भर्खरै :

चिनियाँ बनेका एक अमेरिकीको कथा

न्यु योर्क सहर । पृथ्वीको सबभन्दा धनी भनिएको देश संरा अमेरिकाको सबभन्दा समृद्ध मानिएको महानगर ¤ त्यहीँ महानगरमा कुनै बेला वकिल थिए–सिड्नी शापिरो । वकिल बन्ने उनको सपना थिएन । त्यहीँ भएर वकिल पढ्दै गर्दा पनि जीवनको नयाँ भाका खोज्न उनी आफ्ना मित्र जेरीसँग क्यालिर्फाेनियातिर हानिए । तर, न्यु मेक्सिकोमा मालवाहक रेल चढ्ने क्रममा शापिरो भुइँमा पछारिए । धुलो टकटकाउँदै उठ्दासम्म रेल निकै पर पुगिसकेको थियो । उनी त्यहींबाट फर्के । जेरी भने क्यालिर्फोनिया पुगेर धनी बने । शापिरो न्यु योर्क फर्केर वकिल बने ।
दोस्रो विश्व युद्धको समय थियो सन् १९४१ ताका । शापिरो अमेरिकी सेनामा भर्ती भए । उनी सामेल सैनिक टुकडीको जिम्मा जर्सी चौर भनिने ढापिलो क्षेत्रमा रहेको वेस्टिङहाउस कम्पनीको विद्युत्तगृहमाथि जर्मनीको सम्भावित हमला रोक्नु थियो । शापिरो र उनका सहकर्मीहरू पालैपालो दुई घण्टा ड्युटी गरी चार घण्टा आराम गर्थे । लामखुट्टे र मुसासँगै लड्नुपर्ने त्यो एकतमासको बसाइ शापिरोको लागि उद्देकलाग्दो बन्यो । त्यहीँबेला इच्छुक सिपाहीहरूले कुनै पनि एउटा अन्तर्राष्ट्रिय भाषा सिक्न पाउने कार्यक्रम सार्वजनिक भयो । जर्सी चौरको त्यो उद्देकलाग्दो कामबाट मुक्त हुने मौका मानेर शापिरोले फ्रान्सेली भाषा सिक्न आवेदन दिए । तर, उनी फ्रान्सेली भाषा सिक्ने कोटाबाट फालिए । बरु चिनियाँ भाषा पढ्न ठाउँ खाली रहेको खबर पाए । उनको लागि चिनियाँ भाषा सिक्नु अकल्पनीय कुरा थियो । उनले त्यसको कुनै प्रयोजन पनि देखेका थिएनन् । तथापि जीवनको पुरानै लयमा फर्किनुभन्दा चिनियाँ भाषा सिक्नु नै उनले कल्याण देखे । चिनियाँ कक्षामा छात्र उनी एक्ला थिए । सबै छात्राहरू थिए । छ महिनामा जसोतसो चिनियाँ भाषा कनिकुथी बोल्नसक्ने भए । तर, लेख्नमा उनी आलु थिए । मुस्किलले केही अक्षर लेख्न सक्थे ।
उनलाई न्यु योर्कको दौडादौड र तानातानले खाँदिएको जीवनबाट मुक्त हुनु थियो । चिनियाँ भाषा बोल्न पनि जान्ने भएपछि चीनकै कुनै सहरमा आफ्नो भविष्य खोज्ने र चिनियाँ भाषामा अझ निपुणता हासिल गर्न शापिरो सन् १९४७ को मार्चमा लागे–चीनको साङ्घाईतिर । न्यु योर्कबाट पानामा नहर हुँदै उनी साङ्घाई सहर पुगे । साङ्घाई शापिरोको लागि नितान्त भिन्न सहर थियो । न्यु योर्कसँग आकाशबाहेक केही पनि नमिल्ने । साङ्घाई चिनियाँ सहर थियो तर त्यत्तिञ्जेल पनि त्यो सहर फ्रान्स, पोर्चुगल, बेलायतजस्ता पश्चिमा उपनिवेशवादी देशहरूका अलग अलग उपसहरहरूमा विभाजित थियो–कतै फ्रान्सेली बजार, कहीँ बेलायती बजार । जहाजबाटै एक जना मानिसले ‘चाङ पाओ’ भनिने चिनियाँ परम्परागत पोशाक लगाएका पुरुष देख्दा उनी चकित परेका थिए ।
साङ्घाईमा विदेशी प्रभाव निकै बलियो गरी गडिएको थियो । त्यत्तिबेलाको साङ्घाईबारे वर्णन गर्दै शापिरो लेख्छन्–रेशम, कपासका सामान, भटमास, सुर्ती, कोइला, टिन, नरम रौँ, बङ्गुरको मासु आदि चीनबाट सजिलै तस्करी गरिन्थ्यो । ती सामान कौडीको मोलमा लगिन्थ्यो । विदेशी कम्पनीहरूले चिनियाँ कामदारलाई नाममात्रको ज्याला दिन्थे । किनभने चिनियाँहरू ‘हामीजस्ता’ होइनन् । उनीहरू एक कचौरा भातकै भरमा पनि बाँच्न सक्छन् ।… नब्बे प्रतिशत जनता खानमात्र पाए पनि आफूलाई भाग्यमानी सोच्थे ।”
साङ्घाईका बजारमा चिनियाँहरूले तान्ने बग्गी चल्थ्यो । विदेशीहरू बग्गी तान्दा चिनियाँहरूको सास्ती देखेर मज्जा लुट्थे । त्यही सहरमा वकिल बनेर आफ्नो ‘भाग्य जाँच्न’ खोज्दै थिए–शापिरो । धेरै विदेशी कम्पनीहरू पनि साङ्घाईमा व्यापार गरिरहेको हुनाले मुद्दामामिलाको कुनै कमी थिएन । तर, न्यु योर्कबाट जे कुराबाट उनी भागेर आएका थिए, साङ्घाईमा पनि उनी त्यही दलदलमा फस्दै थिए । पैसा नै कमाउने भए उनी न्यु योर्कमा पनि कम कमाउँदैनथे । त्यहीबेला उनको भेट हुन्छ–फिनिक्ससँग ।
फिनिक्स कलाकार थिइन् । उनी केही चलचित्रमा नायिका पनि भइन् । साङ्घाईमा उनी एउटा पत्रिकाको सम्पादक थिइन् । त्यो पत्रिका कम्युनिस्ट पार्टीको स्थानीय एकाइअन्तर्गत सञ्चालित थियो । उनले आफ्नो पहिलो लोग्नेसँग पारपाचुके गरेर एक्लै बसेकी थिइन् । सुरुकै भेटघाटमा शापिरो फिनिक्सबाट प्रभावित भए । दुवै जनाबीच कुरा मिल्दै गयो । फिनिक्ससँगको सङ्गतमा उनी क्रमशः कम्युनिस्ट पार्टीका गतिविधिमा सामेल भए । कम्युनिस्ट पार्टी र कोमिङताङको च्याङ काई सेक गुटबीच भीषण लडाइँ चलिरहेको थियो । साङ्घाई बस्न गा¥हो हुँदै थियो । शापिरो र फिनिक्सले कम्युनिस्ट पार्टीको आधारक्षेत्रमै गएर चिनियाँ क्रान्तिलाई सघाउने निर्णयमा पुगे । तर, पेइचिङबाट उनीहरू अघि बढ्न सकेनन् । आधार क्षेत्र जाने प्रयास असफल भएपछि उनीहरूलाई आधार क्षेत्रमा लाने जिम्मेवारी पाएको कम्युनिस्ट कार्यकर्ताले भने, “अब कम्युनिष्ट पार्टी चाँडै पेइचिङमै आइपुग्नेछ । त्यसकारण यहीँबसेर केही महिना कुर्नुहोस् ।” नभन्दै सन् १९४९ को सुरुमै पेइचिङमा कम्युनिस्ट पार्टी आइपुग्यो ।
सिड्नी शापिरोको पुस्तक ‘एन अमेरिकन इन चाइना– थर्टी एयर्स इन द पिपुल्स रिपब्लिक’ (चीनमा एक जना अमेरिकी– जनगणतन्त्रमा तीस वर्ष) मा लेखकले सन् १९४७ अघि (जति बेला चिनियाँ क्रान्ति उत्कर्षमा पुगेको थियो) देखि सन् १९७९ (जति बेला चिनियाँ सांस्कृतिक क्रान्ति समाप्त भएर चीन क्रान्तिको अर्को चरणमा प्रवेश गर्दै थियो) को अवधिलाई एक जना प्रत्यक्षदर्शीको कोणबाट व्याख्या गरेका छन् । सामान्यतः इतिहासका पुस्तक पढ्दा हामी सत्ताले गरेका गतिविधि र निर्णयका वृत्तान्तको खाका पढ्ने गर्छौं । सन् १९४७ देखि १९७९ सम्मको अवधिमा चीनमा भएका राजनीतिक उथलपुथलको विषयमा धेरै कृतिहरू लेखिएका छन् । तर, त्यस्ता राजनीतिक उथलपुथलले जनताको दैनिक जीवनमा कस्तो प्रभाव पा¥यो, तिनले उनीहरूको जीवनमा कस्तो प्रगति वा दुर्गति भयो, उनीहरू राजनीतिक नेतृत्वको निर्णयलाई कसरी ग्रहण गर्थे भन्ने मसिना कुरा इतिहासका ठेलीमा नपाइएला । तर, चीनकै इतिहासमा निकै महत्वपूर्ण त्यो अवधिबारे इतिहासमा पुस्तकमा नलेखिएका वा नलेखिने कुराको व्याख्या शापिरोले आफ्नो पुस्तकमा गरेका छन् । अझ त्यत्तिबेलाका घटनालाई चीनभन्दा ठीक विपरीतको सभ्यतामा हुर्केको व्यक्तिको आँखाबाट पढ्नु कम रोचक हुन्न ।
सन् १९४९ को अक्टोबर १ मा थेन आन मेन चोकमा जनवादी गणतन्त्र चीन स्थापनाको घोषणाका साक्षी थिए शापिरो । उनले पेइचिङमा विदेशी भाषा प्रेसमा काम पाए । उनले चिनियाँ भाषाका कृतिहरू अङ्ग्रेजी भाषामा अनुवाद गर्न थाले । चिनियाँ भाषा आजजस्तै विश्वव्यापी बनिसकेको थिएन । चिनियाँ भाषा बुझ्ने मानिसको सङ्ख्या निकै कम रहेको त्यो समयमा चीनलाई संसार चिनाउन शापिरोले गरेको अनुवाद कृतिले निकै महत्वपूर्ण भूमिका खेल्यो । उनीसहितको टोलीले चाइनिज लिट्रेचर नामको अङ्ग्रेजी भाषामा चिनियाँ साहित्यको पत्रिका प्रकाशन भयो । चीन संसारको लागि त्यत्तिबेलासम्म रहस्यको देश थियो । चीनका कम्युनिस्टरू र चिनियाँ क्रान्तिबारे संसारभर अनेकथरी अस्पष्टता र भ्रम थिए । त्यस परिस्थितिमा अङ्ग्रेजी भाषामा अनुदित कृतिले त्यस्ता भ्रम चिर्न निकै अह्म भूमिका खेल्यो । चिनियाँ साहित्यमा अब्बल कृतिहरू पा चिनको ‘द फ्यामिली’, युआन छिङको ‘डटर्स एन्ड सन्स’, चाओ शु–लीको ‘राइम्स अफ ली यु–सिया’, चु पोको ‘ट्र्याक्स इन द स्नोई फोरेस्ट’, ल्यु छिङको ‘द बिल्डर्स’ र माओ तुनको ‘स्प्रिङ सिल्कवमर््स’ जस्ता कृतिको उनले अनुवाद गरे । चिनियाँ प्राचीन साहित्य ‘आउटलज अफ द मार्स’ को तीन वटै खण्डको उनले अनुवाद गरे ।

चीन एउटा ठूलो उथलपुथलपूर्ण समयमा थियो । शताब्दी लामो उपनिवेश र सामन्ती शासनपछि चिनियाँ जनता मुक्त भएका थिए । अफिम युद्धपछि अवरुद्ध चिनियाँ सभ्यताको विकासलाई गतिवान बनाउने चिनियाँ जनता निर्माणको बाटोमा अहोरात्र लागेका थिए । शापिरोले पुस्तकमा त्यत्तिबेलाका कम्युनहरूले कसरी चीनको विकास र निर्माणमा उत्साहको लहर ल्यायो भनी आफ्नो प्रत्यक्ष अनुभव लेखेका छन् ।
चीनको उत्तरपश्चिम क्षेत्र त्यत्तिबेला तुलनात्मकरूपमा अझै पनि विकट थियो । नेपालको सन्दर्भमा भन्दा कर्णाली अञ्चलजस्तै । सन् १९५७ मा उनले एक जना नेपाली सहकर्मीसँग त्यही उत्तरपश्चिम चीनको भ्रमण गरेका थिए । त्यो यात्रा वर्णन आजभोलि नेपालको कुनै दुर्गम उत्तरी भेगको यात्रा गरेको वर्णनजस्तै अनुभव हुन्छ ।
सन् १९५०–६० को दसकमा चीन र तत्कालीन सोभियत नेतृत्वबीचको वैचारिक सङ्घर्ष र त्यसले चीनमा पारेको प्रभावबारे पुस्तकमा चर्चा गरिएको छ । विशेषतः सन् १९५६ मा ख्रुश्चेभले सोभियत कम्युनिस्ट पार्टीको महाधिवेशनमा स्तालिनको निन्दा गरेपछि चिनियाँ कम्युनिस्ट पार्टी र सोभियत नेतृत्वबीच वैचारिक सङ्घर्ष सुरु भयो । स्तालिनसँग चिनियाँ कम्युनिस्ट पार्टीकै पनि केही मतभेद नभएको होइन, तथापि स्तालिनले फासीवादविरोधी युद्ध र संसारको क्रान्तिमा गरेको योगदानले उनका केही कमजोरी छोपिने चीनको धारणा थियो । तर, ख्रुश्चेभ गुटले स्तालिनको निन्दा र झूटको प्रचार गर्नु समाजवादमाथिको हमला भएको निष्कर्ष चीनको थियो र त्यसकारण चर्को आपत्ति थियो । ख्रुश्चेभ गुट संसारका सबै समाजवादी देशले आफ्नो नीतिलाई नै पछ्याउनुपर्ने अडानमा थियो । क्रान्ति सशस्त्र होइन– शान्तिपूर्ण, वर्गसङ्घर्ष होइन–वर्ग समन्वयको सोभियत संशोधनवादी सिद्धान्तको चीनले विरोध ग¥यो । चीन सोभियत संशोधनवादको पिछलग्गू बन्न तयार भएन । फलतः चीनको पूर्वाधार निर्माणमा बनाइएका नक्साहरूसमेत लिएर सोभियत प्राविधिकहरू आफ्नो देश फर्केका थिए । जसले चीनको पूर्वाधार निर्माण र आर्थिक विकासको बाटोलाई अझ कमजोर बनाएको थियो । तर, त्यस्ता हरेक प्रतिकूलताले नै चीनलाई अझ बलियो बनायो । आफ्नै खुट्टामा उभिएर क्रान्ति गरेको चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नै जगमा उभिएर आजको आर्थिक समृद्धि हासिल सम्भव भएको हो । सोभियत नेतृत्वको संशोधनवादी विचारबारे चीनको राजनीतिक नेतृत्वले गरेको सङ्घर्ष, चीनकै राजनीतिक नेतृत्वभित्रको सङ्घर्ष र त्यसले तत्कालीन विश्व राजनीतिमा पारेको प्रभावबारे पुस्तकमा गरिएको वर्णन स्पष्ट छ ।
सन् १९६६ बाट सुरु भएको चिनियाँ सांस्कृतिक क्रान्तिबारे चलेको बहस आज पनि चालु छ । शापिरोले सांस्कृतिक क्रान्ति आफैँले देखेनन् मात्र, भोगे पनि । उनकी श्रीमती फिनिक्सले लामो समय कारबाही भोग्नुप¥यो । शापिरोले पुस्तकमा सांस्कृतिक क्रान्तिको सुरु अभिप्रायः र उत्ताउला विचारको प्रवेशपछि लिएको रूपबारे चर्चा गरेका छन् । उनले लिन प्याओको वैचारिक गल्ती र च्याङ चिङ नेतृत्वको चार जनाको गुटको उत्ताउला र पूर्वाग्रही गतिविधि अनि त्यसले चिनियाँ समाज र जनतामा पारेको असरबारे व्याख्या गरेका छन् ।

सन् १९६७ मा पेइचिङमा साइकल चढ्दै शापिरो


शापिरोले अमेरिकी नागरिकता त्यागेर चिनियाँ नागरिकता लिए । उनी र फिनिक्सकी एक जना छोरी छिन्–वेई मे । उनी चिकित्सक बनिन् । चीन र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध नबन्दै शापिरोकी आमाले चीनको भ्रमण गरेकी थिइन् । त्यसबापत उनले अमेरिकामा केही समस्या भोग्नुपरेको थियो । तर, केही साताको चीन बसाइबाट शापिरोकी आमा चीनप्रति निकै सकारात्मक भाव बोकेर फर्किन् । निक्सनको पालामा चीन र संरा अमेरिकाबीच सम्बन्ध केही सुधार भयो । त्यही क्रममा उनले आफ्नो जन्मभूमिको केही समय भ्रमण गरे । अमेरिकामा व्याप्त चीनबारे गलत बुझाइ स्पष्ट पार्न भूमिका खेले । चीन फर्किने क्रममा उनी जेनेभा पुगेर अमेरिकी पत्रकार एड्गर स्नोलाई भेट्न गए । तर, विडम्बना ¤ उनी जेनेभा पुग्न नपाउँदै स्नोको निधन भइसकेको थियो ।
शापिरोले पुस्तकको अन्त्यतिर आशाका केही धर्साहरू कोरेका छन् । चार जनाको गुट र लिन प्याओको पतनपछि चीन नयाँ गतिमा अघि बढ्न खोजिरहेको थियो । फिनिक्समाथि कारबाही फुकुवा भइसकेको थियो । वेई मे आमा बन्दै थिइन् । शापिरोलाई ‘आउटलज अफ द मार्स’ पुस्तकको अनुवाद गर्ने नयाँ जिम्मेवारी दिइएको थियो ।
सन् १९७९ मा प्रकाशित यो २८० पृष्ठको पुस्तकमा समावेश ऐतिहासिक महत्वका तस्वीरले चीनको कम्तीमा ५० वर्षको इतिहास बुझ्न मद्दत गर्छ । सन् १९७९ को चीन र आजको चीनबीच निकै भिन्नता छ । तर, चीन आज जहाँ छ, त्यत्तिबेलाको बाटो भएर नै यो ठाउँमा आइपुगेको हो ।

One response to “चिनियाँ बनेका एक अमेरिकीको कथा”

  1. जगनाथ says:

    राम्रो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *