भर्खरै :

तिलागुफा नगरपालिकाको छोटो परिचय

कर्णाली प्रदेशमा डोल्पा, हुम्ला, मुगु, जुम्ला, कालीकोट, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान र रूकुम पश्चिम गरी १० जिल्ला पर्दछन् । यीमध्ये एक कालीकोट जिल्लामा तिलागुफा, खाँडाचक्र र रास्कोट गरी तीन वटा नगरपािलका छन् भने महावै, शुभकालीका, नरहरिनाथ, सान्नी त्रिवेणी, पचलझरना र पलाँता गरी ६ वटा गाउँपालिकासहित नौ वटा स्थानीय तह छन् ।
तिलागुफा नगरपालिका ः
तिलागुफा नगरपालिका २६२.५६ वर्ग किमीमा फैलिएको छ । विगतमा साविकको फोइमहादेव गाविस, राँचुली गाविस, जुबिथा गाविस, छाप्रे गाविस र चिल्खाया गाविसको ९ वटा वडामध्ये ८ वटा वडागरी झण्डै पाँचवटा गाविस गाभेर तिलागुफा नगरपालिकाको स्थापना २०७३ फागनु २७ गतेका दिन भएको हो । यस नगरपालिका ११ वटा वडामा बाँडिएको छ । यस नगरपालिकाको पूर्वमा जाजरकोट, पश्चिममा पचलझरना गाउँपालिका र खाँडाचक्र नगरपालिका, उत्तरमा जुम्ला र कालीकोट जिल्लाको पलाँता गाउँपालिका र दक्षिणमा महावै गाउँपालिका रहेका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय तह पुनःसंरचना समितिले निर्णय गरी मन्त्रालयले स्वीकृत गर्दाको बखत तिलागुफा नगरपालिकाको जनसङ्ख्या २०६८ सालको जनगणनाअनुसार १५,७६६ थियो ।
यस नगरपालिकाले प्राकृतिक साधन–स्रोतले सम्पन्न नगरपालिका मानिन्छ । यहाँ पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण ठाउँहरूमध्ये तिलागुफा, पुगेल्नीमाई, फुलबारी पाटन, त्रिवेणी, बासुधारा, स्याउल्या, सुन्ढुस्की, सारे आटी, डौँठ्या, पाथीभरा, साँदी, निकाल्कोट, टाम्कालगायतका ठाउँहरूको मौलिक महत्व छ । यी ठाउँहरू विविधखाले पर्यटकीय विशेषताले ओतप्रोत छन् ।
यस नगरपालिकाभित्र प्रस्तावित पर्यटकीय विमानस्थलको सवाल दूरगामी एवम् सर्वाधिक महत्वको सवाल मानिएको छ । यस नगरपालिकाको वडा नं. ९ र ११ को बीचमा पर्ने ‘मालिकाकाँध भट्टारी’ पर्यटकीय विमानस्थलका निम्ति उपयुक्त भूबनोटसहितको सम्भावनायुक्त ठाउँ हो । यसको लागि २०५७ असार २० गतेका दिन सम्पन्न पाँचौ तिलागुफा नगरसभाबाट सर्वसम्मतरूपले पारित भएको थियो । त्यसरी नै २०७५ मंसिर १० गतेका दिन सम्पन्न दोस्रो कालीकोट जिल्ला सभाबाट पनि सर्वसम्मतरूपले पारित भएको थियो । यद्यपि, कर्णाली प्रदेशसभाबाट पारित गरी नागरिक उड्डयन मन्त्रालयमा पठाउने काम भने अझै बाँकी छ । त्यो काम हुनेबित्तिकै विस्तृत सर्भेको दिशामा जाने थियो । यसतर्फ कर्णाली प्रदेशसभा र कर्णाली प्रदेश सरकारको यथोचित ध्यान पुगेको पाइँदैन ।
यसरी पर्यटकीय विमानस्थलको प्रस्ताव बिनाविलम्ब कार्यान्वयन भएको भए, त्यसले कर्णाली जीवनमै महत्वपवूर्ण उपलब्धिहरू हासिल हुनेथिए । यसले यस नगर क्षेत्रभित्रका पर्यटकीय स्थलहरूले पर्यटन व्यवसाय प्रवद्र्धनको दिशामा मात्र योगदान पुग्ने नभइ ‘रारा पर्यटन’ मा समेत निकै टेवा पुग्ने थियो । यसो भएको खण्डमा रोजगारीका अवसरहरू पनि सिर्जना हुनेथियो । यसका निम्ति पर्यटन व्यवसायी एवम् पर्यटन विज्ञहरूको उचित ध्यान जानुपर्ने आवश्यकता छ ।
यस नगरपालिका स्याउ, सिमी र आलुको लागि कालीकोट जिल्लाकै प्रसिद्ध मानिन्छ । नेपाल सरकारको आ.व. २०७०÷७१ देखि २०७३÷७४ सम्म सञ्चालित एप्पल मिसन अर्थात् स्याउ व्यवसाय वृद्धि अभियान यस नगरपालिकामा प्रभावकारीरूपले सम्पन्न भएको थियो । जसको परिणामस्वरूप यस नगरपालिकाले स्याउ खेतीमा आफ्नो छुट्टै पहिचान बनाएको छ ।
प्राकृतिक स्रोत–साधनले सम्पन्न यस नगरपालिका क्षेत्र रमाइला–घमाइला पाखापखेरा, ठूल–ठूला बुकी पाटनहरू र पशु चराउने चरणक्षेत्रहरू प्रशस्त भएकोले यहाँ व्यावसायिकरूपमा गाई, भैँसी तथा भेडा–बाख्रा पालनको राम्रो सम्भावना छ ।
यहाँ ठूलो वन क्षेत्र भएकोले विभिन्न प्रजातिका बोट–विरूवाहरू प्रशस्त पाइन्छन् । देवदारजस्तो महत्वपूर्ण दूर्लभ काठ पनि यही नगर क्षेत्रमा पाइन्छ । यस नगरपालिकाको वडा नं. १, २ र ९ मा प्रशस्त देवदार पाइन्छ । उक्त काठको संरक्षण र विस्तारको लागि यस नगरपालिका क्षेत्रमा केही नर्सरीधनीले ‘देवदारको विरूवा’ उत्पादन गरी विद्यालय र मन्दिरको प्राङ्गण (परिसर) मा विरूवा रोप्ने र दर्ता जग्गामा विरूवा रोपण गरी निजी वन दर्ता गर्ने र देवदार काठको महत्व उजिल्याउने एक प्रकारको अभियान नै अघि बढाइरहेका छन् ।
यस नगरपालिका क्षेत्रभित्रका विभिन्न ठाउँहरूमा विभिन्न प्रकारका जडिबुटीहरू पाइन्छन् । जस्तै ः पाँच औँले, जिम्मु, रूगासाग, पाटनीचुक, गधाइनु, बायाजडी, मौराभुलो, ग्वाँलकाँक्री, वनलसुन, पाखनभेद, पोक्चाल्नु, चिराइतो, रातो च्याउ, झ्याउ, धनेरी, ताम्पाते, घोडा टाबे्र, घोडा मरिच, पुदिना, फाँत्तापान्या, थकाईलो, सिरू, बजो, पणारा, सतुवा, खिँरौँलो, बन्चुत्या, कान्छी, गोरूतितो, तितेपाती, सिस्नु, लौठो, अल्लो, धतुरो, चरिमालो, घ्यू¥या, जरूङ्गो आदि । यसरी यहाँको धरातलीय वास्तविकताको अध्ययन–अनुसन्धान गर्ने हो भने त्यस नगरपालिकालाई जडिबुटीको भण्डार पनि भन्न सकिन्छ ।
माथि उल्लेखित विविध जडिबुटीहरूको मानव जीवनमा विभिन्न खालको काममा प्रयोग गर्ने पुख्र्यौली अनुभव छ । यीमध्ये कति त गाउँघरका मानिसहरूले मौसमअनुसार सङ्कलन गर्ने चलन छ । त्यो कुरा थाहा पाएर ठेकेदारहरूले कौडीको मोलमा खरिद गर्दै भारत पु¥याउँछन् । अब स्थानीय सरकारले यी उल्लेखित सम्पूर्ण जडिबुटीहरू सङ्कलन गर्न लगाई जनजीवनलाई उत्पादक क्षेत्रमा लगाउनुपर्दछ । त्यसको लागि सर्वप्रथम त, जडिबुटी सङ्कलन केन्द्र स्थापना गरिनुपर्दछ । यसले रोजगारीका अवसरहरू सिर्जन हुनेछन् ।
यी यावत् क्षेत्रमा प्रगति, उन्नति र परिवर्तनको अनुभूत गराउन स्थानीय सरकारको तदारूकता अनिवार्य सर्त हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *