भर्खरै :

पूर्व छापामार गाउँपालिका प्रमुख

बागलुङ, ९ जेठ । बलले होइन, सत्ता प्राप्ति जनताको अभिमतबाट हुन्छ भन्ने कुरा पूर्व छापामार प्रकाश घर्तीमगरले अहिले आएर प्रमाणित गर्नुपरेको छ ।
सशत्र युद्धबाट निस्केको १० वर्षपछि ताराखोला गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएका उहाँलाई जनताको अभिमत स्विकार गरेर अघि बढनुपर्ने चुनौति सिर्जना भएको हो ।
घर्तीमगरले भन्नुभयो, “ विसं २०५२ मा अखिल क्रान्तिकारीको एकाइ समिति हुँदै राजनीतिमा प्रवेश गरेको हुँ, पछि विद्यार्थी सङ्गठनकोे जिल्ला कोषाध्यक्ष र उपाध्यक्षसमेत भएँ ।” तत्कालीन नेकपा माओवादीले चलाएको सशस्त्र युद्ध चर्कंदै जाँदा उहाँ २०५८ सालमा सैन्य सङ्गठनमा प्रवेश गर्नुभएको थियो । सशस्त्र सङ्घर्षका बेला प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डरसमेत भएर काम गरेको अनुभव घर्तीमगरसँग छ ।
पार्टी शान्ति प्रक्रियामा आएपछि उहाँको राजनीतिक जीवनमा पनि फेरबदल आयो । “सेनाबाट निस्केपछि म माओवादीको युवा सङ्गठन वाइसिएलको जिल्ला अध्यक्ष भएर काम गरेँ’ अहिले नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य छु । ” उहाँले भन्नुभयो । सशस्त्र युद्धबाटै समाज परिवर्तन गर्न सकिन्छ भन्ने घर्तीमगरको पुरानो मान्यता अहिले भने फेरिएको छ ।
शान्तिपूर्ण राजनीतिक अभ्यास र जनताको सेवाले घर्तीमगरलाई अहिलेको सफलता हात लागेको हो । विकासका योजना ल्याउने, जनताको पिरमर्कामा साथ दिने र असल राजनीतिक चरित्र भएकै कारण घर्तीमगरलाई जनताले विश्वास गरेका हुन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दण्डपाणि कँडेललाई दुई हजार ३९४ मतले पछि पार्दै उहाँ गाउँपालिका प्रमुखमा विजयी बन्नुभएको थियो । कुल खसेको मतमध्ये घर्तीमगरले तीन हजार ३५० र कँडेलले ९५६ मत प्राप्त गर्नुभएको थियो ।
सशस्त्र युद्धबाट समेत बढी प्रभावित उक्त गाउँपालिकाका पाँचवटै वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । “सशस्त्र युद्धमा पनि ताराखोलाको ठूलो योगदान छ, आज निर्वाचनमा पनि हामीले विश्वास आर्जेका छौँ” – घर्तीमगरले भन्नुभयो । जनताको विश्वासलाई डगमगाउन नदिने र समृद्ध ताराखोला निर्माणमा जुट्ने र सबै राजनीतिक दल तथा पक्षहरुसँग सहकार्य गर्दै अघि बढ्ने उहाँको प्रतिबद्धता छ ।
सडक सञ्जालको स्तरोन्नति, कृषिको आधुनिकीकरण, सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, स्वास्थ्य, पर्यटन, सूचना, प्रविधिलगायतका क्षेत्रको विकास गर्ने योजना घर्तीमगरले अघि बढाउनुभएको छ ।
चुनाव प्रचारकै बेला ७३ वर्षीया बुबा प्रेमबहादुरलाई गुमाउनुभएका घर्तीमगरकी आमा, श्रीमती र एक छोरी हुनुहुन्छ । उहाँकी श्रीमती केशरी घर्तीमगर व्यवस्थापिका– संसद् सदस्यसमेत हुनुहुन्छ । प्राकृतिक स्रोत, साधनले धनी मानिने ताराखोला गाउँपालिकालाई आन्तनिर्भर बनाउने दायित्व पनि उहाँसंग छ । गाउँपालिका उपप्रमुखमा पनि नेकपा माओवादीकै दिलकुमारी रोका विजयी बन्नुभएको छ । प्रमुख, उपप्रमुखलगायत सबै पदाधिकारी, सदस्यले पदभार ग्रहण गरेर कामसमेत थालिसकेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *