भर्खरै :

५२५ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ५०० भन्दा बढी नयाँ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा नौ हजार ८५९ जनामा गरिएको पीसीआर परीक्षणमा ५२५ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यससँगै नेपालमा कोरोना सङ्क्रमित २४ हजार ९५७ जना पुगेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससहित नेपालमा हालसम्म १६ हजार ८३७ उपचारपछि निको भएका छन् । काठमाडौँ उपत्यकामा आज १२७ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । काठमाडौँमा १११, ललितपुरमा ११ र भक्तपुरमा पाँच जना कोरोना सङ्क्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा नेपालमा थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । महोत्तरी, धनुषा, अछाम र मोरङमा एकएक जनाको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । यससँगै कोरोना सङ्क्रमित मृतक ९५ जना पुगेका छन् ।
महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ का ४५ वर्षीय एक पुरुषको उपचारका क्रममा राम जानकी अस्पतालमा यही साउन २५ गते मृत्यु भएको हो । उहाँ क्षयरोग तथा मधुमेहका रोगी हुनुहुन्थ्यो । त्यस्तै धनुषाको मिथिला नगरपालिका वडा नं ७ ढल्केबरका ८५ वर्षीया महिलाको यही साउन २८ गते मृत्यु भएको छ । उहाँ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत हुनुहुन्थ्यो ।
त्यस्तै अछामको रामारोशन गाउँपालिका वडा नं ५ का १८ वर्षीय एक पुरुषको यही साउन २८ गते उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ । उहाँ मुटुरोगी हुनुहुन्थ्यो । त्यसैगरी मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं ३ का ५७ वर्षीय एक पुरुषको यही साउन २८ गते उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको छ । उहाँ उच्च रक्तचाप तथा मधुमेहका बिरामी हुनुहुन्थ्यो ।
स्वास्थ्यकर्मी र उद्योगमा कार्यरत कर्मचारीको अनिवार्य पीसीआर
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीको अनिवार्य पीसीआर परीक्षण गराएर मात्र काममा लगाउन अस्पताललाई निर्देशन दिएको छ । सङ्क्रमणको जोखिम बढिरहेकाले मन्त्रालयले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई स्वस्थ्य राखी नियमित सेवामा कठिनाइ हुन नदिनका लागि उनीहरूको अनिवार्य पीसीआर परीक्षण गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
नेपालमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई कोभिड–१९ को सङ्क्रमण देखिएको छ । यस्तै सपिङ मल, रेष्टुराँ, होटल र उद्योगमा काम गर्ने सबै कर्मचारीका अनिवार्य पिसिआर परीक्षण गर्न मन्त्रालयले आग्रह गरेको छ । ठुला सहरमा सङ्क्रमण बढ्दै गएका अवस्थामा पछिल्लो अवस्थामा व्यवसायमा संलग्न व्यक्ति धेरैको सम्पर्कमा आउने र जोखिम बढ्ने भएकाले त्यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीको सम्बन्धित उद्योग व्यवसायले आफ्नै खर्चमा अनिवार्य पिसिआर परीक्षण गर्ने व्यवस्था गराउन निर्देशन दिइएको डा. गौतमले जानकारी दिनुभयो । उहाँले जनस्वास्थ्यका मापदण्ड पूरा गर्न र अतिआवश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि अनुरोध गर्नुभएको छ ।
शवबाट सङ्क्रमण सर्दैन
मन्त्रालयले मृत शरीरबाट कोभिड–१९ को नसर्ने बताएको छ । शवले हाछ्यूँ नगर्ने र श्वास फेर्न नभएकाले सङ्क्रमण नसर्ने उहाँले बताउनुभयो । यदि शरीरबाट निस्केको तरल पदार्थ छ भने त्यो चलाएर राम्रोसँग हात नधोए भने मात्र सङ्क्रमण सर्ने उहाँको भनाइ छ । अन्त्येष्टिमा सबैले हात धुने, पञ्जा प्रयोग गर्ने र मास्क लगाउने गर्नुपर्छ ।
परिवार र शुभेच्छुक कसैले हेर्न चाहेमा मृतकको अनुहार मात्र खोली देखाउन सकिने र मृतकलाई हातले मुसार्ने, अङ्गालो हाल्ने र चुम्बन गर्न भने नपाइने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *