भर्खरै :

कर्णाली राजमार्गको निको नभएको घाउ

कुनै बेला ‘मृत्यु मार्ग’ कहलिएको कर्णाली राजमार्गको अवस्था दसकौँपछि पनि अवस्थामा उल्लेख्य सुधार हुन सकेको छैन । माओवादी द्वन्द्वको प्रतिकूलतामा नेपाली सेनाले ठेक्का लिएर ट्र्याक खोलेको सुर्खेतदेखि मुगुसम्मको यो राजमार्गको विशेषतः वर्षायाममा कन्तबिजोग हुने गरेको छ । राजमार्गअन्तर्गत बनाइनुपर्ने पुलहरूमध्ये अधिकांश पुल ठेक्का पाएको ठेकेदार ‘भागेकोले’ पूरा हुन सकेको छैन । दसकौँसम्म पुल निर्माणको कार्य पूरा नहुँदा कर्णालीका जनता अझै पनि कष्टकर यात्रा गर्न बाध्य छन् ।
सरकारको सम्बन्धित विभागले ‘भागेको’ भनिएका ठेकेदारहरूले शासक दलको राजनीतिक संरक्षणमा छाती फुलाएर हिँडिरहेका छन् । तथापि उनीहरूलाई न प्रशासन न सम्बन्धित विभागले नै पक्राउ गर्न सकेको छ । बरु उनीहरूले थप ठेक्का हात पारिरहेका छन् । विडम्बना ¤ ठेकेदार, शासक दल र कर्मचारीहरूको मिलेमत्तोको कारण जनता कष्ट भोग्न बाध्य छन् ।
कर्णाली राजमार्गमा झन्डै नियमितजस्तै हुने सडक दुर्घटनाको कारण आजसम्ममा सयौं मानिसको ज्यान गइसकेको छ । तर, राजमार्गको अवस्थामा भने अझै सुधार हुन सकेको छैन । विशेषतः सुर्खेतदेखि तल्लो डुङ्गेश्वरसम्म, दैलेखको खिड्कीज्युलादेखि कालीकोटको शेरिघाट र कालीकोट मान्मदेखि नाग्मगाडसम्मको अधिकांश सडक खण्ड सस्तो पिचको कारण जीर्ण बनेका छन् । कालीकोट जिल्लाको मान्मदेखि नाग्मगाडसम्मको सडकखण्डका अधिकांश पुलहरू बनेका छैनन् । ‘ठेकेदार भागेको’ भन्ने कारण देखाएर ती पुलहरू बनाइएका छन् । यसले विशेषतः वर्षायाममा कर्णालीका जनताको यात्रा निकै जोखिमपूर्ण र काष्टसाध्य हुने गरेको छ ।
नेपालका शासक दलले कर्णालीलाई औँल्याएर दसकौंदेखि आफ्नो दुनो सोझ्याउँदै आएका छन् । कर्णालीको विपन्नता र पछौटेपना बेचेर सरकारले विदेशी अनुदानको भारी भित्र्याउने गरेको छ । एनजीओ र आईएनजीले पनि त्यहाँको जनजीवन देखाएर आफ्नो स्वार्थ सिद्ध गर्दै आएका छन् । तर, कर्णाली प्रदेशकै लाइफलाइनको रूपमा रहेको यो बाटोको अवस्थामा भने कुनै सुधार आउन सकेको छैन ।
राजमार्ग बनाउने जिम्मा लिएर राज्यकोषमा लुटपाट गर्ने भ्रष्टाचारीहरूलाई कडा कारबाही नहुँदा कर्णाली राजमार्गको अवस्था ज्यूँकात्यूँ रहनेमात्र होइन, कर्णालीका जनताको जीवनमा पनि कुनै प्रगति हुनेछैन । ठेक्का लिएका भ्रष्ट ठेकेदारहरू शासक दलकै नेताबाट आशीर्वाद प्राप्त हुने गरेका छन् । शासक दलकै कार्यकर्ता हुने गरेका छन् । तिनै चन्दाबाट शासक दलले चुनावमा बाँडेर जित्ने गरेका छन् । ठेकेदार र शासक दलका नेता कार्यकर्ताबीचको यो अवैध सम्बन्धलाई कर्मचारीहरूले ‘वैध’ बनाउने अपराध गर्छन् । अनि पुल र सडकको नाममा लुटिएको पैसा यिनै पक्षहरूबीच भागबन्डा हुने गरेको छ । कष्ट भने जनताले भोग्नु परेको छ ।
राज्य जनताप्रति भन्दा ठेकेदार र बदमास कार्यकर्ताहरूको चङ्गुलमा रहेसम्म जनताका यस्ता समस्या कदापि हल हुने छैन । नाफा र स्वार्थको निम्ति हुने यस्ता खेलको परिणाम जनता भोग्न बाध्य हुन्छन् । यसरी जनतालाई सधैँ दुःखको सागरमा डुबाउने शासक दलहरूलाई सजाय गर्ने समय निर्वाचन हो । विडम्बना ¤ केही लोभीपापी मानिसहरूले भने स–साना तुच्छ स्वार्थमा फसेर निर्वाचनको समयमा तिनै बदमास ठेकेदारले पोसेका शासक दललाई नै विजयी बनाएर तिनीहरूका अपराधको ‘पुरस्कार’ दिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *