भर्खरै :

तीज हिजो र आज

हिजो नारीहरूले ज्यादै कष्टकर सामाजिक जीवनशैली बिताउँदै आएका थिए । शैक्षिक, आर्थिक, सांस्कृतिक अवस्था पुरुषसँग सन्तुलित थिएन । घर–परिवारमा उनीहरूको निर्णायक भूमिका थिएन । समाज पुरातनवादी, सामन्तवादी सोचमा हुर्किएको थियो । नगण्यरूपमा महिलाहरूले साक्षरता हासिल गरे पनि बा¥है महिना, अहोरात्र, अहोदिन घर–व्यवहार, चुल्हो–चौको, केटाकेटीको हेरचाह, घाँस–दाउरा वस्तुभाउ, मेला–पर्ममै सीमित हुन्थ्यो । सधैँ दुःख, पीडामात्र झेल्नुपथ्र्यो ।
मीठो खाने, राम्रो लाउने, सुख–सयल र आराम भन्ने कुरा कल्पनामा दिवास्वप्नजस्तै हुन्थ्यो । घर–परिवार, सासू–ससुरा, नन्द–अमाजुबाट शारीरिक र मानसिक तनाव हुन्थ्यो । परिवारका सदस्यहरूको रुखो वचन र श्रीमान्बाट कुनै सहानुभूति र ढाडसको अभाव थियो । शारीरिक र मानसिक यातना र चोट बिर्सने कुनै माध्यम थिएन । चुपचाप सहनुको विकल्प थिएन । नोकर–चाकरको रूपमा जीवन जिउनु नियति नै भइसकेको थियो । आजको जस्तो यातायात र सञ्चार प्रविधिले फडको मारेको थिएन । घर–माइत धेरै टाढा पर्दथ्यो । अधिकांश नदी–खोलामा पुलको अभाव थियो । तिनताका चोरीचकारी, खोलो तर्दा बगाउने, जङ्गली जनावरको आक्रमणको शिकार हुन्थ्यो ।
वर्षमा मनको अटेसमटेस बह पोख्ने माध्यम नै तीज थियो । माइतमा बालशखाहरू, दिदी–बहिनी, आमा–छ्यामासँग उकुसमुकुस पीडा पोख्ने साझा चौतारी नै तीज थियो । माइतमा सबै जमघट भएर मनभरिका पीर–व्यथालाई गीतको माध्यमबाट व्यक्त गरेर हलुका हुन्थ्यो । दुई छाक भए पनि आफ्नो आमाको हातले पकाएको मीठो–मसिनो खानेकुरा जिब्रोमै झुन्डिन्थ्यो । फेरि, पञ्चमीको भोलिपल्टै गहँगो मनले घर फर्कनुपथ्र्यो ।
तर, आजको तीज जेठ–असारदेखि नै होटेल, पार्टी पालेसमा दिनहुँ लुगा–गहनाको होडबाजी चल्छ । रत्यौलीजस्ता अर्धनग्न युवा युवतीले गाउने तीजको गीत र नाचगानको पारिवारिक माहौलमा हेर्न कठिन हुने, खाने–पिउने र आधारातमा फर्कने संस्कृति–विकृतिमा परिणत भएको पाइन्छ । यस्ता संस्कारले सिङ्गो समाजमा हुँदा खाने र हुनेखाने बीचमा गहिरो खाडल बनेको छ । सामाजिक कलङ्कको रूपमा सङ्क्रमित यो प्रतिस्पर्धाले भ्रष्टाचारको बिगबिगी भई समृद्धितर्फ आघात पुगेको छ । आधुनिक महिलावादीहरूको औधीभन्दा सौदी देखाउने प्रवृत्तिले बफादार राष्ट्रसेवकहरूमा अनैतिक दबाब पर्नुका साथै नामर्द र हुतिहारा पगरीले सिङ्गो राष्ट्रभक्त कर्मचारीहरूमा हिनताबोध र प्रदूषित बन्न पुगेको छ । यस्ता सरकारी तवरबाट अघोषितरूपमा मनाइने तीज पर्वको मूल्याङ्कन अनुगमन र निगरानी नहुने हो भने मौलिकपनको अन्त्य भई बिसङ्गतिको पर्व हुन बेर लाग्दैन । त्यसैले, यसमा राज्यको ध्यान पुगोस् ।
मानिस सामाजिक प्राणी भएकोले, समाजमा नकारात्मक प्रभाव पर्ने हानि–नोक्सानी, हतोत्साही, निरुत्साहित, वैचारिक विचरण गर्ने कार्य कदापि गर्नुहँुदैन । हुने खाने र सत्तासीनहरूसँग पहुँच हुनेले फोस्रो आडम्बर प्रदर्शन र महिनौँदेखि फजुल खर्च गर्नुको सट्टा, परम्परागत रीतिरिवाज, परम्परा, धर्म–संस्कृति, संस्कार, मौलिकपनलाई थाँती राखी चाड पर्व मनाउन खाँचो देखिन्छ । आज, विश्व कोरोनाले आक्रान्त भइरहेको बेलामा सरकारको मात्र भरोसामा नपरी सचेत र गम्भीरतापूर्वक कर्तव्य पालन गरी कोभिड–१९ परास्त गर्न एकजुट हुनुपर्ने हाम्रो दायित्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *