भर्खरै :

बेलारुसको अस्थिरतामा संरा अमेरिका र युरोपेली सङ्घ जिम्मेवार

मिन्स्क, २२ अगस्ट । बेलारुसका अधिकारीहरूले बेलारुसमा अस्थिरता फैलाउन संरा अमेरिका जिम्मेवार भएको बताएका छन् । उनीहरूले आफ्नो आन्तरिक मामिलाबाट टाढा रहन संरा अमेरिकालाई चेतावनी दिएका छन् । शुक्रबार आन्दोलनरत कारखाना मजदुरका एक नेतालाई सरकारले गिरफ्तार गरेको छ । बेलारुस सरकारले हालै सम्पन्न राष्ट्रपति निर्वाचन पछि उठेको आन्दोलनका प्रदर्शनकारीहरूमाथि फौजदारी मुद्दा दायर गर्ने चेतावनी दिएको छ ।
राष्ट्रपति अलेक्सान्द्र लुकाशेन्कोबाट सत्ता हत्याउन समानान्तर परिषद् गठनमा संलग्न विपक्षी दलका नेताहरूमाथि फौजदारी मुद्दाअन्तर्गत छानबिनको लागि नियन्त्रणमा लिइएको छ । विपक्षी दलले गत अगस्ट ९ मा सम्पन्न पुनः निर्वाचनपछि अलेक्सान्द्रको वैधानिकतामाथि प्रश्न उठाइरहेको छ ।
मतदानको रातबाट सुरु भएको विरोध प्रदर्शन आफू ८० प्रतिशत मतसहित चुनावमा विजयी भए सघन बनेको त्यस आन्दोलनमा संरा अमेरिकाको घुसपैठ भएको राष्ट्रपति अलेक्सान्द्रले आरोप लगाएका छन् । उनले विपक्षी राजनीतिक दलहरूलाई पश्चिमाहरूको कठपुतलीको संज्ञा दिँदै तत्काल कारबाहीको प्रतिबद्धता व्यक्त गरेका छन् ।
“सबै काम संरा अमेरिकाको योजना र निर्देशनमा भइरहेका छन् । यसमा युरोपेलीहरूले खेल खेलिरहेका छन्”, उनले शुक्रबार भने ।
“यसमा चिन्ता मान्नुपर्ने कुनै कुरा छैन । म यसलाई समाधान गर्छु । विश्वास गर्नुस्, यो समस्या हामी चाँडै समाधान गर्नेछौँ”, उनले भने ।
शुक्रबार नै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसको पछिल्लो घटनाक्रमबारे आफ्नो धारणा औपचारिकरूपमा सार्वजनिक गरेका छन् । “एउटा सार्वभौम राज्यका आन्तरिक मामिलामा चलखेल गर्नु र वैधानिक सरकारमाथि बाह्य शक्तिले दबाब दिनु सह्य हुनसक्दैन”, पुटिनले फिनल्यान्डका आफ्ना समकक्षी साउली निनिस्टोसँगको फोन संवादमा भनेका थिए ।
गत बिहीबार संरा अमेरिकाले बेलारुसको राष्ट्रपति निर्वाचन निष्पक्ष र स्वतन्त्र नभएको भनेको थियो । उसले विपक्षी परिषद्सँग वार्ता गर्न आग्रह गरेको छ । यसैबीच युरोपेली सङ्घले बेलारुसका केही अधिकारीहरूमाथि नाकाबन्दीको तयारी गरिरहेको छ ।
विपक्षी दलहरू मिलेर गठित समन्वय परिषद्ले नयाँ निर्वाचन आयोग गठन गरी नयाँ राष्ट्रपति निर्वाचन गर्नुपर्ने माग गर्दै आएको छ । उनीहरूले प्रदर्शनमाथि दमन गर्ने प्रहरीमाथि कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरेका छन् ।
निर्वाचनलगत्तै आयोजित पहिलो चार दिनको प्रदर्शनमा प्रहरीले झन्डै ७ हजार मानिसलाई पक्राउ गरेको थियो । प्रहरीको रबरको गोली, ग्रिनेड र लाठीबाट सयौँ प्रदर्शनकारी घाइते भएका थिए ।
शुक्रबार सरकारले गठन गरेको छानबिन समितिले हिरासतमा प्रहरीले एक महिलामाथि बलात्कार गरेको विषयमा छानबिन थालेको छ ।
विपक्षीहरूको दबाबको प्रतिरोध गर्न राष्ट्रपतिका हजारौँ समर्थकहरूले पनि राजधानी मिन्स्कलगायत विभिन्न सहरमा प्रदर्शन गरेका थिए ।
“हाम्रो देशमा स्थायित्व र शान्तिको खाँचो छ । उनीहरू हामीमाथि विद्रोह थोपर्न खोजिरहेका छन्”, शुक्रबार मिन्स्कमा आयोजित प्रदर्शनमा सहभागी ४६ वर्षका विद्युत् प्राविधिक डिमित्री शपार्जले भने । शान्ति सुव्यवस्था कायम राख्नुपर्छ”, उनले भने ।
बेलारुसको विषयमा छलफल गर्न संरा अमेरिकाका सहायक विदेश सचिव स्टेफन बेइगमले रुस र लुथआनियाको भ्रमण गर्ने तयारी भइरहेको रोयटर्स समाचार संस्थाले बताएको छ । वाशिङ्टनले रुसी हस्तक्षेप रोक्न बेलारुसको चुनावी सङ्कटको शान्तिपूर्ण समाधान खोज्ने बताएको छ ।
संरा अमेरिका र युरोपेली सङ्घले चुनावमा धाँधली भएको भन्दै भत्र्सना गर्दै आएका छन् । संरा अमेरिकी विदेश सचिव माइक पोम्पेओले बिहीबार लुकाशेन्कोलाई विपक्षीसँग संवाद गर्न अन्तर्राष्ट्रिय सहायता स्वीकार गर्न र बेलारुसको सबभन्दा ठूलो छिमेकी देश रुसलाई बेलारुसमा हस्तक्षेप नगर्न भनेका थिए ।
बेइगमको टोलीले बेलारुसमा देखिएको विभाजन समाधान गर्न संरा अमेरिकाले ठुलै हतियार प्रयोग गर्न खोजिरहेको देखिएको छ । तर, लेकाशेन्कोले आफ्नो सरकार र विपक्षी दलबीचको विभाजन समाधान गर्न पश्चिमा देशहरूको मध्यस्थताको प्रस्ताव अस्वीकार गरेका छन् । उनले संरा अमेरिका र युरोपेली सङ्घले आफ्नै समस्यामा बढी ध्यान दिए कल्याण हुने बताए ।
“उनीहरूले आफ्ना समस्या पहिले समाधान गर्न सके राम्रो हुने थियो”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *