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाहरूको साँचा अर्थात् डोकोलाई गाईको रूपमा सिङ्गारेर नगर परिक्रमा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिहरूको ताहाःमचा अर्थात् चार वटा बाँस प्रयोग गरी गाईको प्रतीक बनाई नगर परिक्रमा गर्ने प्रचलन रहेको छ । त्यसै गरी महिलाको ताहाःमचा बनाउदा फरिया वा हाकुपटासी र पटुका (जनी) बेरिन्छ भने पुरुषको ताहाःमचाको लागी दाउराको (दाउरा सुरुवाल लुगा लगाउन मिल्ने) कपडाले बेरिन्छ । ताहाःमच्चालाई मृतकका घरको मूल ढोका अगाडि पुरोहितले क्रियापुत्रीद्वारा विधिबमोजिम पूजा गराई नगर परिक्रमा गर्ने गरिन्छ । ताहाःमचा र साँचा बनाउने यस पर्वको एउटा विषेशता हो भने घिन्ताङघिसि र माकः प्याख सापारुको प्रमुख आकर्षण रहेको छ । विभिन्न सांस्कृतिक बाजा लाला खिङ, धिमे, तं, भुस्याः बाजाका साथ ताहाःमचासँगै घिन्ताङ्घिसी नाच प्रदर्शन गरिन्छ । दुई जोडीले बाजाको तालमा लठ्ठी ठोक्काउने नाचलाई घिन्ताङघिसि भनिन्छ भने एक जनाले दुई वटा लट्ठी जुधाई नाच्नेलाई बाँदर नाच (माकःप्याख) भनिन्छ । भक्तपुरमा सापारुको दिन र त्यसपछिको सात दिनसम्म विभिन्न नाचहरू देवी नाच, भैरव नाच, फाकदली (कर्कलो नाच), लुसी (ओखल नाच), नागाँचा नाच, गाइँचा (गाइने नाच), म्हेखा (मयूर नाच), ख्याक नाच, खिचा नाच देखाइन्छ ।
त्यसैगरी भालु नाच, सिँहसिँहनी नाच, सितलामाजुको नाच, धागो काट्ने नाच, सिलु वनेगु नाच (गोसाइकुण्ड जाने नाच), कलाँली नाच, महादेव पार्वती नाच, कृष्णलीला नाच, थाज्या प्याखः (कपडा बुन्ने नाच) किजापूजा प्याखः (भाइटीका नाच) भूत तर्साउने नाच आदि रहेका छन् । साथै व्यङ्ग्यात्मक नाटक र सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गर्ने प्रचलन छ ।
दिवङ्गत भएका आफन्तको सम्झनामा सापारुका सहभागीलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहिआएको छ । यस पर्वको क्रममा प्रहसन सामाजिक विकृतिप्रति व्यङग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका कारुण रसका गीतहरू पनि गाइने चलन छ । सापारुका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रको आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गर्ने चलन बढेको पाइन्छ ।
तलेजु भवानीको तहाःमचाको नगर परिक्रमाबाट सापारु सुरु हुन्छ भने बेलुका पख भैरव र भद्रकालीको ताहाःमचा ल्याएपछि समाप्त हुन्छ ।
सापारु पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरामा पनि मनाइन्छ ।

One response to “गाईजात्रा चर्चा”

  1. Sushan suwal says:

    Wow 👏👏👏

Leave a Reply

Your email address will not be published. Required fields are marked *