भर्खरै :

अस्पताल र स्वास्थ्यकर्मीको व्यवहार कहिले बदलिने ?

त्यसो त गरिब र निमुखा जनतालाई पहिले पनि अस्पतालहरूमा राम्रो हेरचाह र उपचार नगरिएका घटना बरोबर सार्वजनिक हुन्थे । तर, त्यतिबेला कम्तीमा सरकारी अस्पतालहरूमा भर्ना लिइन्थ्यो र सामान्य उपचार भए पनि सुरू हुन्थ्यो । नयाँ कोरोना भाइरसको सङ्क्रमण फैलिएयता अस्पतालहरूमा प्रवेशबाटै बञ्चित गरिएका छन् । पहिले सामान्य अवस्थामा विज्ञापन गरी बोलाएर सामान्य रोगी मानिसलाई पनि बिरामी बनाएर हप्तौँ र महिनौँ लगाएर उपचार गर्ने निजी अस्पतालहरू अहिले सम्भ्रान्तहरूका लागि मात्र खुल्ला छन्, सामान्य जनताका लागि बन्द छन् । अहिले आएर सामान्य जनताका लागि सरकारी अस्पतालहरू पनि बन्द हुन थालेका छन् । कतै कुनै बेला अस्पतालमा भर्ना नै गरे पनि नर्स र डाक्टरहरूले समयमै उपचार नथाल्ने र समस्या परे पनि वास्तै नगर्ने प्रवृत्ति बढेको छ । कोरोना भाइरस सङ्क्रमणको त्रासले समयमै सही उपचार नपाएर अन्य रोगका बिरामीहरूको ज्यान गइरहेको छ ।
बुधबारमात्र जनकपुरमा मृगौला फेल भएका र डाइलासिस सेवा जरूरी भएका एक युवकले सरकारी र निजी कुनै पनि अस्पतालमा उपचार नपाउँदा उपचारका लागि जनकपुरबाट धरानतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको छ । ती युवकको मृत्युपछि जनकपुर प्रादेशिक अस्पतालले युवकका मातापिता वा परिवारलाई दोष लगाएर एक विज्ञप्ति जारी ग¥यो । अस्पताल प्रशासन र चिकित्सकहरूको कमजोरी त्यो तर्कहीन विज्ञप्तिले छोपिँदैन । सरकारले अस्पतालमा अगाडि रहेर काम गर्ने डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरूका लागि कोरोना जीवन बीमा गरिदिएको छ । फेरि यतिखेर विगतमा जस्तो स्वास्थ्य सुरक्षाका उपकरणको अभाव पनि छैन । बिरामीको सम्भव उपचार सुरू गर्न डाक्टर र नर्सहरूलाई केले रोकेको छ ? विशिष्ट र पहुँच भएकाहरूलाई मात्र सेवा गर्ने र निमुखा जनता मरे पनि वास्ता नगर्ने सामन्ती संस्कार र व्यवहार नेपालका चिकित्साकर्मीहरूमा धेरै र थोरै बाँकी नै छ । निमुखा जनताका लागि अस्पताल र स्वास्थ्यकर्मीको व्यवहार कहिले बदलिने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *