भर्खरै :

षड्यन्त्रमा सत्य र न्यायको कुरा गरिँदैन

नेपाल मजदुर किसान पार्टी सिद्धान्त र विचारको राजनीति गर्छ, राजनीति गरिरहेको छ । देश र जनताको पक्षमा सङ्घर्षरत नेमकिपा व्यक्तिहत्यामा विश्वास गर्दैन । जातीय, क्षेत्रीय र सङ्कीर्ण राजनीतिको विरोध झैँ नेमकिपा व्यक्तिहत्याको पनि विरोध गर्छ । नेमकिपाले कहिले पनि दलगत र व्यक्तिगत स्वार्थमा राजनीति गरेन, गरिरहेको छैन । नेमकिपाले उठाएका सबै माग देश र जनतासित सम्बन्धित छन् । स्थापनाकालदेखि नै नेमकिपाले देशका सामन्त, शोषक, प्रतिक्रियावादी, जालसाजी, भ्रष्टाचारी, कालाबजारी, कमिसनखोर, सामाजिक अपराधीहरूको विरोध गरिरहेको हो । देशको विकास र बहुमत जनताको सेवा गर्नुबाहेक नेमकिपाको कुनै स्वार्थ छैन । नेमकिपाले प्रतिक्रियावादीहरूको विरोधमा जनतालाई सचेत र सङ्गठित पार्ने काम गरिरहेको हुनाले नै नेमकिपा उनीहरूको नजरमा आँखाको कसिङ्गर बनेको हो ।
प्रतिक्रियावादी शासकहरू आफ्नो सत्ता टिकाउन, आफ्ना विपक्षीहरूलाई दमन गर्न र उठ्न नदिन अनेक षड्यन्त्र रच्छन्, रचिरहेका छन्, रचिरहने छन् । कुनै दलको गतिविधि रोक्न, हतोत्साही पार्न प्रतिक्रियावादी शासकहरू सुरूमा दमन गर्छन, जुधाउने प्रयत्न गर्छन्, फुटाउन खोज्छन् र पार्टीलाई ध्वस्त पार्न सकिएन भने अनेक षड्यन्त्र रच्छन् । षड्यन्त्र गरेर कुनै दल ध्वस्त गर्न खोज्दा, नेता तथा कार्यकर्तालाई जालसाजी मुद्दा राखेर आजीवन जेलमा कोचेर अराजनीतिक, अमानवीय र जनद्रोही काम गर्दा पक्कै पनि दलका नेता, कार्यकर्ता तथा जनता चिधिन्छन् । तिनीहरू सङ्घर्षमा उत्रन्छन् । आन्दोलित हुन्छन् । यसले जनतालाई सचेत र सङ्गठित गर्छ । अन्ततः प्रतिक्रियावादी शासकहरूको बदनाम हुन्छ र उनीहरू पतन हुन्छन् । पञ्चायती व्यवस्था अन्त्य हुनुको एउटा कारण नेमकिपालाई समूल नष्ट गर्न पञ्चायती राज्यस्तरबाट रचिएको ‘भक्तपुर काण्ड’ हो ।
षड्यन्त्रको राजनीतिमा बुद्धि र विवेकको कुरा हुँदैन । सत्य र न्यायको कुरा गरिँदैन । षड्यन्त्रको जालमा झूटै झूटको बयान हुन्छ । असत्य या गलत कुराले छोपेको हुन्छ । जसरी भए पनि दबाउने षड्यन्त्रको गन्ध रहेको हुन्छ । त्यस्तो षड्यन्त्रको राजनीतिमा निर्दोष नेता, कार्यकर्ता र समाजसेवीहरूलाई फसाइएको हुन्छ । यथार्थ कुरा र घटना ढाकेर अति बधाइचढाइ गरिएको हुन्छ । नक्कली नाटकको मञ्चन गरिएको हुन्छ । सत्य कुरालाई ढाकछोप गरिएको हुन्छ । हो, त्यस्तै षड्यन्त्रका कारण षड्यन्त्रकारीहरू फसेका हुन्छन्, षड्यन्त्रकै कारण शासकहरू पतन भएका छन् । ‘भक्तपुर काण्ड’ राज्यस्तरबाट रचिएको एक षड्यन्त्र थियो । आफूले खनेको षड्यन्त्रमा पञ्चायती शासकहरू फसे र निरङकुश पञ्चायती व्यवस्था अन्त्य भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *