भर्खरै :

भक्तपुर अस्पताल पूर्णतः नोबेल कोरोना उपचारमा केन्द्रित

भक्तपुर, ४ भदौ । काठमाडौँ उपत्यकामा कोभिड–१९ का बिरामीको सङ्ख्या बढेसँगै भक्तपुर अस्पताललाई पूर्णतः कोरोनाका बिरामीको उपचार गर्ने अस्पताल बनाइने भएको छ । बिहीबारबाट नै अस्पतालमा भएका सबै पूर्वाधार कोरोनाका बिरामीको उपचारमा लगाउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिनुभयो ।
“अत्यावश्यक आपत्कालीन शल्यक्रिया गर्नु परे सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण अस्पतालमा गर्नेछौँ । भक्तपुर अस्पताललाई अब पूर्णतः कोरोनाको उपचार गर्ने अस्पताल बनाएका छौँ”, डा.गौतमले बताउनुभयो । हाल अस्पतालमा रोगका लक्षण नदेखिएका सङ्क्रमितलाई राख्न दस शय्या र रोगको लक्षण देखिएका बिरामीलाई राख्न पन्ध्र शय्याको बन्दोबस्त छ । त्यसबाहेक अब अस्पतालका अन्य ठाउँमा क्रमशः कोरोनाका सङ्क्रमितको उपचारको निम्ति बन्दोबस्त गर्न लागिएको हो ।
देशकै पुरानो अस्पतालमध्ये पर्ने भक्तपुर अस्पतालमा अब सघन उपचार कक्ष (आईसीयू) सेवा पनि विस्तार गर्ने भएको छ । तत्काललाई पाँच वटा आईसीयू शय्या तयारी अवस्थामा रहेको मे.सु. गौतमले बताउनुभयो ।
“विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारका पाँच वटा आईसीयू तयार छन् । जनशक्तिको कमी छ । आईसीयू चलाउने टोली बनाउन लागिरहेका छौँं”, उहाँले भन्नुभयो । अस्पतालले नजिक रहेका सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण अस्पताल र भक्तपुर क्यान्सर अस्पतालसँग मिलेर आईसीयू सञ्चालन गर्ने टोलीको तयारी गरिरहेको छ ।
खरिपाटीमा दुई सय शय्याको आइसोलेसन
नोबेल कोरोना भाइरसका सङ्क्रमितहरू राख्न चाँगुनारायण नपा खरिपाटीको विद्युत् प्राधिकरणको तालिम केन्द्रमा दुई सय शय्याको आइसोलेसन केन्द्र बनाएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट एक सय र बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको तर्फबाट एक–एक सय शय्याको त्यहाँ आइसोलेसन केन्द्र बनाएको हो । खरिपाटीको सो केन्द्रको व्यवस्थापन भक्तपुर अस्पताललाई दिइएको छ ।
“तत्काललाई एक सय शय्या तयारी छ । बिहीबार नै केही नयाँ देखिएका बिरामी त्यहाँ पठाइएको छ”, भक्तपुर अस्पतालका मे.सु. गौतमले बताउनुभयो ।
खरिपाटीमा विशेषतः रोगका लक्षण नदेखिएका सङ्क्रमितलाई राखिने बताइएको छ । सो ठाउँमा चीनका उहानबाट फर्केका विद्यार्थी र सर्वसाधारणलाई चौध दिन क्वारेन्टिनमा राखिएको थियो ।
डा.गौतमले कोरोना महामारीको प्रतिरोधको लागि आफूले भक्तपुरका चारै नगरपालिकाका जनप्रतिनिधिहरूसँग सहकार्य गरिरहेको बताउनुभयो । “चारवटै नपासँग सहयोग मागेकी छु । सबैबाट सकारात्मक सहयोग भइरहेको छ । सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालका साथै भक्तपुरका अन्य निजी अस्पतालहरूसँग सहकार्य र सहयोग भइरहेको छ”, उहाँले भन्नुभयो ।
भक्तपुर अस्पतालका काममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायबाट पनि सहयोग भइरहेको र आरएनए १६ स्वयम्सेवक समूहले पनि लगातार सहयोग भइरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *