भर्खरै :

लिदी घटनाको लागि को–को जिम्मेवार ?

  • भाद्र १, २०७७
  • – वीरमान तामाङ
  • समाचार

पाँच वर्षअघिको भूकम्पले क्षतविक्षत भएको सिन्धुपाल्चोकको लिदी गाउँमा शुक्रबार बिहान पहिरो गयो र ३८ जनाले ज्यान गुमाए । नेपाल प्रहरी, नेपाली सेना र उद्धारमा खटेकाहरूले मृतकको शव निकाल्ने कार्य जारी राखेका छन् । सिन्धुपाल्चोकको लिदी गाउँलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा बस्न अयोग्य घोषित गरेको थियो । भूकम्पले धाँजा फाटेका लिदीलगायत १६ जिल्लाका विभिन्न बस्तीलाई पुनस्र्थापना गर्न तथा ‘बायोइन्जिनियरिङ’ बाट सुरक्षित बनाउन सरकारले ४० करोड बजेट विनियोजन गरेको छ तर बजेट गाउँ आएन, शुक्रबार बिहान भीषण पहिरो आयो र धनजनको ठूलो क्षति भयो । एक वर्षअघि पनि निवेदन दिएका स्थानीयले एक साताअघि प्रशासनलाई स्मरण गराएका थिए, तर प्रशासनबाट सुनुवाइ भएन ।
अब प्रश्न उठ्छ लिदी गाउँमा भएको उक्त जनधनको क्षतिका लागि जिम्मेवार को ? दोष स्थानीय पीडित जनतालाई दिनेहरू पनि नभएका होइनन् । तर आफ्नो पुख्र्यौली थलोको मोह र अन्यत्र बसाइ जाने आर्थिक हैसियत नभएका जनताले चाहेरमात्र के गरून् ? राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा बस्न अयोग्य घोषित गरेको गाउँ खाली गराउनु र अन्यत्र बसोबास गराउनु के शक्तिशाली सङ्घ सरकारको जिम्मेवारी होइन र ? स्वयम् राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पनि तात्नुपर्थेन र ? प्रदेश सरकार र स्थानीय तहका सरकारहरू पनि निदाएर बसेको देखिए । प्रदेश सरकार भनेका त भागबन्डा र लाचारीको नमुनामात्र हो । स्थानीय जनतासित प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहले मात्र पनि समयमै ध्यान दिएको र समस्या समाधानार्थ पहल गरेको भए पक्कै धनजनको क्षति नहुने थियो । अरु कुन–कुन जिल्लाका कतिवटा गाउँ पहिरो र क्षतिको प्रतिक्षामा छन् सरकार ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *