भर्खरै :

लकडाउनमा शिक्षा

नोबेल कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै शिक्षण संस्थाहरू कहिले खुल्ने हो, अनिश्चित छ । चैतदेखि नै शिक्षण संस्थाहरू बन्द छन् । अभिभावक, विद्यार्थी, शिक्षक र विद्यालयका सञ्चालकहरू सबै अन्योलमा छन् । कहिलेबाट कक्षाकोठामा बसेर शिक्षकले विद्यार्थीलाई प्रत्यक्ष पढाउने हुन्, कुनै टुङ्गो छैन । वैकल्पिक शिक्षण पद्धतिको रूपमा सञ्चालन गरिएको अनलाइन कक्षा पनि अहिले शिथिलप्रायः छ । सुरूमा नवीन प्रविधिप्रतिको उत्सुकता र उत्साहका साथ अनलाइन कक्षा सञ्चालन गरिए पनि अहिले एकाध विद्यालयले मात्र निरन्तरता दिएका छन् । अनलाइन कक्षा स–साना उमेरका विद्यार्थीको निम्ति अनुपयोगी र अरू विद्यार्थीहरूको सन्दर्भमा पनि खासै प्रभावकारी नभएको अधिकांश विद्यालयको अनुभव छ । अनलाइन कक्षाप्रति अभिभावकको उत्साह पनि घट्दै गएको छ । विश्वविद्यालय तहमा अनलाइन कक्षा केही प्रभावकारी देखिए पनि यसले सबै विद्यार्थीलाई समेट्न नसकेको गुनासो सुनिन्छ ।
शिक्षा मन्त्रालयले विद्यालयहरूलाई अहिलेको प्रतिकूल अवस्थामा वैकल्पिक शिक्षण विधि सञ्चालन सम्बन्धमा कुनै प्रभावकारी उपाय दिन सकेको छैन न शिक्षा मन्त्रालयले शिक्षक र विद्यार्थीलाई नै कुनै उत्साह दिन सकेको छ । लकडाउन भएपछि विभिन्न देशमा गरिएको अनलाइन कक्षाको अभ्यासबाट सिकेर केही जाँगरिला विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेपछि शिक्षा मन्त्रालयले बाध्य भएर केही प्रबन्ध मिलाउने प्रयास ग¥यो । तर, त्यो प्रयास झाराटार्नेमा सीमित रह्यो । त्यसको प्रभावकारी कार्यान्वयनको निम्ति मन्त्रालयबाट थप पहल भएन । आफूले दिएको विकल्प प्रभावकारी नभएको अवस्थामा अर्को विकल्पको खोजी पनि गरिएन । लकडाउनमा शिक्षण संस्थालाई मार्गनिर्देशन गर्ने सन्दर्भमा शिक्षामन्त्रालय अकर्मण्य साबित भयो ।
शिक्षा मन्त्रालयले न सरकारी विद्यालयलाई नै सही मार्गनिर्देशन गर्नसक्यो न कुहिरोमा हराएको काग बनेका निजी शिक्षण संस्थालाई नै सम्बोधन गर्नसक्यो । बरू एसईईको परीक्षाफलमा गल्ती गरेको देखियो । शिक्षा क्षेत्रमा सरकारविहीनताको अवस्था यतिबेला देशले भोगिरहेको छ । फलतः आज देशका लाखौँ–लाख विद्यार्थीहरूको भविष्य जोखिममा परेको छ । निःसन्देह आज नेपालमात्र होइन, संसारभर नोबेल कोरोना भाइरसले दुःख दिएका सबै देशको शिक्षा क्षेत्रमा समस्या छन् । तर, जनताप्रति उत्तरदायी सरकार भएको देशले प्रतिकूल परिस्थितिमा शिक्षा क्षेत्रलाई यसरी व्यवस्थापन गर्ने भन्ने प्रस्ट दिशा दिएको छ । त्यसले शिक्षक, अभिभावक र विद्यार्थीमा आत्मविश्वास जागृत गर्न सफल भएको देखिन्छ । तर, हाम्रो शिक्षामन्त्रालयसँग आफैँमा आत्मविश्वासको अभाव देखियो । आत्मविश्वास नभएको मन्त्रालयले प्रस्ट दिशा दिनसकेको छैन ।
सङ्क्रमणको समय अझै लम्बिने अवस्था रहेकोले अब आ–आफ्ना छोराछोरीलाई घरभित्रै सिक्ने र सिकाउने वातावरण बनाउनु सचेत र शिक्षित अभिभावकको दायित्व बनेको छ । घरभित्रै कक्षा कोठा र विद्यालय स्थापना गर्नुपर्ने अहिले परिस्थितिको माग हो । पुस्तक, श्रव्यदृश्य, व्यवहारिक ज्ञान, बोलीचालीदेखि जे सम्भव छ, घरभित्रै आफ्ना नानीबाबुलाई सिकाउन जरूरी छ ।
ठूला कक्षाका विद्यार्थीलाई पुस्तक अध्ययन, पठन, अनलाइन शिक्षणका विभिन्न माध्यम प्रयोग गरेर सिक्ने कामलाई निरन्तरता दिनुपर्छ । घरमै भए पनि विद्यार्थीले सिक्ने प्रक्रिया बन्द हुनुको प्रभाव भने कालान्तरमा कोरोना भाइरसको दुष्प्रभावभन्दा बढी हुनसक्छ । कोरोनाले महिना र वर्ष लकडाउन गर्ला, तर सिकाइमा लकडाउनले युगौँ र पुस्तौँ नराम्रो प्रभाव पार्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *