इरानका ‘केही स्थान’ मा अमेरिकी आक्रमण
- असार १५, २०८३
टीकापुर, २७ साउन (रासस) । कैलालीको भजनीका बाढीपीडित परिवार पुनः विस्थापित भएका छन् । शनिबार रातिदेखि निरन्तर वर्षा भएपछि भजनीमा पुनः बाढी आउँदा भजनी–८ का ११७ परिवार विस्थापित भएका छन् ।
घर फर्किएको ३ दिनमै पुनः विस्थापित हुनुपरेको बाढीपीडितको गुनासो छ । वर्षाले भजनी–८ खल्लाटोल सोनाहफाँटाका ४०, डाढाटिकका ५२ र कृष्णनगरका २५ परिवारले घर छाडेका छन् । विस्थापित परिवार पथरैया नदीको पुलमाथि पाल टाँगेर बस्न थालेको स्थानीयवासी जयप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । “बाढी बस्तीमा पसिसकेको छ, पानी रोकिने छाँटकाँट छैन”, उहाँले भन्नुभयो, “त्रासमा रहेका पीडितले घर छोड्न थाले ।”
उहाँका अनुसार बस्ती जलमग्न भएको छ । पथरैया, काढा र कान्द्रा नदीको पानी बस्ती पस्ने जोखिम बढेको छ । पीडित धनकला विकको परिवार एक साता पथरैया पुलको बासपछि तीन दिनअघि पानी सुकेपछि घर फर्किएको थियो । विकको परिवारले भत्केको घर मर्मतको तयारी थालेको थियो तर सोमबार बिहानै गाईभैँसी र बालबच्चासहित पुनः सडकमा फर्किएको छ ।
विकले भन्नुभयो, “अन्नपात केही रहेन, लुगाकपडा सबै बगे”, ज्यालादारी गरेर भए पनि पेट पालौँला सोचेका थियौँ तर घरमा बस्नै नपाइने भयो ।” उहाँले बाढीले भजनीमा उठिबास लगाएपछि धेरै चिन्ता बढेको बताउनुभयो । विकले गुनासो गर्नुभयो, “सरकार छ आउँछ, सरकारले पनि के गरोस्, चिउरा, चाउचाउ दिएको छ । हिजो एक कट्टा चामल दिएको थियो, आज त्यही बोकेर पुलमा फर्कियौँ ।”
भजनीमा साउन १४ गते आएको बाढीले एक हजार ६७१ परिवार विस्थापित भएका थिए । उनीहरू पुनः विस्थापित हुनुपर्ने अवस्था आएको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले बताउनुभयो । “नगरपालिकाले बाढी रोक्न सक्ने अवस्था छैन तर उद्धारमा खटेका छौँ”, उहाँले भन्नुभयो ।
तटीयवासीलाई सतर्क रहन आग्रह
मौसम विज्ञान विभागले वर्षा अझै जारी रहने भएकोले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा बस्न सूचना गरेको छ । विभागले चिसापानी, टीकापुर, भजनी क्षेत्रका साना तथा ठुला नदीमा पानीको बहाव बढ्न सक्ने चेतावनीसहितको सूचना दिएको छ ।
कर्णाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास सुरु भएको छ । वर्षा निरन्तर भएपछि तटीय क्षेत्रका नागरिकमा त्रास सुरु भएको हो । कर्णाली नदीमा बिहान ६ः३० बजेसम्मको रेकर्डअनुसार पानीको सतह नौ मिटर सात सेन्टिमिटर पुगेको छ ।
कर्णाली चिसापानीका गेजरिर्डर पार्वती गुरुङका अनुसार कर्णालीको ठुलीगाड, सेती र भेरी नदीमा पनि पानी बढिरहेकाले अझै पानीको सहत बढ्न सक्ने जोखिम रहेको उहाँले बताउनुभयो । पहाडतिर भारी वर्षा भएको र नदीमा पानीको सतह बढिरहेकोले तटीय क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सतर्क रहन आग्रह गर्नुभएको छ ।
नदीमा पानीको बहाव बढेपछि नेपाल रेडक्रस सोसाइटी टीकापुर, भजनी नगरपालिकाले नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् । चिसापानीमा कर्णाली नदीको सतह नौ मिटर पुगे सतर्क, १० मिटर पुगे पूर्वतयारी र ११ मिटर पुगे तटीय क्षेत्रका लागि खतरा मानिन्छ ।
Leave a Reply