भर्खरै :

आसियानको तटस्थ नीति कायम

दक्षिणपूर्वी एसियाली देशहरू (आसियान) का विदेशमन्त्रीहरूले बद्लिँदो क्षेत्रीय र विश्व परिवेशको कारण फैलिँदो अनिश्चितताबीच दक्षिणपूर्वी एसियाले शान्ति, सुरक्षा, असंलग्न र स्थायी क्षेत्रको मर्यादा कायम राख्ने बताएका छन् । शनिबार विदेशमन्त्रीहरूले जारी गरेको वक्तव्यमा यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।
आसियानको ५३ औँ स्थापना दिवसको अवसर पारेर जारी वक्तव्यमा आसियान देशहरूले आसियान समुदाय दृष्टिकोण – २०२५ को प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नेमा प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनीहरूले दिगो विकासको लागि उपयुक्त शान्तिपूर्ण वातावरण बनाउन निरन्तर संवाद, सबै पक्षको जीत हुने विन–विन सिद्धान्तमा आधारित सहकार्य र व्यवहारिक विश्वास निर्माणमार्फत् देशहरूबीच आपसी रणनीतिक आत्मविश्वासको लागि निम्ति आह्वान गरेका छन् ।
सन् १९६७ मा स्थापना भएको आसियानमा ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्यान्ड र भियतनाम समाहित छन् ।
दक्षिण चीन सागर तनाव
चीन र संरा अमेरिकाबीच सम्बन्ध चिसिरहेको समयमा आसियानबाट सो वक्तव्य जारी भएको हो । संरा अमेरिकाले दक्षिण चीन सागरमा पटक–पटक सैनिक विमान र युद्धकजहाज परिचालन गर्ने गर्दै आएको छ । दक्षिण चीन सागरमा चीन र केही आसियान देशहरूबीच भौगोलिक र सामुद्रिक विवाद हुँदै आएको छ ।
गत महिना संरा अमेरिकी विदेश सचिव माइक पम्पेओले भनेका थिए, “दक्षिण चीन सागरको अधिकांश क्षेत्रमा पेइचिङको दाबी पूर्णतः गैरकानुनी छ ।” सो क्षेत्रमा हालै संरा अमेरिकी जलसेनाले बृहत् आकारको सैनिक अभ्यास गरेको छ ।
प्रतिक्रियामा पेइचिङले चीन र आसियान देशहरूबीच विभाजन ल्याउने वाशिङ्टनको खण्डन गर्दै दक्षिण चीन सागरमा शान्ति र स्थायित्व प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए । दक्षिण चीन सागर क्षेत्रमा संरा अमेरिका प्रत्यक्ष सरोकार भएको देश होइन । तथापि उसले यो मामिलामा हस्तक्षेप गर्न छोडेको छैन । त्यसकारण सो क्षेत्रमा तनाव र द्वन्द्व बढ्दै गएको छ ।
चीन र आसियान देशहरू दक्षिण चीन सागरमा सबैले पालना गर्नुपर्ने नियमावलीबारे छलफल अघि बढाइरहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
दुई पक्षबीच नियमावलीको पहिलो मस्यौदा तयार गरिसकेको छ । छलफलपछि सन् २०२० भित्रै सो मस्यौदा पारित गर्ने बताइएको छ ।
आसियानको ५३ औँ स्थापना दिवसको अवसरमा सन्देश दिँदै इन्डोनेसियाका विदेशमन्त्री रेट्नो मर्सुदीले आसियानलाई कुनै पनि मोर्चा छान्न बाध्य पार्न नहुने बताए ।
“आसियानले हाम्रो क्षेत्रीय शान्ति र स्थायित्व कायम राख्न सधैं सहकार्य गर्नुपर्छ । आसियान भूराजनीतिक द्वन्द्वमा फस्नु हुन्न अथवा कुनै पनि एक पक्षको पछि लाग्नुहुन्न”, उनले भने ।
“त्यसकारण आसियानले आफूलाई केन्द्रमा राखेर सान्दर्भिकता अक्षुण राख्न, सहकार्य गरेर क्षोभ त्याग्न र रणनीतिक विश्वासलाई कायम राख्नुपर्छ”, उनले भने ।
भियतनामका उपप्रधान तथा विदेशमन्त्री पाम बिन मिनले क्षेत्रीय शान्ति र समृद्धिको लागि आसियान देशहरूबीच बलियो र एकीकृत प्रयास अपरिहकार्य भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *