भर्खरै :

कस्तो राजनीतिक नेतृत्व रोज्ने ?

काठमाडौँ, २५ साउन । कुनै पनि मानिस वा संस्थाको वास्तविक चरित्र सङ्कटको समयमा अझ प्रस्ट हुने गर्छ । निःसन्देह कोभिड–१९ महामारीको कारण मानिसले ठुलो सङ्कटको सामना गरिरहेको छ । यो महामारीले संसारभर प्रयोगमा रहेका विभिन्न राजनीतिक व्यवस्थाको क्षमता र कमजोरी पनि मानिससामु छर्लङ्ग पारेको छ । कुन देशले जनमुखी र कसले नाफामुखी शासन व्यवस्था पछ्याइरहेको छ भन्ने कुरा बुझ्न यो महामारीले संसारलाई अवसर पनि प्रदान गरेको छ । कुन देशका नेता सङ्कटको बखत के गरिरहेका छन् भन्ने आधारमा संसारका जनताले को नेताको चरित्र कस्तो हो, बुझ्न सहज बन्दै छ ।
प्रसङ्ग नेपालबाट सुरु गरौँ । पछिल्ला केही साता नेपालका विशेषतः तराईका जिल्ला र काठमाडौँ उपत्यकाभित्र कोभिड–१९ सङ्क्रमण जङ्गलमा डढेलो फैलिएजस्तै फैलिरहेको छ । सरकारी निकाय आफैँ जनतालाई सचेत रहन सूचना फुकिरहेका छन् । तर, सरकारको दायित्व सचेतनाका सूचना फुक्नेमात्र होइन । कुन दैलोबाट कोरोना भाइरस पस्दै छ, त्यो दैलो टाल्नु पनि सरकारले सबै संयन्त्र परिचालन गर्नुपर्ने हो । यो कार्यमा सिङ्गो सरकारी निकायबीच समन्वयात्मक भूमिका अपरिहार्य हुन्छ । तर, के नेपाल सरकारले आज त्यो भूमिका खेल्न सकिरहेको छ ? परिणामले स्पष्टतः नकारात्मक जवाफ दिन्छ । सरकारका मुली यस्तो विषम परिस्थितिमा के गरिरहेका छन् ? प्रधानमन्त्री यतिबेला रामको जन्मथलोबारे बहस गर्दै राम मन्दिर बनाउने उर्दी जारी गरिरहेका छन् । के यो समय रामको जन्म कहाँ भएको भन्ने विषयमा बहस गर्ने बेला हो ? के यो समय राम मन्दिर बनाउन पैसा खर्च गर्ने बेला हो ?
संविधानमा नेपाललाई धर्मनिरपेक्ष देश रहने उल्लेख छ अर्थात् राज्यले धर्म गर्न पाउँदैन । नागरिकको धर्म मान्ने अधिकारको रक्षा गर्दै सरकारले भने कुनै पनि धर्मप्रति झुकाव वा पूर्वाग्रह राख्न मिल्दैन । तर, प्रधानमन्त्री रामको जन्म कहाँ भएको थियो भन्ने असान्दर्भिक बहसमा मात्र अल्झिरहेका छैनन्, बरु सरकारी निकायलाई अनुसन्धान र मन्दिर निर्माणको आदेश पनि दिइरहेका छन् ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा स्वास्थ्यकर्मीहरू नै कोभिड–१९ सङ्क्रमित हुँदा अरू स्वास्थ्यकर्मीहरू बिरामीको उपचार नगरी भागाभाग भएका छन् । उपचार नपाएर जनता अनाहक मरिरहेका समाचार लगातार प्रसारण भइरहेका छन् । काठमाडौँ उपत्यकामा अस्पतालका शय्याहरू भरिएको समाचार लगातार आइरहेका छन् । अनि प्रधानमन्त्रीले राम मन्दिर बनाउने निर्देशन दिने हो वा अस्थायी अस्पताल र आइसोलेसन सेन्टर बनाउने निर्देशन दिने ? राममन्दिर बनाउने उर्दी जारी गर्ने हो वा सघन उपचार कक्षा बनाउने बजेट निकासा गर्ने हो ?
यतिबेला नेपाली जनताको लागि प्राथमिक आवश्यकता कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रण हो । राम कहाँ जन्मिए अथवा राम भन्ने पात्र नै थिए वा थिएनन् भन्ने बहसमा आज प्रधानमन्त्रीलगायत पदाधिकारी लाग्नु गलत हो । पुँजीवादी राजनीतिमा प्राथमिकताका विषयलाई ओझेलमा पारेर जनतालाई अन्य विषयमा भुलाउने जालसाझी मतिले पनि यस्ता कुरा उछाल्ने गरिन्छ । जनतालाई पहिलो प्राथमिकतामा नराख्ने राजनीतिका खेलाडीहरू यस्ता जालझेलमा निपुण हुन्छन् ।
छिमेकी देश भारतको मोदी सरकार पनि यस्तै चरित्रको सरकार हो । भारत संसारमै सबभन्दा बढी सङ्क्रमित भएको देशमध्ये तेस्रो क्रममा छ । उनका गृहमन्त्री अमित साह आफँै सङ्क्रमित भएर अस्पतालमा छन् । सामाजिक दुरी कायम राख्न, सावधानीका उपाय अवलम्बन गर्न र सार्वजनिक गतिविधि नगर्न सरकारी सञ्चारमाध्यम र निकायले प्रचार गरिरहेका छन् । तर, प्रधानमन्त्री मोदीले यतिबेला अयोध्यामा गएर विवादास्पद राममन्दिर शिलान्यास गरे । भारतका विदेशमन्त्री अहिले बुद्धको जन्मभूमिबारे विवादास्पद अभिव्यक्ति दिइरहेका छन् । भारतमा हजारौँ स्वास्थ्यकर्मी यस्तो विषम परिस्थितिमा आन्दोलनमा उत्रेका छन् । सङ्क्रमणको परिधि फैलिरहेको छ । तथापि किन भारतको कार्यकारी अधिकार सम्हालेका पदाधिकारीहरू यस्ता काम गरिरहेका छन् ? किन यस्ता विवादास्पद अभिव्यक्ति दिइरहेका छन् ? किन जनताको मूल समस्याभित्र उनीहरू पस्न चाहिरहेका छैनन् ? प्रस्टतः यसको कारण उनीहरूको राजनीतिको मूल ध्येय नै जनताको सेवा गर्नु होइन । जनताको इमानदार सेवा गर्न होइन, जनतामाथि शासन गर्न र मूर्ख बनाउन राजनीतिमा होमिएका हुन् ।
कोभिड–१९ सँगै संसारभर आर्थिक मन्दी फैलिरहेको छ । स्वभावतः यसको सबभन्दा चोटिलो प्रहार नेपाल र भारतजस्ता गरिब देशका गरिब जनतामा नै पर्ने हो ।
यी देशका कामदार जनताको थाप्लामा नै आर्थिक मन्दीको सबभन्दा ठुलो बज्रपात हुनेछ । करोडौँ करोड जनताले रोजगारी गुमाउँदै छन् । शारीरिक र बौद्धिक मजदुरहरू आधा तलबले जीवन धान्न बाध्य छन् । बजारमा महँगी अनियन्त्रित छ । जनताका यस्ता अहम् समस्याबारे सरकार सम्हालेका नेताहरूले बोलेको खोइ ? श्रमिक जनताका यस्ता समस्याको समाधानको उपाय सरकारसँग के छ ?
कोभिड–१९ महामारीको यो विकराल अवस्था सबै देशका जनताले आ–आफ्ना नेता र नेतृत्वलाई चिन्न राम्रो मौका बनेको छ । संसारले कोभिड–१९ को सङ्क्रमण फैलिएसँगै अहोरात्र खटेर सारा स्रोत साधन परिचालन गरेर जनताको सेवा गर्ने नेतृत्व पनि देखेको छ । यही बेला संसारका जनताले एकपछि अर्को झूट बोलेर जनतालाई मूर्ख र रोगी बनाउने अनि मार्ने नेतृत्व पनि देखेको छ । कोभिड–१९ को प्रतिरोधलाई जनताको युद्धको संज्ञा दिएर देशभरका सबै स्रोत साधन परिचालन गर्ने नेतृत्व पनि देखेको छ, स्वास्थ्योपचारको निम्ति जनताको पैसाले खरिद गरेको स्वास्थ्य सामग्रीमा नै अरबौँको भ्रष्टाचार गर्ने नेतृत्व पनि यही बेला संसारले देखेको छ ।
कोभिड–१९ ले मानिससामु धेरै प्रश्न उठाएको छ । तीमध्ये एउटा प्रश्न हो–कस्तो राजनीतिक नेतृत्व रोज्ने ? दैनिक जीवनका अनेकथरी प्रतिकूलताबीच आज नेपाली जनताले पनि यो प्रश्नमा पनि छलफल गर्न जरुरी छ ।
त्यसो भए के अहिलेको सरकार वा प्रधानमन्त्री बदलिएर भविष्यमा आउन सक्ने यस्ता विपद्मा जनताको अवस्थामा कुनै सुधार आउन सक्ला ? प्रश्न व्यक्तिको होइन, यो सरकार र शासक दलले कुन वर्गको पक्षधरता लिन्छ भन्ने विषय हो । यो सरकार कुन वर्गको निम्ति बनेको सरकार हो ? भन्ने हो । अहिलेको शासक दल र प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसलगायत दलहरूले कामदार जनताको पक्षमा राजनीति गर्दैनन् । त्यसकारण यस्ता महामारी र अरू सामान्य परिस्थितिमा पनि जनताको स्वास्थ्यको निम्ति पूर्वाधार र जनशक्ति निर्माण उनीहरूको प्राथमिकता कहिले हुने गर्दैन । महामारीको समयमा यो सत्य अझ पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *