भर्खरै :

कोरोना लागेकालाई हेला नगरौँ

यतिबेला कोरोना भाइरस काठमाडौँ उपत्यकामा पनि भयावह बन्दै छ । दैनिक सयदेखि एक सय पचाससम्म सङ्क्रमित भएको देखिन्छ । नेपालभर दिनमा तीनचार जनाको मृत्यु भइरहेको छ भने काठमाडौँमा पनि फाटफुट देखिँदै छ । सङ्क्रमित बढेसँगै काठमाडौँका सरकारी अस्पतालमा सङ्क्रमितहरूले भरिन थालेका छन् । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू पनि सङ्क्रमित हुन थालेपछि कतिपय स्वास्थ्य संस्थाहरूका इमरजेन्सी वार्ड र ओपीडी सेवा नै बन्द गरिसकेका छन् । सरकारको कमजोरी र तपार्इँ हाम्रो हेलचक्र्याइँको कारणले यस्तो अवस्था आइपुगेको बुझ्न सकिन्छ ।
कोरोना भाइरसको औषधि हालसम्म पत्ता लागको छैन । सबै परीक्षणमै छन् । हालको प्राथमिक उपचार भनेको आइसोलेसनमा बसी जनसम्पर्कबाट टाढा रहनु हो । लक्षणसहित सङ्क्रमित भएको खण्डमा स्वास्थ्यकर्मीसँग सम्पर्क गरी स्वास्थ्य संस्था या अस्पतालमा उपचार गर्नु हो । हिजोआज अस्पतालमा पनि सङ्क्रमितहरू खचाखच भरिएका छन् र वेडकै अभाव छ । भेन्टिलेटर, आईसीयू र सघन उपचारकर्मीको पनि अभाव रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता बताउँछन् । यस्तो बेलामा रोग लाग्न दिनुभन्दा रोग लाग्नबाट बच्नु नै बुद्धिमानी हो ।
कोरोनाले कसैलाई आफन्त भन्दैन । फाटफुटरूपमा तपार्इँ हाम्रै घर अाँगनमै देखा पर्दै छन् यो रोग । यस्तो बेला तपाईँ हामीलाई यो रोग नलाग्ला भन्न सकिन्न । तपार्इँ हाम्रै सानो हेलचक्र्याइँले लाग्ने यो रोगलाई तिमीलाई लाग्यो मलाई लागेका छैन भनी लागेको मान्छेलाई अनि परिवारलाई हेयको दृष्टिले हेर्नु र अपमान गर्नु ठीक होइन । हिजोआज रोग लागेको मान्छेलाई समाजमा बहिष्कारजस्तो गर्ने गरेको सुन्न पाइन्छ । कतिपय कमजोर मान्छेहरू समाजबाट भएका यस्ता हेला र अपमानले आत्महत्या गरेका घटनाहरू पनि सुन्नमा आएका छन् । रोग लागेर मानसिकरूपमै कमजोर भएकालाई यसरी पीडा दिनु समाजको जघन्य अपराध हो । यसले सभ्य समाजको परिचय दिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *