भर्खरै :

अमेरिकी मजदुरहरूका लागि आगामी विकल्प

यतिबेला अमेरिकी जनता उँधोगति उन्मुख छन् । स्वास्थ्य, अर्थतन्त्र, पारिवारिक जीवन र सामुदायिक सम्बन्धमा अन्तरसम्बन्धित उथलपुथलले नयाँ शैक्षिक वर्ष पनि अन्योलमा छ । कोभिड–१९ को सबभन्दा चर्को मार विभिन्न गैरश्वेत समुदाय, विभिन्न हिसाबले अक्षम मानिसहरू, आप्रवासी, महिला, कम पढेलेखेका र मजदुरहरूमाथि परेको छ । स्वास्थ्य बीमा वा लाभ नभएका अस्थायी, तल्लो स्तर र न्यून ज्यालाका काम गर्ने मजदुरहरूलाई अहिले ज्यादै फसाद परेको छ । महामारीको कारण अर्थतन्त्रमा आएको मन्दीसँगै अर्थतन्त्रले पुनःजीवन पाउँदा गति लिने अनुमान गरिएको विद्युतीकरण र स्वचालित प्रविधिले ती मजदुरहरूलाई नै चेपुवामा पार्ने देखिन्छ ।
अमेरिका यतिबेला ‘दोहोरो’ मन्दीमा फस्दै छ । यो मन्दीको प्रभाव ‘हुने’हरूलाई भन्दा ‘नहुने’हरूलाई चर्को पर्दै छ । बेरोजगारी दरले नयाँ रेकर्ड र धेरै राज्यमा न्यूनतम आय वृद्धि गर्नेे निर्णय गर्दा पनि सन् २०२० को सुरुमा प्रतिघण्टा औसत ज्यालाभन्दा न्यून ज्याला कमाउने मजदुरहरूको सङ्ख्या कुल मजदुर सङ्ख्याको ४४ प्रतिशत थियो । कुल श्रमशक्तिको औसत ज्यालाको तुलनामा महिला र गैरश्वेत मानिसले कमाउने ज्याला कम छ । संरा अमेरिकाको कुल मजदुर सङ्ख्यामा महिलाको प्रतिनिधित्व ५४ प्रतिशत र गैरश्वेत समुदायका मानिसहरू ४५ प्रतिशत छन् । तर, उनीहरूको यति धेरै प्रतिनिधित्व भए पनि आम्दानी भने निकै कम छ ।
न्यून आम्दानीका मजदुरहरू शारीरिक श्रमका काम, आतिथ्य, रेन्टल सेवा र यातायात आदि क्षेत्रमा बढी काम गर्छन् । लकडाउन र सामाजिक दुरीको प्रावधानले ती सबै काम अहिले ध्वस्तप्रायः बनेका छन् ।

लौरा टाइसन


महामारीले विद्युतीय प्राविधिक सेवाको माग बढाएको छ । जसले कलेज वा त्योभन्दा माथिल्लो तहमा पढिरहेका विद्यार्थीहरूले गर्दै आएका काम खोसिएको छ । माध्यमिक विद्यालय शिक्षा पढिरहेका विद्यार्थीहरूमा जून महिनामा बेरोजगारी दर १२.१ प्रतिशत थियो । कलेजमा पढिरहेका विद्यार्थीहरूबिच बेरोजगारी दर त्यही बेला ६.९ प्रतिशत थियो । अप्रिल महिनाको बिचतिर गरिएको एक सर्भेले रोजगारी भएका सबै अमेरिकीमध्ये झन्डै आधा मानिस अहिले घरैबाट काम गरिरहेका छन् । तर, न्यून आय भएका मजदुरको सङ्ख्या यसरी घरबाटै काम गर्ने उच्च आयका मजदुरहरूको सङ्ख्याको तुलनामा ६ गुणाले बढी छ । अहिलेसम्म कामबाट ननिकालिएका न्यून आयका मजदुरहरू आधारभूत तर उच्च जोखिमको क्षेत्रमा काम गरिरहेका छन् । उनीहरू मासु पोको पार्ने र खाद्यपदार्थ प्रशोधन गर्ने कारखानामा काम गरिरहेका छन् ।
यो महामारीले संरा अमेरिकी श्रम बजारमा थप धु्रवीकरणमा निम्त्याएको मात्र छैन बरु सबभन्दा बढी जोखिममा परेका जनसङ्ख्यामाथि असमानुपातिकरूपमा बाँच्ने खर्च पनि बढाएको छ । हालै सार्वजनिक एक प्रतिवेदनअनुसार ५६ प्रतिशत काला समुदायका मानिसले मार्चदेखि मे महिनाको बीचमा रोजगारी वा आम्दानी गुमाएको अनुभव गरे भने त्यस्तो अनुभव गर्ने गोरा समुदायका परिवार भने जम्मा ४४ प्रतिशतमात्र थियो । त्यस्तै भाइरसको कारण मर्नेको सङ्ख्या पनि काला र खैरो समुदायका मानिस बढी छन् । यसरी मृतकको सङ्ख्या पनि असमानुपातिक छ ।
अमेरिकाभरि नै अहिले धेरै मजदुरहरूसामु निकै असहज दुई विकल्पमात्र छन् ः उनीहरूले आफ्नो सीमित आम्दानी या त आफ्ना केटाकेटी हुर्काउन खर्च गर्नुपरेको छ अथवा दैनिक जीवनका अन्य आवश्यकता पूरा गर्न खर्च गर्नुपर्ने अवस्था छ । विद्यालयहरू बन्द भएपछि उनीहरूलाई स्याहार्ने सबै दायित्व महिलाकै काँधमा आइलागेको छ । जसले महिलालाई अझ दशकौँ पछाडि धकेल्ने भयो । महिलालाई प्राप्त अवसरहरू पनि गुम्ने भयो । जसले महिला र पुरुषबीचको अवसरमा असमानता बढ्नेछ ।
महामारीले निम्ट्याएको आर्थिक असमानता र त्यसले उजागर गरेको बढ्दो संरचनागत असमानतालाई उल्ट्याउन सबै मजदुरलाई राम्रो रोजगारमा आधारित दिगो र समावेशी पुनःस्थापना योजनाको खाँचो पर्नेछ । पहिलो प्राथमिकता त तत्काल कोभिड–१९ लाई नियन्त्रण गर्नुपर्छ । त्यसपछि रोजगारीको अवसर बढाउन श्रममा आधारित कामको सङ्ख्या बढाउनुपर्छ । निकै आशावादी भएर हेर्दा पनि आगामी सन् २०२२ अघि सन् २०१९ को अवस्था आउने सम्भावना देखिँदैन । अहिले गुमाएका अधिकांश रोजगारी (अधिकतम ४० प्रतिशतसम्म) फेरि कहिले पनि नब्युतिने कुरामा विश्वास गर्ने धेरै आधार छन् । छोटो वा मध्यम अवधिमा वियोगपूर्ण विडम्बना भनेको रोजगारीको अवसर निकै कम हुनेछ र ज्याला पनि निकै घट्नेछ ।
दोस्रो, संरा अमेरिकाले सामाजिक सुरक्षा कार्यक्रमलाई अझ बलियो बनाउन अपरिहार्य छ । साथै न्यून आयका मजदुरहरूको अवस्थामा सुधार गर्नुपर्छ । त्यसको निम्ति सबै राज्यहरूमा मजदुरहरूको न्यूनतम ज्याला दर बढाउनुपर्छ, आर्जित आय कर ऋणको बन्दोबस्त गर्नुपर्छ र स्वास्थ्य सेवा सहायतालाई अझ विस्तार गर्नुपर्छ ।

लेनी मेनडोनका


तेस्रो, भविष्यमा राम्रो कामको अवसरको निम्ति मजदुरहरूलाई तालिम दिनुपर्छ र सक्रिय श्रममा आधारित बजार नीति लागू गर्नुपर्छ । सामान्यतः पहिलेका न्यून आय कमाउने मजदुरहरू धेरै तलब कमाउने सिपालु काम गर्ने क्षेत्रमा प्रवेश गर्नसक्दैनन् ।
४४ प्रतिशत अमेरिकी मजदुरहरूको कार्यक्षमता रातारात बढाउन सकिन्न । तर, हामीलाई सफल तालिमहरूका विशेषता पक्कै थाहा छ । सफल तालिममा स्थानीय रोजगारदाता र मजदुरबिच बलियो सम्पर्क हुन्छ, त्यस्ता तालिम विशिष्ट क्षेत्र र पेशामा केन्द्रित हुन्छन्, लक्षित कार्यको लागि उपयुक्त मानिसको छनौट गरिन्छ र तालिम तथा रोजगारी सफलताबारे बुझ्न व्यक्तिगत तहमा सेवा प्रदान गरिन्छ । यस्ता तालिमलाई सर्वसुलभ बनाइनुपर्छ, सँगै परामर्श र शिशु स्याहारको सेवा पनि दिइनुपर्छ ।
संरा अमेरिकाका अधिकांश राज्य र सहरले सफल श्रमशक्ति तालिम कार्यक्रम विकास गरिसकेका छन् । स्कीलफुल स्टेट नेटवर्कमा अहिलेसम्म ३१ वटा राज्य समाहित भइसकेका छन् । यसले स्थानीय आर्थिक अवस्थामा आधारित रहेर सीपमूलक तालिम कार्यक्रमहरू प्रवद्र्धन गर्न मद्दत पु¥याइरहेको छ । सान एन्टोनिओमा प्रोजेक्ट क्वेस्ट नामको संस्थाले अर्ध सीपालु वयष्कहरूलाई सहयोग गरिरहेको छ । यसरी सहयोग प्राप्त गर्नेहरूमा ६८ प्रतिशत महिला र ६६ प्रतिशत ल्याटिनोहरू छन् । उनीहरूलाई माध्यमिक तहभन्दा माथिको सीप सिकाइन्छ र स्थानीय अर्थतन्त्रका विभिन्न सबल क्षेत्रमा राम्रो तलबसहित रोजगारीको अवसर दिलाइन्छ । उनीहरू समाहित हुने क्षेत्र भनेको स्वास्थ्य सेवा, उत्पादन र व्यापार, सूचना प्रविधि आदि हुन् । सन् २०१८–१९ मा त्यहाँबाट तालिम प्राप्त मजदुरहरूको वार्षिक ज्याला २०३ प्रतिशतले बढेको थियो । पछिल्लो एक अध्ययनले तालिम प्राप्त गरेर काम पाएपछि लगातार नौ वर्षसम्म उनीहरूको ज्याला वृद्धि भएको थियो ।
त्यस्तै अपस्कील हस्टनले सीपमूलक तालिम र सामुदायिक कलेज कार्यक्रमलाई मिलाएर पेट्रोकेमिकल, उद्योग–वाणिज्य निर्माण, स्वास्थ्य सेवा, बन्दरगाह, समुद्री यातायात र अन्य बन्दोबस्तीका उद्योगमा काम गर्ने मजदुरहरूलाई तालिम दिइन्छ । यस्ता रोजगारीका तालिमको लागि कुनै कलेजबाट चार वर्षको पढाइ होइन, प्राविधिक दक्षताको खाँचो पर्दछ ।
यस्ता तालिम दिन सामुदायिक कलेजको सबभन्दा खाँचो पर्दछ । संरा अमेरिकाका सत्र वटा राज्यहरूले कुनै न कुनै रूपमा निःशुल्क तालिम दिइने केही सामुदायिक कलेजहरू स्थापना गरिसकेका छन् । अरू १२ वटा राज्यमा भने यस्ता कलेजसम्बन्धि कानुन अझै पारित हुन सकेको छैन । आगामी निर्वाचनमा डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बन्न लागेका जो बाइडेनले त्यस्ता तालिम दिने निःशुल्क कलेजलाई दुई वर्षे अवधिको बनाउने आफ्नो कार्यक्रम बताएका छन् । त्यस्ता तालिमको निम्ति उनले ५० अर्ब अमेरिकी डलर बराबरको बजेट विनियोजन गर्ने घोषणा गरेका छन् ।
महामारीको कारण रोजागरीमा आइरहेको उथलपुथलले औद्योगिक अर्थतन्त्रबाट विद्युत्तीय अर्थतन्त्रमा रूपान्तरण भइरहेको छ । त्यसको अर्थ भविष्यमा अब सबभन्दा राम्रो रोजगारीको लागि प्राविधिक विद्युतीय सीपमा निपुण हुन जरुरी छ । त्यसकारण संरा अमेरिकासँग अहिले दुई वटा विकल्प छन्ः पहिलो, अहिलेकै असमान अवस्थालाई बोकेर विद्युत्तीय विकासमा अघि बढ्ने जसले ‘दोहोरो’ अर्थतन्त्रलाई कमजोर र काम गर्न असमर्थ बनाउनेछ अथवा दोस्रो बाटो भनेको मजदुरहरूको सीप विकासमा ध्यान दिने । मजदुरहरूलाई तालिमको बाटो रोजे आजको ‘खराब’ रोजगारी भोलिको लागि सुन्दर रोजगारी बन्न सक्छ ।
स्रोत ः प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवाद ः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *