भर्खरै :

अन्धविश्वासले कोरोना रोकिँंदैन

विश्वका विभिन्न देशमा जस्तै हाम्रो देश नेपालमा पनि कोभिड–१९ को महामारी बढ्दै छ । कोभिड–१९ को वृद्धिमा सरकारी निकायको उदासिनता र लाचारी जति जिम्मेवार छ त्यति नै प्रधानमन्त्रीदेखि सत्तासीन पार्टीका नेताहरूका अवैज्ञानिक अभिव्यक्तिहरू पनि जिम्मेवार छन् । विभिन्न धर्मका जिम्मेवार अधिकारीहरूले कोभिड–१९ नियन्त्रणका लागि धार्मिक अनुष्ठान आयोजना गर्ने नाममा गरेका भेला र सभा समारोहहरूले पनि भाइरस सङ्क्रमण बढाउनमा प्रत्यक्ष र अप्रत्यक्ष भूमिका निभाएका छन् । प्रधानमन्त्री ओलीका अनुसार त कोभिड–१९ लाग्नै नदिन रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न र रोग लागिसकेपछि पनि निको हुन बेसार र तातोपानीको प्रयोग नै पर्याप्त छ । सरकारकै आह्वानमा कोभिड–१९ लाई जित्न देशव्यापी दीप प्रज्ज्वलन पनि भइसकेकै छ । सरकार र सरकारको पक्षमा रहेकाहरूले मानून् या नमानून् यथार्थ त कोभिड–१९ नियन्त्रणमा ओली सरकार असफलसिद्ध भइसकेको छ ।
विश्वमा कोभिड–१९ को महामारी बढ्दै गएपछि विश्वका विभिन्न देशमा अन्धविश्वासका क्रियाकलापहरू पनि देखिए । क्रिश्चियन धर्मका कतिपय धर्मगुरूहरूले चर्चमा सच्चा मनले प्रार्थना गर्नेहरू रोगको चपेटाबाट बच्ने दावा गरे । तर, दावा गरेको केही हप्ताभित्रै ती धर्मगुरूहरू आफैँ कोभिड–१९ बाट सङ्क्रमित भएका र तीमध्ये केहीको मृत्यु भएको खबर पनि आए । कतिपय मस्जिदका मौलवी वा मुस्लिम धर्मगुरूहरूको दिनरातको अलाहको प्रार्थना पनि काम लागेन । कोरोना भाइरस सङ्क्रमणविरूद्धका उपाय नअपनाउँदा तिनीहरू आफैँ रोगको सङ्क्रमणमा परे । हाम्रो छिमेकी देश भारतमा त आफूलाई हिन्दू धर्म संस्कृतिका रक्षक दाबी गर्नेहरूले गाईको मलमूत्रलाई नै कोरोना भाइरस निरोधको खोपका रूपमा प्रचार गरे । सत्तासीन भाजपाका कतिपय कार्यकर्ताहरूले त कोरोना भाइरसविरूद्धको प्रभावकारी औषधि भनेर गाईमूत्रको व्यापार पनि गर्न भ्याए । भाजपाका नेता कार्यकर्ताहरूले उत्तर प्रदेश, विहार, पश्चिम बङ्गाल, गुजरात, राजस्थानलगायतका राज्यहरूमा गाईमूत्र सेवन गर्ने पार्टी पनि आयोजना गरे । कैयौं हिन्दू मठमन्दिर र तीर्थस्थलहरूमा हवन–यज्ञ र ठुलठुला पूजाअर्चनाहरू पनि गरिए तर ती सबैको परिणाम उल्टो आएका छन् । भारत कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित देशहरूको सूचीमा संरा अमेरिका र ब्राजिलपछि तेस्रो नम्बरमा उक्लेको छ । अन्धविश्वासका क्रियाकलापको प्रचारप्रसार गरेका भारतका केन्द्रीय सरकार र कैयौँ राज्य सरकारका मन्त्रीहरू र भाजपाका नेताहरू स्वयम् कोरोना भाइरसबाट सङ्क्रमित भए । भारतमा झन्डै २२ लाख मानिस कोरोना सङ्क्रमित भइसकेका छन् भने तीमध्ये ४३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
नेपालमा पनि कोभिड–१९ बाट बच्ने नाममा आज कतिपय मानिसहरू आ–आफ्नो धर्म अनुसार मन्दिर, मस्जिद, गुम्बा–विहार, चर्च र गुरूद्वारहरूमा जाने र पूजाअर्चना, प्रार्थना गर्ने कार्य गरिरहेका छन् । आफ्नो आस्थाअनुसारको धर्म अपनाउने र धार्मिक क्रियाकलाप गर्ने अधिकारलाई नेपालको संविधानले पनि धार्मिक स्वतन्त्रताको अधिकारको रूपमा मौलिक अधिकारमा व्यवस्था गरेको छ । तर, कोभिड–१९ रोग सार्स–कोभ–२ अर्थात् नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट हुने हुनाले कुनै धार्मिक स्थलमा गरिएको प्रार्थना र पूजा अर्चनाले निको पार्ने होइन । अन्धविश्वासले कोरोना भाइरसलाई पराजित गर्न सकिँदैन । हालसम्म यो भाइरसविरूद्ध प्रभावकारी खोप र उपचारका लागि शतप्रतिशत प्रभावकारी औषधि नबनिसकेको अवस्थामा भाइरस सङ्क्रमणबाट बच्न रोकथामका वैज्ञानिक उपायहरू अपनाउनु नै सबैभन्दा बढी बुद्धिमानी ठहरिन्छ । भिडभाड नगर्नु र भीडभाडमा नजानु, बाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्नु, समय–समयमा साबुन पानीले हात धुनु वा स्यानिटाइजर प्रयोग गर्नु, व्यक्ति व्यक्तिबीच दुईमिटरको भौतिक दूरी कायम गरेर बस्नु कुनै धर्म, धर्मको विरोध वा अन्धविश्वास नभई भाइरस सङ्क्रमण हुन नदिने वैज्ञानिक उपाय हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *