भर्खरै :

खेलाडीहरू विदेश भ्रमण र आर्थिक लोभमा फस्न नहुने

भक्तपुर, २९ साउन । नेपाल बक्सिङ सङ्घका केन्द्रीय उपाध्यक्ष अर्जुनबहादुर के.सी. राष्ट्रिय खेलकुद परिषद्मा सदस्य पदमा मनोनयन हुन सफल भएकोमा भक्तपुर जिल्ला बक्सिङ सङ्घको आयोजनामा बिहीबार शुभकामना तथा बधाई कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नगर खेलकुद समितिका पूर्वसंयोजक तथा भक्तपुुर नपा वडा नं ७ का वडाध्यक्ष उकेश कवांले पदमा बस्नेले भेदभावरहित सबै खेलको संरक्षकको रूपमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले पदमा बसेर विदेश भ्रमण जाने र पैसाको लोभमा काम गर्न नहुने बताउँदै पदमा बसेपछि आइपर्ने बाधा अड्चनलाई पन्छाएर देश र जनताको सेवामा काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरूलाई खेलको प्रमाणपत्रको आधारमा शैक्षिक प्रमाणपत्रसरह मान्यता दिई रोजगारीको सृजना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व नेपाल बक्सिङ सङ्घका उपाध्यक्ष एवम् राष्ट्रिय खेलकुद परिषदका सदस्य अर्जुनबहादुर के.सी.ले अधिवेशनमार्फत विधिवत तरिकाले निर्वाचित भएको सङ्घलाई मान्यता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सबै खेलाडीहरू समेटर कार्य गरे बक्सिङ विकासमा महत्वपूर्ण योगदान हुने बताउनुभयो ।
भक्तपुर जिल्ला बक्सिङ सङ्घका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा सङ्घका केन्द्रीय कोषाध्यक्ष गौतम सुजखु, जिल्ला कोषाध्यक्ष लक्ष्मीप्रसाद दुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *