भर्खरै :

विद्यालय–कलेज खोल्दा बढ्यो सङ्क्रमण

वाशिङ्टन, २० अगस्ट । कोभिड–१९ सङ्क्रमितहरूको बढ्दो सङ्ख्याबीच संरा अमेरिकाका कलेजहरूमा विद्यार्थीहरू फर्किन थाल्दा सङ्क्रमणको जोखिम अझ बढेको छ ।
संरा अमेरिकामा पछिल्ला केही सातादेखि विद्यालय र कलेज कहिलेबाट खोल्ने भन्ने विषयमा गरमागरम बहस भइरहेको छ । केही राजनीतिक नेताहरू सकेसम्म चाँडो विद्यालय खोल्न जोड गरिरहेका छन् भने अभिभावकहरू अझै पनि आफ्ना छोराछोरीलाई विद्यालयमा पठाउन अनकनाइरहेका छन् ।
केही विश्वविद्यालयमा केही नयाँ कोभिड–१९ सङ्क्रमितहरू फेला परेका छन् । यसै साताको सुरुमा संरा अमेरिकाकै सबभन्दा ठुला कलेजमा गनिने चापल हिलस्थित नर्थ क्यारोलिना विश्वविद्यालयले विद्यार्थीलाई कलेज बोलाएर प्रत्यक्ष कक्षा चलाउने प्रयास गरेको थियो । तर, कक्षा सञ्चालन भएको साता दिनमै नाटकीय रूपमा सङ्क्रमण बढेपछि अहिले कक्षा स्थगित गरेको छ ।
नोट्रे डेम विश्वविद्यालयले सङ्क्रमणको सङ्ख्या बढेपछि शिक्षण गतिविधिलाई अनलाइन विधिमा सीमित राखिएको छ ।
“हाम्रो कन्ट्र्याक्ट टे«सिङ विश्लेषणले अधिकांश सङ्क्रमण कलेजसँग सम्बन्धित रहेको फेला परेको छ । कलेजमा हुने भेलाहरूबाट विद्यार्थीहरू अन्य मानिसलाई सो सङ्क्रमण फैलिएको देखिएको छ”, विश्वविद्यालयका सभापति जोन जेनकिन्सले बताएका छन् ।
के–१२ मा आबद्ध विद्यालयहरूले कोभिड–१९ को बढ्दो सङ्क्रमणबीच खोल्ने निर्णय गरेपछि अभिभावकलाई आफ्ना छोराछोरीलाई विद्यालय पठाउने नपठाउने अन्योल भएको छ । अमेरिकी बालरोग र बाल अस्पताल सङ्गठन प्रतिष्ठानले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार जुलाई ३० देखि अगस्ट १३ सम्ममा ७५ हजार ७५५ जना बालबालिकामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । विगत दुई साताको तुलनामा बालबालिकाको सङ्क्रमण २४ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *