भर्खरै :

मौन क्रन्दन – ६, जोरजतन

(१८१६ देखि १८३९ सम्मको नेपाल र नेपालीबारे लुडविग एफ. स्टिलरको पुस्तक ‘मौन क्रन्दन’ (The Silent Cry) को सङ्क्षिप्त अध्ययन)
सरकारका बाध्यताहरू
एकीकरणलाई प्रायः नयाँ राज्यको उदयको रूपमा चित्रण गरिन्छ । तर यो एकीकरण नेपालका गाउँहरूका लागि कस्तो रह्यो, यस विषयमा चर्चा गर्न आवश्यक छ । तलका तथ्यहरूले एकीकरणका चुनौतीको जगमा रहेको नेपाली राजनीतिक जीवनबारे प्रकाश पार्छन्
तथ्य एक ः एकीकरणपूर्वका ससाना राज्यहरू प्रभावकारी आर्थिक एकाइ थिए । सरकार सानो थियो, सञ्चार सुगम थियो र प्रशासन चलाउन धेरै खर्च पर्दैनथ्यो । ससाना राज्य जोडिँदै जाँदा केन्द्र र गाउँबीचको दुरी बढ्दै जान्थ्यो । राज्य र गाउँलेबीच राज्यको कर्मचारी, सुरक्षादल आदि राख्नुपर्ने हुन्थ्यो अर्थात् राज्य सञ्चालनको खर्च पनि बढ्दै जान्थ्यो । यसकारण एकीकरणका कारण प्रशासनिक खर्च बढेको थियो ।
तथ्य दुई ः एकीकरणले जमिन थपिए पनि जमिनको उत्पादकत्व बढेको थिएन । बाँझो जमिन जोत्नेबाहेक उत्पादकत्व बढाउने अर्को उपाय थिएन । फेरि किसानहरूले उपलब्ध उपकरणका भरमा सकेसम्म बढी नै उत्पादन गरिरहेका थिए । तराईको जमिनलाई उत्पादनमा लगाइँदै थियो । तर त्यसबाट प्रतिफल आउन अझै केही वर्ष लाग्थ्यो । त्यसैले पहाडी किसानकै उब्जनी थुपारेर राज्यकोष बनाइएको थियो । राज्यले किसानबाट धेरै लिँदा किसानसँग थोरै उपज रहनु स्वाभाविक थियो । यो यथार्थबाट भाग्न सकिन्नथ्यो ।
तथ्य तीन ः किसानको पक्षमा केही गर्न राज्यले मात्र सक्थ्यो । तर राज्यको चासो त्यतातिर थिएन । सामान्य शब्दमा भन्दा, राज्यले गाउँको सुरक्षाको जिम्मा लिन्थ्यो र किसानबाट तिरोको अपेक्षा गथ्र्यो । यसबाहेक गाउँलाई व्यवस्थित आर्थिक एकाइको रूप दिनुपर्ने कुरा त्यसबेला अर्थपूर्ण मानिँदैनथ्यो । (आज पनि यसो गर्न हम्मेहम्मे पर्दै छ ।) यस्तो विचार सरकारको अवधारणाभित्र पर्दैनथ्यो ।
किसानहरूको अवस्थामा सरकारलाई दोष दिनुभन्दा पहिले यी विषयलाई ध्यान दिनुपर्छ । एकीकरणपछिको नेपाल भुरेटाकुरे राज्यहरूजत्तिको प्रभावकारी आर्थिक एकाइ थिएन । त्यसकारण, एकीकरणपछि किसानहरू आर्थिक थिचोमिचोमा परे । सैनिक अभियानको आर्थिक बोझ बन्द नहुँदासम्म गाउँलेका समस्या घटेनन् । सैद्धान्तिकरूपमा यो समय सन् १८१६ मार्चबाट सुरु भयो । व्यवहारमा त्यसो हुन वर्षौँ लाग्यो ।
दोहन ः एकीकरणपछिको नेपालमा किसानमाथि थिचोमिचोका साथै चर्को दोहन पनि भएको थियो । मुठ्ठीभर मानिसको थैलो भर्न धेरै गाउँलेहरूको शोषण भएको थियो । यसले राज्यकोषमा पनि नोक्सान भएको थियो । यसले किसानहरूको दुःखकष्ट अझ चर्काएको थियो ।
निष्कर्ष
नेपालको एकीकरणको प्रवृत्तिलाई राम्ररी बुझ्ने हो भने एकीकरणसम्बन्धी धेरै भ्रमहरू हट्नेछन् । नेपालको एकीकरण ससाना राज्य र त्यहाँका जनतामाथिको विजयमात्र थिएन । बरु, दुरी र भौगोलिक अवरोधहरूमाथिको विजय पनि थियो । साथै सञ्चारमाथिको विजय पनि थियो । यसकै कठिनाइले पहाडी राज्यहरू विस्तार हुन सकेका थिएनन् । यी विजयलाई कायम गर्न नसक्दा नै नेपाल फेरि टुक्रिन सक्ने थियो । यसलै नयाँ नेपालको भाग्य निर्धारण गर्ने थियो । अठारौँ र उन्नाइसौँ शताब्दीका साधनको भरमा चुस्त सञ्चारको सञ्जाल स्थापना गर्नु, त्यसलाई टिकाउने आर्थिक जोहो गर्नु र त्यसबाट भर्खरै बनेको नेपाल विजित भूभागका जनताका निम्ति हितकारी छ भनी महसुस गराउनु मुख्य चुनौती थियो । हुलाक सेवा र गोर्खाली विकेन्द्रीकृत शासन प्रणालीले केही हदसम्म यस चुनौतीको सामना गरे । यी दुवै नेपालको भूराजनीतिअनुरूप र माटो सुहाउँदा थिए । सन् १८१६ सम्म यिनको मूल्याङ्कन गर्ने समय पनि थिएन । देश लगातार लडाइँमा व्यस्त थियो । देशको समग्र बुद्धिबल सैनिक अभियानमै खर्च भइरहेको थियो । सम्पूर्ण जनतालाई यतैतिर लगाइएको हुनाले यसबाट जन्मेका समस्याहरूको समाधानमा रोक लागिरहेको थियो । सुगौली सन्धिपछि विस्तार अभियान थामियो । दुवै युद्धका कारण आर्थिक बोझ चरम चुलीमा थियो । युद्ध लडेर फर्केका सिपाहीले समस्याको चाङमात्र पाए । अन्तमा, राज्यका अगुवा र जनता यस सङ्घर्षमा हेलिए । लक्ष्य स्पष्ट थियो । पहाड र तराईका जनताले एकताको भावना महसुस गर्नुपर्ने विषय प्राथमिकतामा राख्नुपथ्र्यो । सैनिक खर्च घटाएर गाउँको आर्थिकस्तर उकास्नुपथ्र्यो र राज्यका नीतिनियमलाई गाउँको उत्पादकत्व बढाउने गरी सञ्चार व्यवस्थाको उपयोग गर्नुपथ्र्यो । स्थितिलाई राम्ररी केलाइयो । यही आवश्यकताका आधारमा युद्धपछिको सरकारलाई नियाल्न आवश्यक छ ।

सुगौली सन्धिको चित्र


सन् १८१६ अप्रिल १७, दिउँसोको तीन बजेको थियो । गजराज मिश्र र चन्द्रशेखर उपाध्यायलाई अघि लाएर लेफ्टिनेन्ट जेपी बोइलिउ राजदरबार जाने बाटोमा रवाफिला पाइला चाल्दै थिए । झ्यालका पर्दाहरूबाट पसेर दिउँसोको घामले राजदरबारको बैठक कक्षलाई चहकिलो बनाउँदै थियो । कोठामा पस्नेबित्तिकै बोइलिउ हच्के र अदबमा आए । बैठकमा राजा गीर्वाणयुद्ध विक्रम शाह, प्रधानमन्त्री भीमसेन थापा, काजी बखतावरसिंह थापा र अन्य भारदार थिए । शिष्टाचारका कुराकानी भए । बोइलिउ औपचारिकरूपमा नेपालका बेलायती प्रतिनिधि वा रेजिडेन्ट बने ।
सामान्य कुराकानीको क्रममा भीमसेन थापा देशकै सबैभन्दा शक्तिशाली व्यक्ति रहेको निक्र्योलमा बोइलिउ पुगे । भीमसेन थापाको मन र बुद्धि पढ्नु र त्यसअनुसार भारतस्थित गभर्नर जनरललाई रिपोर्ट गर्नु नै उनको काम थियो । उनको वर्णनअनुसार भीमसेन थापा अग्ला र दुब्ला थिए । अनुहार रवाफिलो थियो । आँखा तेजिला थिए । कुराकानीकै सिलसिलामा बोइलिउले नेपालले सन्धिको पालना गरेमा बेलायत सरकार सन्तुष्ट हुने र गभर्नर जनरल अलि खुकुलो बन्ने बताए । भीमसेन थापाले नम्रतापूर्वक उनका कुरा सुने तर उनको मनमा के खेलिरहेको छ भन्ने कुरा अनुहारमा झल्किएन । उत्तिकै सौजन्यका साथ थापाले बोइलिउलाई बिदा गरे । (बोइलिउपछि एडवर्ड गार्डनर रेजिडेन्ट बने । तर, उनले पनि भीमसेन थापाको मन छाम्न सकेनन् ।) सो दरबारी बैठकमा भीमसेन थापा एक हारेको देशका प्रधानमन्त्री थिए । उनलाई सत्ताबाट नहटाउनुपर्ने कुनै कारण थिएन । तैपनि, उनी पूरै जोसजाँगरसहित प्रस्तुत भइरहेका थिए । उनलाई कुन ठाउँमा नत्थी लगाउने भन्ने कुरा उनका कुनै पनि विरोधीले मेसो पाउन सकिरहेका थिएनन् र यही क्रम २ वर्षसम्म चलिरह्यो ।
भीमसेन थापाको शक्ति
युद्धको अवधि र भीमसेन थापापछिको अवधि नेपाली इतिहासमा उथलपुथलकारी थिए र तिनको निकै चर्चा गरिन्छ । तर, बीचको अवधिलाई इतिहासकारहरूले त्यति नछोएकाले यहाँ यस अवधिलाई ‘मौनकाल’ शब्दले जनाइयो । यस कालमा भीमसेन थापाको शक्तिले नेपाली इतिहासमा ठूलो भूमिका खेलेको पाइन्छ । तर, उनी बोइलिउले भनेझैँ सर्वेसर्वा थिए वा भारदारहरूबीच उनका विरोधीहरू पनि थिए भन्ने विषयमा घोत्लिनुपर्छ ।
१९ औँ शताब्दीको आरम्भको नेपाली प्रशासनबारे रणबहादुर शाहको १७९९ को तामापत्रले धेरै कुरा भन्छ । राजाको नजिकका सहायकलाई चौतरिया भनिन्थ्यो । भारदारी सभाको सल्लाहमा चौतरियाले काजीहरू नियुक्त गर्थे । काजीहरूले केन्द्रीय प्रशासकको काम गर्थे । जम्मा ४ जना काजी हुन्थे । काजीको काम कर्तव्यबारे तामापत्रमा वर्णन गरिएको छ । ‘मनमा कपट नराखी सबै मिलेर दरबारमा कचहरी गर्नु, अन्त जहाँ पायो त्यहाँ कुरा गर्दै नहिँड्नु, घरमा कुनै काम नपरी वा बिरामी नभई दरबारी छलफल नछुटाउनु, कुनै काम गर्नुअघि दरबारसँग सल्लाह लिनु, सेनाको विषयमा सैनिक अधिकारीसँग सल्लाह गर्नु, अन्य विषयमा अरूसँग सल्लाह लिनु, बुद्धिमानलाई कचहरीमा राख्नु, काममा लगाउनु, छिनोफानो भएको काम तुरुन्तै टुङ्ग्याउनु, देशको कल्याण हुने र आम्दानी बढ्ने कुरा छ भने साना जातको कुरा पनि सुन्नु’ यसरी काजीहरूको कर्तव्यमा तोकिएको थियो । तामापत्रमा काजीलाई नायब र चौतरियामातहत काम गर्न भनिएको छ । काजीका यी कर्तव्य नौला भने थिएनन् । यी कर्तव्य गोर्खाली प्रशासनका अङ्ग थिए ।
तामापत्र जारी गरेपछि सन् १८०० मा गीर्वाणयुद्धलाई राजपाठ सुम्पेर रणबहादुर शाह बनारस गए । १८०४ मा नेपाल फर्केर रणबहादुर शाह राजापछाडिको शक्ति बने र भीमसेन थापालाई आफ्नो सल्लाहकार बनाए । दुई वर्षपछि उनले आफूलाई मुख्तियार घोषित गरे । यस पदको दायरा स्पष्ट थिएन । तर, मुख्तियार हुनुभन्दा अगाडि नै उनले बासठ्ठी हरण जस्तो कदम चालिसकेका थिए । मुख्तियार बनेको २ महिनापछि उनको हत्या भयो । त्यसपछि सो पद भीमसेन थापालाई दिइएको चित्तरञ्जन नेपालीको मत छ । भीमसेन थापा १८०४ को वसन्त याममा काजी बनेका थिए र १८११ मा उनलाई जनरल नियुक्त गरिएको थियो । जनरल शब्दले उनका कामकर्तव्यबारे केही बोल्दैन । १८०६–१८१४ तिर आएर नेपालमा बेलायती दर्जाहरू प्रयोग हुन थालेको थियो अर्थात् अङ्ग्रेजहरूसँगको युद्धको तयारीको क्रममा यसो गरिएको थियो । पुराना काजी, सरदार, सुबेदारजस्ता दर्जाका अधिकारीले सीधै नयाँ अङ्ग्रेजी दर्जा पाउँदैनथे । फेरि नेपाली दर्जा र अङ्ग्रेजी दर्जाबीच कुनै बराबरी पनि थिएन । भीमसेन थापाको कार्यकालभरि नै यिनमा तादात्म्य थिएन ।
भीमसेन थापालाई १८११ मा सम्पूर्ण शक्ति सुम्पिएको थियो भनी मान्ने हो भने पनि उनको शक्ति सीमित थियो । यसका दुइटा बलिया प्रमाण छन् । पहिलो, नेपाली दरबारको परम्पराअनुसार राजाले समेत सल्लाह नगरी कुनै महत्वपूर्ण काम गर्नसक्दैनथे । कहिलेकाहीँ त्यसो गरिँदा अशान्ति र अन्योल उत्पन्न भएको थियो । बहादुर शाहले १७७८–७९ को हिउँदमा सैनिक अभियान चाले, विजयी पनि भए तर पदबाट हटाइए । रणबहादुर शाहको गद्दीत्याग र बिर्ताहरण पनि यस्तै निर्णय थिए । दोस्रो, भीमसेन थापा उमेरले काँचै थिए, राजखलकसँग बाक्लो सम्बन्ध थिएन, कुनै सैनिक कमान्ड सम्हालेको अनुभव थिएन । उनीजस्तो चलाख मान्छे कसैको सरसल्लाहबेगर निर्णय लिएर राजपरिवार र भारदारहरूबाट एक्लिन सक्दैनथ्यो । फेरि उनीजस्तो सिपालु राजनेताले उच्चपदस्थहरूलाई मनाउन सक्ने क्षमता हुँदाहुँदै आदेश जारी गर्न आवश्यक पनि थिएन । उनको नियुक्तिको लालमोहरमा उनलाई धेरै अधिकार दिइएको भए पनि उनले जस्तै सहज समयमा पनि दरबारसँग सल्लाह नगरी तिनको प्रयोग गर्न परम्परा र राजनीतिक सुझबुझले छेक्यो । त्यसैले दरबारसमेत तनावमा रहेको बेला भीमसेन थापाले चाहेरै पनि आफ्नो निर्णय थोपर्न नसक्ने देखिन्छ ।
नेपाल–कम्पनी युद्धसम्ममा राजा हुर्किसकेका थिए । यसले गर्दा भारदारी शक्ति संरचनामा ठूलो परिवर्तन आयो । राजाले जसको पनि सल्लाह लिनसक्थे । भीमसेन थापाले चाहेर पनि यसमा रोकतोक लगाउन सक्दैनथे । उनले कि त भारदारी सभाको राय मान्नुपथ्र्यो अथवा विरोधको तारो बन्नुपथ्र्यो । यी दुवै स्थितिमा उनीसँग सम्पूर्ण शक्ति रहेको भनाइ पुष्टि हुन्न । युद्धलगत्तै भीमसेन थापा असुरक्षित बनेका थिए । १८१४ को भारदारी सभाले युद्धको पक्षमा मत दिए तापनि अनेक प्रमुख भारदारले विमति राखेका थिए र युद्धको वास्तविक निर्णय भीमसेन थापाकै अगुवाइमा लिइएको थियो । युद्ध हारेकै कारण उनले यसको जस÷अपजस भोग्नुपर्ने थियो । यसका लागि उनीसँग राजनीतिक सुझबुझबाहेक केही थिएन ।
१८१६ को नेपाल–चीन सम्बन्ध
लिओ रोजले नेपालको परम्परागत परराष्ट्र नीतिलाई भारत र चीनबीचको सन्तुलनमा आधारित भनेका छन् । खासगरी १८१६ तिर सुगौली सन्धिमा गुमेको भूभाग फिर्ता लिन र अङ्ग्रेज रेजिडेन्टलाई काठमाडौँबाट हटाउन चीनको सहायता पाउने नेपालको अपेक्षा थियो । अङ्ग्रेज अघि बढ्न नचाहने हुनाले नेपालले यस मामिलामा थोरैमात्र सफलता हात पार्ने थियो भन्ने लिओको निष्कर्ष छ । उनले नेपालको यस्तो कदमलाई चलाखी भनेका छन् । तर, यो नेपाल दरबारसामु तेर्सिएको सङ्कट थियो र यस सङ्कटको समाधान निकाल्नु थियो । यो आफूलाई दरबारसामु फेरि स्थापित गर्ने भीमसेन थापाको नेतृत्व क्षमताको परीक्षा पनि थियो । यससम्बन्धी हजारौँ पाना भरिने दस्तावेज पाइन्छन् । ती सबैको मुख्य सार केही तथ्यमा निकाल्न सकिन्छ ।

तथ्य एक ः युद्धको बादल मडारिरहेकै बेलादेखि नेपालले तिब्बत र चीनसँग आर्थिक र हातहतियार सहयोग मागी पत्र लेखेको थियो । दलाई लामाले नम्रतापूर्वक सहयोग दिन अस्वीकार गरे । ल्हासास्थित चिनियाँ अम्बाले पत्र चीन सम्राटकहाँ पठाएनन् । चिनियाँ सम्राट संसारकै उच्च बादशाह हुनाले कसैले चीनलाई बिगार गर्न नसक्ने तर्क दिँदै अम्बाहरूले नेपाललाई पत्र लेखेका थिए ।
तथ्य दुई ः नेपालमाथिको हमला तिब्बतप्रति लक्षित भएको र बेलायतीहरूले तिब्बतसम्म पुग्ने बाटो दिएमा नेपाललाई प्रशस्त धन दिने लोभ देखाएको तर नेपालले बेलायतीहरूलाई तिब्बत पस्ने ढोका रोकिरहेको भनी नेपालले पत्रमा लेखेको थियो । चिनियाँ अम्बाले यसमा शङ्का गर्दै जवाफ लेखे । अङ्ग्रेजहरूले तिब्बत नताकेको उनीहरूको तर्क थियो ।
तथ्य तीन ः नेपालले कि त आफूलाई सहयोग गर्न नत्र बेलायती प्रभुत्व स्वीकार्न अनुमति दिन र चिनियाँ बादशाहप्रतिको झुकावबाट मुक्त गर्न खुलारूपमा कुरा राख्यो ।
तथ्य चार ः एउटा ठूलो चिनियाँ सेना तिब्बत आयो । नेपाली सिमानामा स्थिति बुझ्न सुराकीहरू पठाइए । तर, यो सेना नेपालको सहयोगका लागि आएको होइन भनी अम्बाहरूले पत्र लेखे । नेपाललाई चिनियाँ बादशाहप्रति झुकाव नराख्न भन्ने समूहलाई खतम गर्न सेना त्यहाँ आएको पत्रमा बताइएको थियो । साथै त्यो समूह अङ्ग्रेजहरूको हो कि भनी प्रश्न पनि गरिएको थियो ।
यसरी दक्षिणमा अङ्ग्रेजहरू थिए । उत्तरमा चिनियाँ सेना थिए । नेपालसँग केही विकल्प थिए ।
१. नेपाललाई सुगौलीको पीडाबाट निकाल्न चिनियाँ सेनालाई डाक्ने । खासगरी मकवानपुरको हारले नेपाली आत्मसम्मानमा ठेस पु¥याएको देख्ने भारदारहरूको यस्तो विचार थियो ।
२. अङ्ग्रेजहरूको आगमनले चीनसँगको नेपालको पुरानो सम्बन्ध बिग्रने छैन भनी विश्वास दिलाउने । तिब्बतमा अङ्ग्रेजहरूको चासोको विषयमा चिनियाँहरूलाई अङ्ग्रेजहरूबाटै बुझ्न लगाउने ।
३. चिनियाँ र अङ्ग्रेजहरूलाई बिस्तारै यथार्थ बुझ्न दिने । अङ्ग्रेजहरू नेपालमा पसेरै छोड्ने तर कब्जा गरी नहाल्ने चिनियाँहरूले बुझे । यसबीच नेपालसँग धेरै पक्षहरू जोडिएको बुझ्दा अङ्ग्रेजहरूलाई घाटा थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *