भर्खरै :

कोभिडको नाममा सामाजिक विभेद

“ट्रिङ … ट्रिङ … ट्रिङ”
“मोबाइलको घण्टीले मेरो निद्रा खुल्यो । भित्तेघडी हेरेँ, रातको १ बजेर २० मिनेट भएको रहेछ । अपरिचित नम्बरबाट फोन आएकोले आपत परेर फोन गरेको होला भन्ने लाग्यो, उठाएँ ।
“हजुर भन्नुस् । केही समस्या प¥यो कि ?”
फोनमा एक जना पुरुष रोइरहेको आवाज सुनेँ ।
“हजुर को बोल्नुभयो ? मलाई नै फोन गर्नुभएको हो ?”
केही क्षण रोएपछि आवाज आयो, “हजुर वडाध्यक्षज्यू होइन र ?”
“हो । केही समस्या भयो र ? यति राति फोन गर्नुभएको छ ।”
“म हजुरकै वडावासी हुँ, नयाँ बस्तीमा बस्छु । म बर्बाद भएँ, खत्तमै भयो ।” फोनमा फेरि रोएको आवाज सुनेँ ।
“किन र ? के भयो ? बताउनुस् त !”
“म काम गर्ने कम्पनीले हामी सबैको कोरोना टेस्ट गराएको थियो । हिजो साँझ फोन आयो, मेरो टेस्टमा पोजेटिभ आएकोले परिवारबाट अलग्ग बस्नू रे ¤ कुनै पनि बखत एम्बुलेन्स र प्रहरी आएर तपाईँलाई आइसोलेसनमा राखिन्छ, सामानहरू तयारी गर्नू भन्ने खबर आयो । म त छानाबाट खसेझैँ भएँ । सुत्नै सकिनँ । त्यसैले तपार्इँलाई फोन गरेको !”
मैले उहाँको घर रहेको क्षेत्र र पारिवारिक पृष्ठभूमिबारे जानकारी लिएँ ।
“तपाईँलाई ज्वरो आएको छ कि ? रुघाखोकी या पखालाको समस्या छ ?”
“मलाई केही भएको छैन । मेरो स्वास्थ्यमा अहिलेसम्म कुनै गडबडी देखिएको छैन । तर, मानसिक तनाव भने निकै बढेको छ ।”
“तनाव नलिनुस् ! धैर्य गर्नुस् ।”
“मलाई कोरोना लागेको वरपरका छिमेकी र टाढाका आफन्तले समेत थाहा पाउने भए ¤ सबैले म र मेरो परिवारलाई अछुतको जस्तै व्यवहार गर्ने भए ! मेरा छोराछोरीलाई स्कूलका साथी तथा शिक्षकहरूले हेला गर्ने भए !”
“भोलि बिहानै तपाईँहरूले पुलिस बोलाएर मेरो घर र वरिपरिको बस्ती सिल गर्ने होला ! मैले गर्दा टोलवासीहरू समेत घरबाट बाहिर निस्कन नपाउने भए भनेर मलाई धारे हात लगाउनेहरू पक्का हुन्छन्!¤ मेरो घरमा खाद्यान्न, पानी र खाना पकाउने ग्यास सकियो भने कसले पु¥याइदिन्छ ? हामी त समाजमा एक्लिने भयौँ !”
फोनमा मैले केही बोल्न खोजेँ तर उतातिरको एकोहोरो बोली रोकिएको थिएन । मनको बह पूरै पोखियोस् भन्ने लाग्यो र मौनधारण गर्दै फोनमा आवाज सुनिमात्रै रहेँ ।
“बिन्ती छ वडाध्यक्षज्यू, मलाई कसैले नदेख्नेगरी अस्पताल जाने व्यवस्था गरिदिनुस् ¤ पुलिस ल्याएर घरमा ताला मार्ने काम नगर्नुहोला ! कोरोना सङ्क्रमित घर भनेर पम्प्लेट पनि नटाँस्नुहोला ! घरका सबैजना आत्तिएका छन् !”
मैले फोनमार्फत उनलाई धेरै कुरा सम्झाएँ र ढुक्क हुन आग्रह पनि गरेँ । अनि सोचेँ, कोभिड – १९ रोग उपचार गर्दा निको हुने रोग हो भन्ने कुरा थाहा पाउँदापाउँदै पनि समाजले रोगीप्रति हेर्ने दृष्टिकोणमा किन फरक भएको ? कोभिड रोगको खोपको विषयमा विश्वभर नै अनुसन्धानहरू भइरहेका छन्, केही देशले त मानव स्वास्थ्यमा समेत परीक्षण गरी बजारमा ल्याउने तयारी गरिरहेका छन् । शिक्षित र आधुनिक समाज भएर पनि रोगीलाई हेला गरिन्छ भने पहिलेका दिनहरूमा बिफर, क्षयरोग, जन्डिस, कालाजार, हात्तिपाइले रोग लागेका बिरामीहरूलाई त्यतिबेलाको समाजले कति तिरष्कार गथ्र्यो होला ?
प्रहरीसँग र चिकित्सकसँग समन्वय गरी बिहान ४ नबज्दै उनलाई एम्बुलेन्समार्फत आइसोलेसन वार्डमा लगियो । सङ्क्रमितको घरलाई मात्र ताला मारियो । परिवारका सदस्यहरूलाई धैर्य गरी सावधानी अपनाउन आग्रह गरियो । यसक्रममा सँगै आएका प्रहरीसँग छोटो कुराकानी गर्दा प्रहरीलाई पनि त्यही पीडा रहेछ । जिल्लाको प्रहरी परिसरमा कार्यरत सहकर्मीहरूमा कोरोना पोजेटिभ केस भेटियो भनेपछि सर्वसाधारण जनताले सबै प्रहरीलाई शङ्कालु नजरले हेर्ने गरेको उनको भनाइ थियो । उनी भन्दै थिए, “कोठा छोड्न घरभेटीले रोइकराइ गरेपछि अहिले एउटा स्कूल भवनमा परिवारसहित बसेको छु । स–साना नानीहरू पढ्ने कोठा भएकोले पिसाबको असाध्यै गन्ध आउँछ । त्यस्तो कोठामा दिन र रात बिताउनु पर्दा श्रीमती र बच्चाबच्चीको हाल के भयो होला, सोच्नुस् त ¤ श्रीमतीलाई मानसिक रोग लाग्ला भन्ने पीर छ । यस्तो विषम् अवस्थामा श्रीमतीलाई उपचार गर्न कहाँ लग्ने ? ड्यूटी छोडेर जानु न अनुशासनभित्र पर्छ, न त नैतिकताले नै दिन्छ ?”
प्रहरीको हृदय छुने कुरा सुनेर घर पुगेँ । फेसबुक खोल्दा एकजना नर्सले त्यस्तै पीडादायक स्टाटस लेखेको देखेँ । स्टाटसमा लेखिएको थियो, “हे समाजका बुज्रुकहरू हो, कोरोना पीडितकै उपचारमा रातदिन खटेर लागियो, कैयौँलाई निको पारी घर पठाइयो । सासु ससुराले त रोगको महामारी फैलिएको अवस्थामा अस्पताल नजानू भन्नुभएको थियो । श्रीमान्ले पनि दूधे बालकलाई समेत सङ्क्रमण फैलिने खतरा भएकोले अहिलेलाई जागीर छोड्न सुझाउनुुभएको थियो । समाजलाई स्वस्थ राख्नुपर्छ भन्ने पवित्र भावनाले घर परिवार र दूधे बालकको समेत वास्ता नगरी आप्mनो कर्तव्य पालनामा निरन्तर खटियो । अहिले मलाई कोभिड – १९ रोग देखिएको छ । अस्पतालमै उपचारको क्रममा छु । धन्न, परिवारका सबै सदस्यहरूलाई परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको छ । तर, पनि वरपरका छिमेकीहरूले सासु ससुरा र श्रीमान्लाई हेला गरेको र आफन्तले फोन समेत उठाउन अप्ठेरो मानेको सुन्दा पीडा हुन्छ । सामाजिक अपमान सहनु निश्चय पनि सजिलो छैन । विभेदको शिकार बन्न परिएला भनेर डाक्टर, नर्स र अरू स्वास्थ्यकर्मीहरू अस्पताल गएनन् र उपचार गरेनन् भने बिरामीको हालत के होला ? सडकमा लास फालिए भने के गर्ने ? तब यो समाजको अवस्था के होला ?”
फेसबुुकमा सामाजिक विभेदविरुद्ध नर्सको आक्रोशपूर्ण शब्दवाणको प्रहारले नराम्ररी झस्किएँ । यिनै कुरा जनप्रतिनिधि साथीहरूबीच अनलाइन च्याटमार्फत छलफल गर्ने प्रयत्न गरेँ । छलफलको क्रममा एकजना जनप्रतिनिधि साथीले आप्mनो पीडा पोखिहाले, “आप्mनै घरमा समस्या देखिन थाल्यो, साथी ¤ सङ्कटको समयमा रोगको सङ्क्रमण न्यूनीकरणका लागि टोलटोलमा जनचेतना जगाउन गइयो, सङ्क्रमित वडावासीलाई सुरक्षित तरिकाले अस्पताल पठाई घर सिल गरियो । जोखिम वर्गमा आपूm पनि परिन्छ भन्ने थाहा पाएर नै हामी सचेततापूर्वक लागिरहेका छौँ । कामको सिलसिलामा कुनै पनि बखत आफैँ क्वारेन्टिन र आइसोलेसनमा बस्नुपर्ने हुनसक्छ भन्ने कुरा स्पष्टै छ र त्यसका लागि तयारै भएर बसेका हौँ नि, होइन र ? तर के गर्ने, घर पुग्दा परिवारबाटै अपमानित हुन बाध्य छु । जहाँतहीँ घुमेर आएको मान्छे घरमा नपस्नू ? हामीलाई रोग लाग्यो भने क्षतिपूर्ति कसले दिन्छ ? हामीलाई बदनाम गर्न खोजेको हो ?” यस्तै यस्तै शब्दवाण भाइबुहारीबाट दैनिक सुन्न परेको छ, साथी !”
जनप्रतिनिधि साथीको भनाइले मन भतभती पोल्यो । सोचेँ, “समाज कति स्वार्थी बनिसकेको रहेछ ? सङ्क्रमित व्यक्ति, उसको परिवार, सङ्क्रमितको उपचार गर्ने स्वास्थ्यकर्मी, समाजको शान्ति सुरक्षाको जिम्मा लिने सुरक्षाकर्मी र सामाजिक उत्तरदायित्व वहन गर्ने जनप्रतिनिधि, सबैजना सामाजिक विभेदको शिकार बनेका छन् । अहिलेको आधुनिक समाजले लेख्न र पढ्न त सिकायो तर सामाजिक व्यवहार गर्न चुक्दै पो गएको छ कि ! प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा अधिकार खोज्ने तर दायित्व र कर्तव्यबारे चटक्कै भुल्ने । पुँजीवादर अझ भनौँ नवउदारवादी अर्थनीतिले समाजलाई साँच्चिकै स्वार्थी बनाएको रहेछ, आत्मकेन्द्रित र नाफाकेन्द्रित बनाएको रहेछ !”
विभिन्न देशमा कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिरहेको तथ्याङ्क अध्ययन गर्दै सोचेँ, अमेरिका, ब्राजिल र त्यसपछि भारतजस्ता पुँजीवाद देशहरूमा कोरोना सङ्क्रमण लाखौँको सङ्ख्यामा पुगेको त्यसै होइन रहेछ । पुँजीवादको घृणित चरित्र त कोरोनाले नै उदाङ्गो पारेको रहेछ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *