भर्खरै :

बाइडेनले रोजे कमला ह्यारिसलाई उपराष्ट्रपतिका उम्मेदवार

वाशिङ्टन, १२ अगस्ट । आगामी नोभेम्बर महिनामा हुने संरा अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा पूर्वउपराष्ट्रपति जो बाइडेनले सिनेटर कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार पदको रूपमा छनोट गरेका छन् ।
ट्वीटरमा बाइडेनले ह्यारिसको प्रशंसा गर्दैै लेखेका छन्, “उनी देशकै सबभन्दा उत्तम राष्ट्रसेवक हुन् ।”
सन् २०१६ मा सिनेट सदस्यमा निर्वाचित ५५ वर्षकी ह्यारिस सिनेट सदस्यमा जित्ने दोस्रो अफ्रिकी अमेरिकी महिला हुन् । त्यसअघि उनले क्यालिफोर्नियाको न्यायाधिवक्ताको पदमा रही काम गरेकी थिइन् । बाइडेनले उपराष्ट्रपति पदको लागि उनलाई छनौट गरेपछि संरा अमेरिकी इतिहासमा उनी सो पदको उम्मेदवार बनेकी तेस्रो महिला बनेकी छिन् । सन् १९८४ मा पहिलो पटक डेमोक्रेटिक पार्टीको तर्फबाट गिराल्डाइन फेरारो र सन् २००८ मा रिपलिब्कलन पार्टीले सराह पलिनलाई सो पदको उम्मेदवार बनाएका थिए ।
“न्यायाधिवक्ताको रूपमा कमलाले ब्युसँग नजिकमा रहेका काम गरेकी थिइन्”, बाइडेनले दिमागको क्यान्सर भएर सन् २०१५ मा निधन भएका आफ्नो छोरोको स्मरण गर्दै लेखेका छन् । उनका छोरा त्यत्तिबेला डेलावरका न्यायाधिवक्ता थिए । “उनीहरू ठुलठुला बैङ्कसँग गरेको गतिविधि, कामदार जनताको अवस्था उकास्न खेलेको भूमिका, महिला र केटाकेटीमाथि दुव्र्यवहार अन्त्य गर्न गरेका कामलाई नजिकबाट देखेको थिएँ । त्यत्तिबेला उनीहरूप्रति मलाई गौरव अनुभव हुन्थ्यो । आज उनी मेरो सहकर्मी भएर उम्मेदवार बन्दा मलाई निकै गौरव अनुभव भएको छ”, बाइडेनले भने ।
घोषणालगत्तै ह्यारिसले बाइडेनलाई डेमोक्रेटिक दलको उम्मेदवारको रूपमा प्रशंसा गर्दै अमेरिकी जनतालाई एकताबद्ध गर्न बाइडेन सफल हुने बताइन् । बाइडेनले जीवनभर अमेरिकी जनताकै लागि लडेको हुनाले उनी राष्ट्रपति भए एक जना अमेरिकीको रूपमा अमेरिकी जनताको आदर्शको लागि बाँच्ने विश्वास व्यक्त गरिन् ।
“उपराष्ट्रपति पदको लागि पार्टीको तर्फबाट उम्मेदवार बन्न पाएकोमा म खुसी छु । मैले बाइडेनलाई कमान्डर इन चिफको रूपमा लिएको छु”, उनले भनिन् ।
बाइडेनको चुनावी अभियान कार्यालयले दिएको जानकारीअनुसार बाइडेनको गृहनगर डेलावरको विलमिङटनमा दुवै जनाले त्यहाँ हुने चुनावी कार्यक्रममा भाषण गर्नेछन् ।
कमला ह्यारिस भारतीय र जमाइकन आप्रवासी आमाबुबाकी छोरी हुन् । उनले सन् २०१९ को जनवरीमा ह्वाइट हाउसको चुनावी प्रतिस्पर्धाको लागि उम्मेदवारी घोषणा गरेकी थिइन् । तर, चुनाव लड्न पैसा उठाउन नसकेपछि उनको घोषणा एक वर्ष पनि टिक्न सकेन ।
सन् २०२० को मार्चमा डेमोक्रेटिक पार्टीभित्रको प्रारम्भिक चुनावी बहसमा ह्यारिसले बाइडेनलाई जातीय विषयमा आलोचना गरेकी थिइन् । न्यायाधिवक्ताबाट सिनेटर हुँदै संरा अमेरिकी राष्ट्रिय राजनीतिको केन्द्रमा पुगेका उनी जातीय समानता र फौजदारी न्याय सुधारका पक्षपाती हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *