भर्खरै :

राष्ट्रिय झन्डाको गरिमा

नेपालको राष्ट्रिय झन्डा जलाएर गीतको सुटिङ गरेको आधारमा प्रहरीले एउटा साङ्गीतिक समूहका सदस्यहरूलाई पक्राउ गरेको खबर बाहिरिएको छ । कुनै पनि देशमा राष्ट्रिय झन्डालाई राज्यको उपस्थितिको प्रतीक मानिन्छ । के–कस्ता क्रियाकलापलाई झन्डाको अपमान मान्ने वा नमान्ने भन्ने कुरा देशअनुसार फरक छन् तर झन्डा जलाउनुलाई सबैतिर सम्बन्धित देशकै विरोधको रूपमा लिइन्छ र त्यसका लागि कानुनी कारबाहीको बन्दोबस्त गरिएको हुन्छ । त्यसैले नेपालको मुलुकी अपराध संहिता –२०७४ मा को दफा १५१ मा ‘राष्ट्रिय गान, झन्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुने’ शीर्षकमा र सोही दफाका उपदफाहरूमा त्यससम्बन्धी कानुनी सजायको प्रावधान उल्लेख छ ।
जानेर वा नजानेर देशको झन्डाको अपमान गर्नेहरूलाई कानुनी कारबाही त हुनैपर्छ । कानुनको अज्ञानता क्षम्य हुँदैन भन्ने कानुनी मान्यता पनि छ । राष्ट्रिय झन्डाले देशकै इज्जतको प्रतिनिधित्व गर्छ भन्ने मान्यता छ । तर, नेपालको झन्डाबारे कुरा गर्नुपर्दा नेपाल सरकार मातहतका सरकारी कार्यालयहरू स्वयम्ले त्यस मान्यतालाई हेक्का राखेको पाउँदैनौँ । ती कार्यालयका छतमा वा अगाडि फहराइएका झन्डा रङ्ग खुइलिएका र कतै कतै त च्याटिसकिएका पनि हुन्छन् तर तिनलाई फेर्ने कार्यमा ध्यान गएको पाउँदैनौँ ।
केही समय अगाडिसम्म सिंहदरबारबाट सय पाइला अगाडि रहेको माइतीघरमा रहेको र काठमाडौँको तीनकुनेमा रहेको नेपालको राष्ट्रिय झन्डाको दुर्दशाबारे तस्बिर र समाचार नै प्रकाशित भएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिकै रहेको तथा राष्ट्रप्रमुख एवम् सरकार प्रमुखको औपचारिक सवारी हुने सडकमा रहेको राष्ट्रिय झन्डा त्यस अवस्थासम्म पुग्दा के देशको अपमान भएन र ? त्यसैले सार्वजनिक स्थान र सरकारी कार्यालयहरूमा फहराइएका राष्ट्रिय झन्डाको अवस्था देखभाल गर्ने जिम्मा पाएका निकाय र सम्बन्धित अधिकारीहरूमाथि पनि कानुनी कारबाहीको बन्दोबस्त गरिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *