सरकारले नै स्थानीय तहमार्फत बाली बीमा गर्नु जरुरी छ
- कार्तिक १०, २०८३
बिहीबार प्रकाशित राजधानी दैनिकमा ‘मल ल्याउने टेन्डर प्रक्रियामै झेल’ शीर्षकको समाचार छाप्यो । समाचारमा युरिया र डीएपी आयातमा झन्डै रू. ४० करोड अनियमितता भएको उल्लेख छ । नेपालमा रासायनिक मल ल्याउने काममा अनियमितता भएको प्रसङ्ग यो पहिलो पटक होइन न त अन्तिम पटक नै हुनेछ । यस्तै अनियमितताको प्रसङ्ग पहिले नेकपा एमालेको पालामा पनि सञ्चारमाध्यममा आएको थियो । नेकपा एमालेका एक मन्त्रीले त रासायनिक मलको कमिसन पार्टीसम्म पुगेको कुरा सार्वजनिक भएको थियो । रासायनिक मलमा प्रत्येक वर्ष करोडौँ कमिसन पाउने भएकोले नै नेपालमा मल कारखाना नखोलेको जानकारी प्रकाशमा आएको थियो । हालै नियुक्ति भएका कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी पनि कतै अनियमिततामा फसिरहेका त छैनन् भन्ने शङ्का गरिन थालेको छ ।
नेपाल मजदुर किसान पार्टीले सुरूदेखि नै नेपालमै रासायनिक मल कारखाना खोल्नुपर्ने माग गरिरहेको हो । सडक र सदनमा मल कारखाना खोल्न माग गर्दा पनि, पटक–पटक सरकारको ध्यानाकर्षण गर्दा पनि हालसम्म सरकारले चासो राखेको देखिँदैन । कृषिप्रधान देश नेपालको निम्ति रासायनिक मल अनिवार्य छ । रासायनिक मल स्थापना गरे यो देशको निम्ति ठूलो आम्दानीको स्रोत हुनेछ । देश र किसानहरूको निम्ति सहयोग पुग्ने रासायनिक मल कारखाना खोल्नेतर्फ सरकारको ध्यान नजानुको कारण कमिसनकै खेल रहेको चर्चाको विषय नबनेको होइन । जलभण्डारको रूपमा रहेको नेपालमा विद्युत् शक्ति उपयोग गरेर मल कारखाना खोल्न सकिन्छ ।
जानकारीमा आएअनुसार विदेशी कम्पनीले मात्र टेन्डर हाल्न पाउने खालको नयाँ मापदण्ड तय गरिएको छ । कुनै कम्पनीले टेन्डर हाल्न हजारौँ मेट्रिक टन मल आयात गरिसकेको प्रबन्ध गरिएको छ । यस मापदण्डले जो कसैले टेन्डर हाल नसक्ने गुनासो रहेको छ । आफ्नै देशमा मल कारखाना नभएको कारण समयमा किसानले मल पाएका छैैनन् । मल नपाएकै कारण अहिले पनि किसानले धात खेतीमा मल राख्न पाएका छैनन् । मल राख्न नसकी धान खेती पहेँलिएर उत्पादन कम हुने भएर किसान चिन्तित छन् । कृषि कार्यालय प्रमुखहरू पनि मल राख्न नपाएको क्षेत्रमा एकतिहाइ धानमात्र फल्ने बताउँछन् । कति प्राप्त मल गुणस्तरहीन हुन्छ, तौल पुग्दैन । त्यसमाथि ढिलो मल आयात हुँदा उत्पादनमा ¥हास हुन्छ । यसले किसानमात्र होइन देशको उत्पादन घट्छ, आम्दानी घट्छ । देशका लागि अत्यावश्यक खाद्यान्न आयात गर्न बाध्य हुन्छ र देश परनिर्भर भइरहनेछ । अनि कसरी देश समृद्ध र नेपाली सुखी हुन्छन् ?
Leave a Reply