भर्खरै :

अपरिहार्य अन्तरसांस्कृतिक संवाद

विश्वव्यापीकरणको कारण आज संसार एउटा विश्वग्रामजस्तै बनेको छ । प्रविधि र मानिसको बौद्धिक विकास दिनप्रतिदिन बढिरहेको छ । सूचनाको यो प्रवाहको कारण संसारले सकारात्मक र नकारात्मक सामाजिक परिवर्तनको अनुभव गरिरहेको छ ।
यद्यपि, हरेक समय प्राविधिक क्षेत्रमा भइरहेको खोज अनुसन्धानले सामाजिक परिवर्तनको नयाँ बाटो खोलेको छ । भूमण्डलीकृत विश्वमा आफ्नो पहिचान सीमान्तकृत हुने र सभ्यताको विस्तारसँगै विलाएर पो जाने हो कि भन्ने भयले धेरै अल्पविकसित देशलाई सताएको छ । यस्तो पहिचानको भयले अल्पविकसित समाजमा निराशाको भावना जगाउन सक्छ । प्रकारान्तरले यस्ता भयले भूमण्डलीकृत विश्वलाई द्वन्द्व र अस्थिरतातिर डो¥याउन सक्छ ।
समकालीन युगमा अन्तरसांस्कृतिक सम्पर्क ज्यादै महत्वपूर्ण छ । त्यसकारण, धेरै विद्वान्हरू व्यक्ति र सामाजिक समूहबीच अन्तरसांस्कृतिक संवाद हुनुपर्नेमा विश्वास गर्छन् । किनभने संसारका अरू राष्ट्रहरूबीच आफ्नो सांस्कृतिक पहिचान स्थापित गर्न अल्पविकसित देशमा आशा जगाउने यो नै एउटामात्र बाटो हो ।
अन्तरसांस्कृतिक सम्पर्क र संवादलाई मूलतः फराकिलो प्रक्रिया र विभिन्न पृष्ठभूमिका विभिन्न समूहबाट आएका व्यक्तिले बनेको सङ्गठन वा समाजभित्रबाट आउने विषयको रूपमा चर्चा हुने गरेको छ । त्यसमाथि यसले विविध पृष्ठभूमि, विविध देश र सांस्कृतिक गतिविधि र आफ्नो वरपरका मानिसहरूसँग उनीहरूले कसरी संवाद गर्छन् भन्ने कुरा बुझ्न खोज्छ । आज विभिन्न पृष्ठभूमिबाट आएका संसारभरका मानिसबीच संवाद र सम्पर्कको खाँचो छ । त्यसकारण, भाषा आज मानिसबीच संवादको एउटा माध्यम त हो नै । तर, यो विभिन्न पृष्ठभूमिका मानिसबीच संवादको अवरोध पनि बनेको छ ।
चीन संसारकै दोस्रो ठुलो अर्थतन्त्र हो । वास्तवमा चीन बलियो सांस्कृतिक मूल्य मान्यता बोकेको प्राचीन सभ्यता हो । चीनको छिमेकी देश भएको कारण पाकिस्तान चीनबाट प्रभावित रहँदै आएको छ । छिमेकी देशबाट सांस्कृतिक मूल्यको प्रवाह आएसँगै पाकिस्तानी समाजले अन्तरसांस्कृतिक संवादको खोजी गरिरहेको छ । निःसन्देह बिनासंवाद, एक आपसका संस्कृति नबुझी कुनै पनि क्षेत्रलाई विकसित क्षेत्र हुनसक्दैन ।
चीनले प्रस्ताव गरेको बेल्ट एन्ड रोड परियोजनाले चीनको सांस्कृतिक प्रवाह संसारभर पु¥याउनेछ । यो परियोजनालाई संसारभरका देशहरूबीच सांस्कृतिक संवादको माध्यम मानिएको छ । चीन–पाकिस्तान आर्थिक क्षेत्रलाई पनि दुवै देशको आर्थिक विकासको परियोजना मानिएको छ । तर, म यो परियोजनालाई सांस्कृतिक मूल्य, पहिचान र दुवै देशका विचारधारा बुझ्ने परियोजनाको रूपमा हेर्ने गर्छु ।
पाकिस्तान र चीनबीचको सांस्कृतिक विविधताबारे अध्ययन हुन आवश्यक छ किनभने पाकिस्तानी बजारमा चीनको संलग्नता दिनानुदिन बढ्दो छ । साथै, चीनको समृद्ध सांस्कृतिक मूल्यको आधारमा पनि यसबारे बुझ्न जरुरी छ । पाकिस्तानको तुलनामा चीनको संस्कृति निकै विस्तारित र समृद्ध छ । त्यसकारण, दुई देशबीचको आपसमा अध्ययन र अन्तरसांस्कृतिक संवाद आजको समयको आवश्यकता हो ।
चीनले विभिन्न पृष्ठभूमिका विद्यार्थीलाई उच्च शिक्षाको निम्ति आफ्नो दैलो खोलेको छ । चीनले लिएको यो अग्रसरता प्रशंसायोग्य छ । यो अवसरले विभिन्न देशका व्यक्तिहरूलाई चीनमा पढ्ने अवसर प्रदान गरेको छ र सो क्रममा उनीहरूले चीनको सांस्कृतिक मूल्य मान्यताबारे बुझ्ने गरेका छन् ।
पाकिस्तानबाट पनि धेरै विद्यार्थी हरेक वर्ष उच्च शिक्षाको लागि चीन जाने गरेका छन् । चिनियाँ भाषा, मूल्य मान्यता र संस्कृतिबारे अध्ययन गर्न यो विद्यार्थीको निम्ति सबभन्दा उत्तम उपाय बनेको छ । यस्ता गतिविधिले समाजमा आशाको सञ्चार गर्छ, एक अर्काे देशप्रति सकारात्मक सोचाइको विकास गर्छ र आफ्नै सांस्कृतिक मूल्यमान्यताप्रति पनि सकारात्मक सोचको विकास गर्न मद्दत गर्छ ।
पाकिस्तानका विभिन्न परियोजनामा चीनको संलग्नताले दुई देशको सांस्कृतिक मूल्य मान्यताको विविधता बुझ्न मद्दत गरेको छ । त्यसकारण पाकिस्तानमा रहेका चिनियाँहरूले पनि अलग अलग समूह बनाएर पाकिस्तानी समाजको अवस्था र सांस्कृतिक विविधता बुझ्ने कार्यक्रम बनाउनुपर्छ ।
चीन र पाकिस्तान दुवैको लागि संस्कृति प्राणवायुजस्तै हो । पाकिस्तान ऐतिहासिक पृष्ठभूमिसहित सांस्कृतिकरूपमा निकै धनी देश हो । पाकिस्तानमा विभिन्न सस्कृतिको प्रभावमा आफ्नो संस्कृति हराउँदै अवस्थाप्रति सजग हुन जरुरी छ ।
आजको भूमण्डलीकरणको युगमा सबभन्दा शक्तिशाली संस्कृतिले अन्य स्थानीय सानो आकारमा सीमित सांस्कृतिक मूल्य मान्यतालाई चुनौती दिनसक्छ । संस्कृति जगेर्ना गर्न पाकिस्तान आफ्नो संस्कृतिको प्रचारप्रसार संसारभर गर्न आवश्यक छ । चीन–पाकिस्तान आर्थिक क्षेत्र समग्र पाकिस्तानलाई अन्य देशसँग जोड्ने पूर्वाधार र सडक सम्पर्क हो ।
अरू देशले जस्तै पाकिस्तानका जनताले पनि बजार, होटल, विभिन्न उत्पादन, पसल र बाटो बनाउन सक्छन् । अझ राम्रो शिक्षा, उत्तम सांस्कृतिक सहकार्य र प्रगतिको आशासहित यस्ता काम हुन जरुरी छ । सांस्कृतिक गतिविधिको कारण चीन र पाकिस्तान दुवै आज नजिक बनिरहेका छन् । दुई ठुला देशहरूबीचको एकताले विविधतायुक्त समाजलाई एक ठाउँमा एकाकार गर्नेछ ।
आज यो क्षेत्रमा एउटा नयाँ संस्कृतिको रचना भइरहेको छ । यो क्षेत्रमा एउटा नयाँ युग नयाँ रङसहित उदाउनेछ । चीन पाकिस्तान आर्थिक क्षेत्रले व्यापार र आर्थिक उत्पादनको लागि माध्यम मात्र बन्नेछैन । बरु नयाँ सामाजिक चालचलन, मूल्यमान्यता, भाषा र विभिन्न पृष्ठभूमिका विश्वासको आदानप्रदान र सुरुवात हुनेछ । यो सम्पर्कले जनस्तरमा सम्पर्क र सम्बन्ध विकास गर्नेछ ।
चीन–पाकिस्तान आर्थिक क्षेत्र सो क्षेत्रको आर्थिक तथा सांस्कृतिक मूल्यको दोभान हो । यसले पाकिस्तानलाई आफ्नो संस्कृति र मूल्यमान्यतालाई संसारभर फैलाउन मद्दत गर्नेछ । पाकिस्तानको संस्कृतिलाई क्षेत्रीय र विश्वव्यापीरूपमा विस्तार गर्न यसले ठुलो योगदान गर्नेछ ।
चीन–पाकिस्तान आर्थिक क्षेत्रले यस्ता धेरै आयामिक प्रभाव पार्नुका साथै दुई देशबीचको सांस्कृतिक अन्तरलाई पनि साँघुरो बनाउनेछ । यसले क्षेत्रीय सम्पर्क (कनेक्टिभिटी) लाई विस्तार गर्नेछ । जसले विश्वव्यापी सम्पर्क (कनेक्टिभिटी) विस्तारमा योगदान गर्नेछ । यी साझा कार्यक्रमको सबभन्दा रचनात्मक पक्ष भनेको सूचना, अनुसन्धान, विकास र प्राविधिक प्रगतिको विस्तार हो । यो प्रगति र विकासको प्रमुख चिह्न हो । अन्तरसांस्कृतिक संवादले व्यापार सम्बन्ध, प्राविधिक क्षेत्रमा नयाँ अनुसन्धान, विस्तार र सहायतालाई बढाउनेछ ।
स्रोत ः चाइना डेली
नेपाली अनुवाद ः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *