भर्खरै :

बेरुतमा विध्वंसक विस्फोटन

बेरुत, २१ साउन । लेवनानको राजधानी बेरूतका बासिन्दा नादा हाम्जा मङ्गलबार साँझ बेरूत बन्दरगाहको ठीक अघि रहेको विद्यत् कार्यालय नजिक थिइन् । अचानक उनले निकै ठुलो विस्फोटको आवाज सुनिन् । उनले विद्युत् कार्यालयमा केही विस्फोट भएको हुनसक्ने अनुमान गरिन् । आफू बस्दै गरेको कारबाट बाहिर निस्केर नजिकैको एउटा घरको दैलोमा पुगिन् । तब बल्ल उनको होश खुल्यो । त्यो घर त भत्किसकेको थियो । उनले हतारमा आफ्ना आमाबुबालाई सम्पर्क गर्न खोजिन् । तर, सम्पर्क हुनसकेन ।
“म अझै ज्युँदो छु भनेर मलाई विश्वास नै लागिरहेको छैन”, उनले भनिन् ।

बेरूत सहरभन्दा बाहिर रहेका उपप्राध्यापक नासेर यासिनले विस्फोटनको आवाज आफ्नै वरपर कतै भएको जस्तो अनुभव गरे ।
उनले भने, “हामीलाई पुरै हल्लाएको थियो । मैले लेवनानको गृहयुद्ध, इजरायली हमला सबै देखेको छु । तर, यस्तो विस्फोट आजसम्म देखेको थिइनँ । मेरो अनुभव र जानकारीमा लेवनानमा भएको यो नै सबभन्दा ठुलो विस्फोटन हो ।”

जीउभरि रगत बगिरहेको मानिसले आफूले के भएको केही मेलोमेसो नै नपाएको अनुभव सुनाए । “म माछा मारिरहेको थिएँ । मैले आगो लागेको जस्तो सुनेँ । अनि म दौडिंदै घर पुगेँ । अनि निकै ठुलो विस्फोटनको आवाज सुनेँ । अनि के भयो, मैले चालै पाइनँ । अहिले म यस्तो अवस्थामा छु”, उनले भने ।
अर्को एक जना घाइते मानिसले अनुहारको रगत पुछ्दै भने, “मेरो कार अचानक पल्टियो । कारका सिसा फुटेपछि मेरो जीउभरि घाउ लागेको छ ।”

मङ्गलबार स्थानीय समयअनुसार साँझ ६ः१० बजे मध्यपूर्वी देश लेवनानमा अकल्पनीय घटना भयो । लेवनानको राजधानी बेरूतस्थित बेरूत बन्दरगाहमा अचानक भएको अत्यन्त ठुलो विस्फोटनले पुरै सहरलाई मात्र कम्पित बनाएन । बरू २०० किलोमिटर वरपरसम्म त्यसको विस्फोटन सुनिएको थियो । विस्फोटनको आवाज टापु देश साइप्रससम्म सुनिएको थियो ।
बेरूतको एउटा गोदाममा भण्डारण गरिएको २ हजार ७५० टन एमोनियम नाइट्रेटमा आगो लाग्दा सो विस्फोटन भएको बताइएको छ । गोदामको एउटा प्वाल टाल्न वाइल्डिङ गर्ने क्रममा त्यहाँ आगलागी भएर सो अकल्पनीय विस्फोटन भएको थियो ।
एमोनियम नाइट्रेट विशेषतः विस्फोटक पदार्थ र रसायनिक मलमा प्रयोग गरिने पदार्थ हो । एमोनियम नाइट्रेट आफैँ प्रज्वलनशील हुँदैन । तर, कुनै प्रज्वलनशील पदार्थलाई अक्सिजनको अभावमा पनि जलाउन भने यसले भूमिका खेल्न सक्छ ।
घटनामा परी कम्तीमा एक सय मानिसको निधन भइसकेको छ भने ४ हजारभन्दा बढी मानिस घाइते भएका छन् । मृतक र घाइतेको सङ्ख्या अझ बढ्न सक्ने बताइएको छ । विस्फोटको कारण घटनास्थल वरपरका धेरै घर र भौतिक संरचना ध्वस्त भएका छन् । ध्वस्त संरचनाले पुरिएर पनि धेरै मानिसको निधन भएको हुनसक्ने अनुमान गरिएको छ । बेरूतका अस्पतालहरू घाइतेहरूले खचाखच भरिएका छन् ।
विस्फोटन भएको ठाउँमा सुरुमा आगोको ठुलो मुस्लो देखिएको थियो । केही बेर पछि त्यहाँ निकै शक्तिशाली विस्फोटन भएको थियो । विस्फोटनको श्रव्यदृश्य हेर्दा दोस्रो विश्वयुद्धको अन्त्यमा संरा अमेरिकाले जापानको हिरोसिमा र नागासाकी सहरमा गरेको पारमाणविक हमलाको झल्को दिन्छ । संयोगवश, हिरोसिमामा संरा अमेरिकाले हमला गरेको दिन अगस्ट ६ को एक दिनअघि बेरुतमा त्यस्तो घटना भएको हो ।

विस्फोटनले बेरुत सहरका झण्डै सबै घरका शिशा, सवारीसाधनका शिशा चकनाचुर भएको थियो । बेरुत सहरको भव्य एकाएक युद्धभूमिमा परिणत भएको देखिन्छ ।
घटनापछि गरिएको लेवनानका राष्ट्रपति माइकल औनले दुई साताको लागि आपत्काल घोषणा गर्नुपर्ने बताएका छन् । राष्ट्रपतिले आफ्नो ट्वीटरमा बितेका ६ वर्षदेखि ती विस्फोटक पदार्थ सो स्थानमा भण्डारण गरिनु असह्य भएको र घटनाका लागि जिम्मेवारलाई ‘कडा सजाय’ दिइने बताए ।
समाचार स्रोतअनुसार गोदाममा भण्डारण गरिएको एमोनियम नाइट्रेटसन् सन् २०१३
देखि लेवनानमा थियो । जर्जियाबाट मोजाम्बिक जाँदै गरेको पूर्वी युरोपेली देश मोल्दोभाको झन्डा फहराइएको द रोसस नामको जहाजले ती सामान त्यहाँ ल्याइपु¥याएको थियो । सो जहाज समुद्रमा प्राविधिक समस्या आएपछि लेवनानमा अडिन बाध्य भएको थियो । पछि भन्सारको अलमलमा लेवनानका सरकारी अधिकारीहरूले जहाज जान नदिएपछि सामान त्यही रहन गएको थियो । ती सामान त्यत्तिबेलाबाट लेवनानको प्रमुख पूर्व–पश्चिम राजमार्गबाट राजधानी प्रवेश गर्ने खैरो रङको विशाल भवनमा भण्डारण गरिएको थियो । सन् २०१४ मा लेवनानका भण्डार प्रमुखले ती सामानको विषयमा ‘जो जोसँग सम्बन्धित छ’ सार्वजनिक सूचना जारी गरेको अहिले बाहिरिएको कागजातबाट प्रस्ट देखिन्छ । लेवनानका भन्सार कार्यालयले त्यसपछि पनि कम्तीमा चार पटक ती सामानबारे सार्वजनिक सूचना जारी गरेको देखिन्छ । त्यसपछि पनि त्यो सामान बुझ्न कोही नआएपछि लेवनानको भन्सार कार्यालयसँग तीन विकल्प थिए ः एमोनियम नाइट्रेट निर्यात गर्ने, लेवनानी सेनाको जिम्मा लगाउने अथवा निजी लेवनानी विस्फोटक कम्पनीलाई बिक्री गर्ने ।
लेवनानका प्रधानमन्त्री हस्सन डैबले मङ्गलबार नै सो घटनालाई ‘ठुलो राष्ट्रिय सङ्कट’ घोषणा गर्दै यसको निम्ति ‘जिम्मेवारलाई मूल्य तिराइने’ वाचा गरेका छन् ।
लेवनान सरकारले सो घटनाबारे अध्ययन गर्न एउटा न्यायिक समिति गठन गरेको छ । सो समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
लेवनानी प्रधानमन्त्री हस्सन डैबले सबै मित्र देशहरूलाई विस्फोटनपछिको सङ्कट सामना गर्न सहयोगको लागि आह्वान गरेका छन् ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टिनिओ गुजरेजले सो घटनाप्रति गहिरो समेवदना व्यक्त गरेका छन् । उनले सो घटनामा परी राष्ट्र सङ्घका अधिकारीहरू पनि घाइते भएको बताएका छन् । घटनाप्रति संरा अमेरिका, चीन, रूस, फ्रान्स, क्यानाडा, कतार, कुवेत, इरान, टर्की, प्यालेस्टाइन, इजरायल, इजिप्ट, संयुक्त अरब इमिरेट, अरब लिगलगायत धेरै देशले दुःख व्यक्त गरेका छन् ।
छिमेकी देश सिरियालगायत मध्यपूर्वको द्वन्द्वको कारण शरणार्थी समस्या, आर्थिक विषमता, आन्तरिक द्वन्द्व र कोरोना भाइरसको महामारीले कमजोर अवस्थामा रहेको लेवनानको निम्ति यो घटनाको मूल्य निकै पर्ने देखिएको छ ।
विनाशकारी विस्फोटनपछि झन्डै तीन लाख मानिस विस्थापित भएका छन् ।
शक्तिशाली विस्फोटनका कारण उनीहरू घरबारविहीन भएकाले उनीहरू विस्थापित हुनु परेको अधिकारीहरूले बुधबार जनाएका छन् । स्थानीय गभर्नर ममार्वान अब्बौडले विस्थापित हुनेहरूको विवरण सङ्कलनकै क्रममा रहेको र अझै धेरै विस्थापित भएको हुनसक्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *