भर्खरै :

द्वैधचरित्रका नेताहरू भरपर्दा हुँदैनन्

नेकपाका उपाध्यक्ष वामदेव गौतम विवादित नेता हुन् । उनी पदको लालसाका नेता हुन् । उनी अवसरवादी चरित्रका छन् । उनले आफू सञ्चारमाध्यममा आएझैँ कुनै गुटमा नलागेको बताए । नेकपाका नेताहरू गतिविधिको आधारमा गुट, उपगुटमा विभाजितजस्तो देखिए पनि ती नेताहरूले आफूहरू कुनै गुटमा लागेको स्वीकारेका छैनन् । तर, उपाध्यक्ष गौतमले प्रेस नोट सार्वजनिक गर्दै आफू कुनै गुटमा नलागेको तर अरु तीन नेताहरू गुटमा लागेको उद्घोष गरे । नेकपाका अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल गुटमा लागेको उनको दाबी ती नेताहरूले स्वीकार्लान् या नस्वीकार्लान् ? त्यो अर्काे पाटो छ ।
नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता केपी ओलीकै निर्देशनमा भएको आफूसँग प्रमाण भएको भन्नसक्ने नेता गौतमले ती नेताहरू आ–आफ्नो गुटमा लागेको प्रमाण पनि आफूसँग भएको भन्न सायद पछि पर्दैनन् । तर, प्रम ओलीको निर्देशनमा नेकपा (एमाले) दर्ता भएको प्रमाण अहिलेसम्म उनले दिएका छैनन् या दिनसकेका छैनन् । निश्चय नै यो कुरा प्रम ओलीलाई पच्दैन । त्यसरी नै गुटमा लागेको उनको दाबी पनि ओली, दाहाल र नेपाललाई पच्दैन भन्ने कुरा नेकपाकै कार्यकर्ताहरू बताउँछन् । शुक्रबार जारी भएको उनको त्यस प्रेस नोटबारे आन्तरिकरूपमा आरोपित नेताहरूले के भने हुन् जानकारीमा आएको छैन । ओली, दाहाल र नेपालले आफूहरू केको आधारमा गुटमा लागेको भनी प्रचार गरेको सोधे नेता गौतम के जवाफ दिन्छन् ? आफू कुनै गुटमा नलागेको र अरु तीन नेता गुटमा लागेको उनको कुराले नेता गौतम फेरि विवादमा पर्ने निश्चित छ । नेता गौतम कहिले केपी ओलीको गुणगान गर्न त कहिले उनकै धुरन्धर विरोध गर्न पछि नपरेकोमा नेपाली जनता जानकारमा छन् । प्रम पदको लोभले उनी ओलीको पक्षपोषण गर्न गएको कुरा जनताले यति चाँडै कसरी बिर्सन सक्छन् ? आफू प्रम बन्ने मौका नदेखेपछि ओलीकै विरोधमा उनी खनिएका हुन् या दाहालको पक्षमा लागेका हुन् । नेता गौतम द्वैधचरित्रका पात्र हुन् भन्ने कुरा घटनाक्रमले पुष्टि गर्छ ।
सायद नेकपाका उपाध्यक्ष गौतमले अरू गुटमा लागेर आ–आफ्नो स्वार्थमात्र हेर्ने र आफू कुनै गुटमा नलागी पार्टी बचाउने काममा लागेको बताएर इमानदार र जिम्मेवारी नेता बनेको पुष्टि गर्न खोजेका त होइनन् ? तर, प्रेस नोट निकालेर, अरुलाई होच्याएर आफू पार्टीका लायक नायक बन्दैनन् । त्यस्ता पात्रलाई नेता, कार्यकर्ताले एकैपटक विश्वास पनि गर्दैनन् । अरूमाथि आरोप लगाउँदैमा त्यो सही हुन्छ र आफ्नो कुरा विश्वास गर्छ भन्ने पनि होइन । उपाध्यक्ष गौतम नेकपाका सच्चा नेता बनून्, जोकर नबनून् । आफ्नो पद र प्रतिष्ठाको ख्याल नगरी विचार पोख्नु पनि ठीक हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *