भर्खरै :

चाँगु नपाका मेयर अख्तियारको फन्दामा !

भक्तपुर, २८ साउन । चाँगुनारायण नपा वडा नं ७, बागेश्वरीस्थित भङ्गेरी डाँडा बहाल वन क्षेत्रमा रङ्गशाला निर्माण गर्ने सत्ता पक्षका मेयर तथा जनप्रतिनिधिहरूको योजनाविरूद्ध अख्तियारमा उजुरी परेको छ । चाँगु नपाका मेयर र आयोजना सञ्चालन गर्नेहरूविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालमा उजुरी परी सोबारे छानबिन भइरहेको डिभिजन वन कार्यालय भक्तपुरले चाँगु नपालाई पठाएको पत्रमा उल्लेख छ ।
चानपा ६ नगरकोट र ७ बागेश्वरीको जङ्गल क्षेत्र भक्तपुरका जनताको खानेपानीको स्रोत हो । भक्तपुर जिल्लाका लाखौँ जनताले सो जङ्गलबाट निस्कने मुहानको पानी पिउँछन् । तर चाँगुका मेयरको अगुवाइमा मुहान क्षेत्र वरपरका करिब ५ हजार रूख अवैध ढङ्गले कटान गरी बेपत्ता पारिएको समाचार छ ।
उक्त गैरकानुनी कामको सर्वत्र विरोध हुनुका साथै जिल्ला प्रशासन कार्यालय भक्तपुर, चागँुनारायण नपा, डिभिजन वन कार्यालय भक्तपुरलगायतका निकायहरूमा स्थानीय जनताले विरोधपत्र बुझाएका छन् । डिभिजन वन कार्यालय भक्तपुरले २०७७।३।२८ गते निर्माण कार्य पूर्णरूपमा बन्द गर्न चाँगु नपालाई पत्राचार गरेको छ भने वन निर्देशनालय हेटौँडा मकवानपुरमा जानकारी पठाएको छ । नगरकोट सव डिभिजन वन कार्यालय सुडाल, भक्तपुरलाई ‘नेपाल सरकारको निर्णयबेगर निर्माण कार्य रोक्का राख्न लगाउनु’ भनेर निर्देशन पठाइएको छ ।
चाँगु नपाले भूमाफियाहरूको प्रभावमा परी जलाधार क्षेत्र नै मासिने गरी रङ्गशालाको परियोजना ल्याएपछि सचेत स्थानीय जनता आक्रोशित भएका छन् । उक्त क्षेत्रमा नपाले विनाडीपीआर २२ लाख १० हजार ५ सय ६० रूपैयाँ अघिल्लो आवमा खर्च ग¥यो । जनताको विरोध हुँदा हुँदै पुनः नपाले ‘भङ्गेरी डाँडामा रग्बी बहुउद्देश्यीय रङ्गशाला निर्माण कार्यलाई अघि बढाइने’ भनेर १५ लाखको बजेट आव २०७७÷७८ को लागि विनियोजन गरेको छ । प्रदेश सरकारले पनि यस्तो गैरकानुनी कार्यलाई प्रोत्साहन गर्न रू. ४० लाख विनियोजन गरेको छ । यसरी विनियोजित बजेट कुम्ल्याउन ठुलै माफियाहरू लागिपरेको जानकारहरू बताउँछन् ।
नेपाल सरकारले मन्त्रिपरिषद्को बैठक निर्णयअनुसार २०७७ जेठ १५ गते सातै वटा प्रदेशलाई अनियमित रूख कटान, ओसारपसार रोक्न निर्देशन दिएको थियो । तर उक्त निर्देशन सत्ता पक्षकै मेयर तथा जनप्रतिनिधिले उल्लङ्घन गरे । विशेष सूत्रका अनुसार आयोजना सञ्चालकहरू र चाँगु नपाका मेयर अख्तियारको फन्दामा पर्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *