भर्खरै :

मौन क्रन्दन – ४, पराजयको चोट

(१८१६ देखि १८३९ सम्मको नेपाल र नेपालीबारे लुडविग एफ. स्टिलरको पुस्तक ‘मौन क्रन्दन’ (त्जभ क्ष्भिलत ऋचथ) को सङ्क्षिप्त अध्ययन)
समर नेपाल हातहतियार उद्योगले पनि नेपालीहरूलाई स्थानीय चौघेराभन्दा बाहिर ल्यायो । १९ औँ शताब्दीअघि नेपालको हातहतियार उद्योग देशभरि छरिएको अवस्थामा थियो । प्युठान, चैनपुर, मोरङ, डोटी, माझकिरात र कुमाउँमा गठ्ठाघरहरू थिए । तैपनि स्थानीय माग पूरा गर्न यी उद्योग पर्याप्त थिए । गोलाबारुद र हातहतियारको निर्माण र यसको पैठारीका लागि चाहिने श्रम पनि यस उद्योगसँग जोडिएका थिए । यी सबै काममा स्थानीय गाउँलेहरू झारा जानुपथ्र्यो । प्राविधिकहरूले मात्र यी सबै काम ठूलो मात्रामा गर्नसक्दैनथे । खानी खन्ने खन्दक, दाउरे र भरियाहरू चाहिन्थे । यी सबै काम गर्नेहरू किसान नै थिए । त्यसैले हतियार उद्योगका सबै काम खेतीपातीको समयलाई ध्यानमा राखेर तय गर्नुपथ्र्यो ।
त्यसबेला नेपालमा धेरै निजी कारखानाहरू थिए । कपास उद्योगमा किसान, भरिया, जुलाहा र पसलेहरू क्रियाशील थिए । काँस र तामा उद्योगमा पनि विभिन्न पेशाका मानिसहरू संलग्न थिए । हतियार उद्योग ती सबै उद्योगहरूभन्दा विशाल थियो । कपास उद्योग विशाल त थियो तर यसका हाँगाबिँगा ससाना थिए । साथै खेतीपातीबाट फुर्सद निकालेर यसमा काम हुन्थ्यो र पातलो मागअनुसार यसको कारोबार हुन्थ्यो । लुगाको धेरै खपत त बनेको गाउँमै हुन्थ्यो । तर, हतियार उद्योगको माग एकनासको थियो र पूर्ति निरन्तर हुनुपथ्र्यो ।
हतियार उद्योगमा काम गर्ने नारी पुरुषहरू देशभरि छरिएका थिए । उनीहरूलाई आफ्नो योगदानबारे थाहा नभए पनि यत्ति थाहा थियो, उनीहरू सरकारका लागि काम गरिरहेका छन् र यो काम गाउँभन्दा बाहिरको लागि भइरहेको छ । ध्यान दिनुपर्ने कुरा के पनि छ भने हतियार उद्योगमा खटिने कामदारहरू एकै ठाउँमा बस्न आवश्यक थियो । साथै उनीहरूले खेतीपातीको काम पनि गरिरहनुपथ्र्यो । खेतीपातीबाटै गाउँ र राज्यकोष चल्थ्यो । त्यसबेला स्थानीय उद्देश्यहरूलाई दाउमा राखेर राष्ट्रिय योजनाहरूमा स्थानीय श्रम प्रयोग भइरहेको थियो । ती गाउँलेहरू मेसिन थिएनन् । बरु जिउँदाजाग्दा मानिस थिए । कामको चापले उनीहरू गाउँ नै फेर्न पनि सक्थे । आफूसँग खेत नभए पनि नेपाली गाउँले भूदास थिएन । तैपनि केही सरकारी आदेशले कताकति यस्तो सङ्केत पनि गरेको पाइन्छ । सारमा हतियार उद्योग नेपाली राष्ट्रिय एकताको सेतु (पुल) थियो । पैसामुखी नभइसकेको समाजको दायराभित्रै रहेर यसले उच्च राष्ट्रिय स्वार्थमा स्थानीय स्वार्थको बलि चढाएको थियो ।
सेना ः नेपाललाई जोड्ने अर्को शक्ति सेना पनि थियो । एकै ठाउँमा बसेर गरिने कृषिकर्मबाट गाउँलेहरूलाई आफ्नो भूमिकाबाट बाहिर ल्याउन सेनाले भूमिका खेलेको थियो । यसैले उनीहरूलाई समाजको ठूलो दायरासँग परिचित गराएको थियो । एकजना सिपाही आदेशबमोजिम खटिनुपथ्र्यो । नत्र उसलाई सेनाबाट निकाला गरिन्थ्यो । सेनाले साधारण सिपाहीलाई समेत देशको अर्थतन्त्रबारे आभाष दिलाउँथ्यो । बिस्तारै हरेक सैनिकलाई जागिर दिन असम्भव हुँदै गयो । सेनाका कम्पनीलाई जमिन दिइन्थ्यो र त्यसबाट आउने अन्न पदअनुसार हरेक सैनिकबीच बाँडिन्थ्यो । (गढवाल र अरू पश्चिमी भूभागको विजयपछि यस्तो परिवर्तन भएको देखिन्छ ।) पछि त यसमा पनि हेरफेर आयो । कारणवस पर्याप्त उब्जनी नहुँदा सिपाहीले उत्पादन प्रक्रियाको जटिलताबारे बुझ्थ्यो । तालिम पाइरहेका सिपाही रिकुटेले समेत आफ्नो जीवन जमिनसँग जोडिएको गाउँले जीवनभन्दा फरक भएको बुझ्न सक्थ्यो ।
सैनिक आपूर्तिमा समस्या आइरहन्थ्यो । साधारण सिपाहीले पनि अनुभवबाटै सैनिक आपूर्तिका लागि समाजको बनोटबारे थाहा पाएको थियो । उसले हुलाक सेवाबारे बुझेको थियो । हातहतियारको पैठारी गर्दा हुलाक सेवामा सेनाको टुकडीले सुरक्षा दिनुपथ्र्यो । साथै उसले आदेश र कामकारबाही पनि देखिरहेको थियो । यसबाट सिपाहीमा फेरिएको गाउँले राष्ट्रिय स्वार्थहरूबारे शिक्षित भयो । यसबारे उसको धारणा जान्न सकिन्न । तर, ऊ यही सोचमा बाँचिरहेको थियो । यसबाट उसका क्षत्रीय सोच र कल्पनाका दायराहरू च्यातिएको हुनुपर्छ । एकचोटि स्थापित भएपछि एक कान दुई कान मैदान हुँदै यस्तो भावना फैलिनु स्वाभाविक हो । यसले राष्ट्रियताको भावनालाई मलजल ग¥यो ।
कृषिको विकास ः कृषिमा आधारित नेपाली अर्थतन्त्रमा उपजको वृद्धि नै विकास थियो । तर, त्यसका धेरै बाधाअड्चन थिए । उपलब्ध उपकरणले गर्न सकिने खेती पहाडी किसानहरूले गरेकै थिए । भीरपाखामा खेती गर्न धेरै कामदार चाहिन्थ्यो । तर, त्यहाँ उब्जनी कम हुने भएकोले त्यसले राज्यको ढुकुटी बढाउन सक्दैनथ्यो । साथै त्यो फसल कामदारलाई नै अपुग हुन्थ्यो । तर, तराईको विशाल भूमि बाँझै थियो । एकीकरणअगाडि तराईलाई फाँड्ने र खेती गर्ने सम्भावना कम थियो । पाल्पा, मकवानपुर, विजयपुर र चौदण्डीलाई तराईमा खेती गर्न आवश्यक थिएन । उनीहरूसँग त्यसो गर्न चाहिने जायजेथा पनि थिएन । नेपालको आकार बढ्दै जाँदा तराईको खनजोत आवश्यक र आकर्षक बन्न पुग्यो । एकीकरणकै कारण तराईमा खेतीपाती बढाउनसक्ने आम्दानी भएको वर्ग पनि जन्मिएको थियो । बाँकी जनशक्तिको समस्या थियो । यो पनि इस्ट इन्डिया कम्पनीका भूभागमा भइरहेका घटनाहरूले समाधान गरिदियो ।

सन् १७६९–७० मा ६ महिनासम्म परेको खडेरीले बङ्गाल र बिहारमा भोकमरी छायो । किसानहरू ठूलो सङ्ख्यामा असल खेत र पानीको खोजीमा यताउता लागे । धेरै किसानहरू नेपाली भूभागमा पनि पसे । नेपाल सरकारले तराईलाई आवाद गर्न आकर्षक नीति ल्याइरहेको थियो । सुरुका ३ वर्ष कर मिनाहा गर्ने, पछि बसोबास गर्न, पहिलो बाली नभित्राउँदासम्म अन्न र बीउबिजन दिनेसम्मका नीति लागू गरिएको थियो । त्यसकारण ती भारतीय किसानहरू नेपालको तराईमै बसे । बङ्गालको भोकमरीपछि भारतीय जमिनदारहरूले किसानलाई आकर्षित गर्न अनेक सुविधा दिएका थिए । तर, कम्पनी सरकारले सन् १७७२ मा ल्याएको कर नीतिले धेरै किसानहरू झन् कष्टमा परे । यी सबै गतिविधिले नेपाली तराईमा आउने किसानहरूको सङ्ख्या बढिरह्यो । यसका साथै तराईमा लगानी गर्नेहरूलाई पनि सरकारले सहुलियत दिइरहेको थियो । लगानीकर्तालाई निश्चित सर्तमा तराईमा धेरै गाउँहरू विकास गर्ने अधिकार दिइएको थियो । उसले भारत वा नेपालकै बिर्ताहरूबाट किसानहरूलाई आकर्षित गरेर घरखेत बनाउन र जङ्गल फँडानी गरी खेतीपाती गर्न लगाउनुपथ्र्यो । उसलाई कर उठाउने अधिकार दिइएको थियो र सरकारलाई तिर्नुपर्ने कर पनि नाममात्रको थियो । तर, उब्जनी बढेसँगै सरकारलाई दिइने कर बढाउँदै जानुपथ्र्यो । ७ देखि १० वर्षपछि खेतीयोग्य जमिन सरकारी रैकर जमिनमा फेरिने सर्त थियो । तर, लगानीकर्ताले आफ्नो बिर्ता राख्न पाउँथ्यो । यसरी सरकारले राष्ट्रिय स्वार्थपूर्तिका लागि धनी वर्गसँग सहकार्य गरेको थियो । अन्तमा किसानले फाँडेको जमिन सरकारी हुने भएकोले यसले सरकारी ढुकुटी पनि बढायो ।
लक्ष्य र दृष्टिकोण
राष्ट्रिय एकताका लागि हुलाक सेवा, हतियार उद्योग, सेना र तराईको फँडानी महत्वपूर्ण रहे । यिनैले कुमाउँ, गढवाललगायतका पश्चिमी भूभाग गुमाउन काठमाडौँ राजी हुनुका कारण पनि बताउँछन् । त्यसबेला देशभक्तिको भावना भर्खर सुरु भएकोले धेरै भावुक हुन आवश्यक थिएन । अरू देशमा हुँदो हो त यिनै सेतुले बलियो एकता कायम गर्ने थिए । तर, सञ्चार प्रणाली र बसाइसराइको लागि अप्ठ्यारो भूगोल भएको नेपालमा यिनले हलुका छापमात्र छोड्न सक्यो । देशभरि छरिएका राजाका भारदारहरूले नै देशलाई बाँधिरहेका थिए । हुलाक सेवा आउनुभन्दा पहिले विभिन्न क्षेत्रका भारदारले आफ्नो अगुवाइ र अनुभवका आधारमै शासन गर्थे । पछि हुलाक सेवा नै सबै भारदारलाई एउटै स्वार्थमा ल्याउन केन्द्रले आदेश दिने माध्यम बन्यो । यसरी केन्द्र सरकार स्थानीय स्तरमा महसुस हुन गयो ।
माथिका सबै सेवा र योजना नेपालको सैनिक अभियानका लागि बुनिएको थियो । सेना र हतियार उद्योग यस अभियानसँगै सीधै जोडिएका थिए । सैनिक अभियान हुँदैनथ्यो भने पनि हुलाक सेवा स्थापित त हुने थियो । तर, सैनिक अभियानसँग नजोडिएको भए हुलाक सेवा प्रभावकारी भने हुनसक्दैनथ्यो । त्यस्तै ढिलोचाँडो तराईको जङ्गल पनि फँडानी हुने थियो । तर, सैनिक अभियानको आर्थिक दबाबबिना राज्य निजी क्षेत्रसँग रचनात्मक सहकार्यमा जान सक्दैनथ्यो ।
सुगौलीको चुनौती
सुगौली सन्धिले नेपालको सैनिक विस्तारलाई रोक्यो । अक्टरलोनीको हातमा हस्ताक्षर गरिएको सन्धि परेको क्षणपछि नेपाली सेना उद्देश्यविहीन बन्यो । समयक्रममा एकीकरण अभियानबाट पाएको भाइचारा, गौरव र शक्ति सेलाउँदै गयो । तीतो पराजयले निराशा फैलियो । हुलाक सेवाका भरियाहरू व्यस्त त थिए । तर, उनीहरूलाई सैन्य आपूर्ति गर्ने हतारो थिएन । उनीहरूमा विशाल अभियानमा सहभागी भइरहेको अनुभूति थिएन । त्यस्तै देशभरिका हतियार कारखानाले गोलाबारुद र हतियार बनाइरहेका त थिए । तर, तिनको कुनै उद्देश्य थिएन । केही गुमाएको अनुभूति स्वतन्त्रताप्रेमी र स्वाभिमानी नेपालीहरू बस्ने समग्र पहाडभरि फैलियो । यस भावनाले पनि नेपालीहरूलाई जोड्यो । तर, क्षतिपूर्तिको लागि गाउँहरूमा सेनाले दिने दबाब यस भावनाले फेरिने थिएन ।
सुगौली सन्धिको सबैभन्दा ठूलो क्षति तराई थियो । यसबाट नेपालले १३.७ प्रतिशत खेतीयोग्य भूमि गुमायो । त्यसबाट देशमा कुल ३५ प्रतिशत उपज आउँथ्यो । उब्जनीभन्दा पनि राष्ट्रिय एकताको सवालमा यसले गर्ने क्षति महत्वपूर्ण थियो । तराईले गुरु, चौतरिया, काजी, सरदार, सुब्बा, सुबेदार, जमिनदारजस्ता भारदारहरूलाई जागिर वा मौजा दिलाएको थियो । उनीहरूको धन, इज्जत र सरकारप्रतिको बफादारी यही जागिरमा टिकेको थियो । तराई गुम्दा यी सबै पनि गुम्ने खतरा थियो । अङ्ग्रेज गभर्नरले ती भारदारका लागि बर्सेनि २ लाख दिने कबुल त गरेका थिए । तर, जमिनले दिने प्रतिष्ठा पैसाले दिनेभन्दा उच्च थियो । साथै भविष्यमा ती जागिरदारहरू अङ्ग्रेजहरूप्रति बफादार बन्ने सम्भावना थियो । यसबाट नेपाल सरकारले निर्णय लिँदा अङ्ग्रेजहरूको मानो खानेहरूको प्रभाव बढ्न सक्थ्यो ।
अर्को समस्या पनि थियो । अङ्ग्रेजहरूले नेपाल सरकारले तोकेका भारदारहरूलाई उनीहरूको जीवनकालसम्म मात्र क्षतिपूर्ति दिने बताएको थियो । यसको अर्थ नेपाल भारदारलाई सरुवा गर्न सक्दैनथ्यो । नेपालमा जागिरदारहरूको काम हेरेर बर्सेनि पजनी हुन्थ्यो । यो नेपाली शासन सञ्चालनको विशेष विधि थियो । यसले गर्दा नै जागिरदारहरू आफ्नो काममा चनाखो रहन्थे । जागिर र पजनीको परम्पराले गर्दा नै सोलुखुम्बु र मकवानपुरजस्ता विविधतापूर्ण भेगमा पनि गोर्खाली शासन कायम हुन सकेको थियो । पछि अङ्ग्रेज गभर्नरले २ लाखको सट्टा तराईको केही भूभाग दिने निर्णय गरे । तर, मार्चको पहिलो तारिखदेखि नै नेपाली भावनामा सन्धिले चोट पु¥याइरहेको थियो ।
सुगौली सन्धिका प्रावधानमात्र निराशाका कारण थिएनन् । सन्धिले गर्दा सैनिक अभियान रोकियो । त्यसबाट धनी वर्गको निर्माणमा पनि रोक लाग्यो । साथै तराईको आर्थिक विकास पनि थामियो । नेपालको विकासमा यी दुवैको ठूलो महत्व हुने थियो । अर्कोतिर धेरै सैनिक बेरोजगार भए र उनीहरूले अर्को रोजगार पाउन गा¥हो थियो । साथै महाकालीपारिको भूभाग गुम्दा नेपालको छविमा धक्का लाग्यो र पछि फेरि ती भूभाग गाभ्न सक्ने सम्भावना पनि धमिलो भयो । ठूलो खेतीयोग्य भूभाग गुमाउँदा नेपालको कुलीन वर्गले आफ्ना जागिरहरू सीमित हुने भेउ पायो । जागिरदार वर्गको विस्तार रोकिने र जागिरहरू घट्ने निश्चित थियो । तराईको दुईतिहाइ भूमि अङ्ग्रेजहरूले फिर्ता दिने भए पनि नेपाली सरहदभित्रका जागिरहरू र सेनाको आकार घटाइने हुनाले भारदार वर्गबीच होडबाजी चर्कियो । यस्तो होडबाजी राज्यलक्ष्मी र बहादुर शाहको पालादेखि चलिरहेको थियो । साथै अवकाश प्राप्त भारदारलाई बाँडिने बिर्ताका लागि नयाँ भूमि नहुने तथ्य अर्कोतिर थियो । त्यसैले आफ्नो पद जोगाइरहनु उनीहरूका लागि आवश्यक बन्न गयो । यसबाट नयाँ प्रशासकहरूलाई बाटो छेकियो ।
सुगौली सन्धिले निम्त्याएका समस्याहरूले देशको प्रशासन ठप्प भयो । एकदम बिरानो स्थितिमा केही व्यक्तिले मात्र बाटो पहिल्याउनु स्वाभाविक थियो । सरकारलाई उद्देश्य वा गति दिन केही त गर्नुपथ्र्यो । सायद भीमसेन थापा र उनका साथीहरूको यस्तै प्रतिक्रियाले नै पराजयपछि पनि उनीहरूलाई शासक बनाइरह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *